भारत भ्रमणमा प्रधानमन्त्रीले इपिजी प्रतिवेदन कार्यान्वयनमा जोड दिनुपर्छ : शंकर पोखरेल

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रवुद्ध व्यक्ति समूह (इपिजी) प्रतिवेदन ग्रहण गरी त्यसको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने बताएका छन् । 

पार्टीको केन्द्रीय सम्पर्क समन्वय कमिटीले मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको ‘प्रधानमन्त्रीको भारत भ्रमण र नेपालको राष्ट्रिय सरोकार’ विषयक छलफल कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । इपिजी प्रतिवेदन नेपाल–भारत सम्बन्धको नयाँ आधार–पत्र भएको उल्लेख गर्दै उनले सो प्रतिवेदनलाई बुझ्ने र कार्यान्वयनमा लैजाने कुरालाई प्रधानमन्त्री दाहालले भारतसँग विशेष जोड दिएर छलफल गर्नुपर्ने बताए । 

महासचिव पोखरेलले भारतले सो प्रतिवेदन नबुझेकै कारण दुई मुलुकबीचको समस्या कायमै रहेको तर्कसमेत गरे । भारतलाई नै सो प्रतिवेदन बुझ्न लगाउनु नेपालको राष्ट्रिय हितमा हुनेतर्फ पनि पाेखरेलले प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराए । 

सन् १९५० को असमान सन्धि पुनरावलोकन गर्नुपर्नेलगायतका विषयमा मनमोहन अधिकारी प्रधानमन्त्री भएको बेला कुरा उठाएकाे र वर्तमान एमाले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बखत संयुक्त कार्यदल बनाएकाे उनले स्मरण गराए । 

महासचिव पोखरेलले चुरे क्षेत्रबाट निर्माण सामग्री भारत निर्यात गर्ने काम नगर्न तथा भूकम्पपछि भारतसँग सम्झौता गरिएका पुनर्निर्माणका कामहरु सम्पन्न गराउने विषयमा पनि भारतसँग प्रधानमन्त्री दाहालले छलफल गर्नुपर्ने बताए । 

कार्यक्रममा बोल्दै सीमाविद् बुद्धिनारायण श्रेष्ठले प्रधानमन्त्री दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपालको भूमि डुबान हुने, ठूलो धनजनको क्षति हुने भएकाले सीमा क्षेत्रमा बाँध नबाध्नका लागि आग्रह गर्नुपर्ने सुझाब दिए । भारतले बाँध बाँधेकै कारण नेपालमा ठूलो जनधनको क्षति हुने, डुबान हुने भएकाले त्यसलाई रोक्नका लागि प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग अनौपचारिक भए पनि कुरा राख्नुपर्ने उनको भनाइ थियो । 



सिमाविद् श्रेष्ठले नेपालको सिमा समस्याका बारेमा भारतीय प्रधानमन्त्री मोदीसँग प्रधानमन्त्री दाहालले कुरा गर्छन भनेर आफूले विश्वास नगरेको पनि बताए । भारतको हेपाहा प्रवृत्ति अझै पनि पुरानै शैलीको रहेको र त्यसमा परिवर्तन ल्याउनका लागि नेपालले राष्ट्रिय सहमतिका साथ अघि बढनुपर्ने उनकाे भनाइ छ । 



  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार १९:४०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया