सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीमा क्षेत्रीय सहरी विकासमार्फत सडक निर्माण गर्न १२ जुलाइ २०२० मा एसियाली विकास बैंक (एडिबी)सँग सम्झौता भयो । एडिबीको ऋण सहयोगमा धनगढीको ४२ किलोमिटर सडकमध्ये जम्मा १० दशमलव ५ किलोमिटरमा मात्र कालोपत्र गर्ने सम्झौता भयो । बाँकी ३२ किलोमिटर सडक दोस्रो चरणमा कालोपत्रको ठेक्का हुने भनिएको थियो ।
एडिबीले दोस्रो चरणको सडक निर्माणका लागि बजेट नदिने भन्दै फिर्ता हुने निर्णय गर्यो । तत्कालीन अवस्थामा सडकको क्षेत्राधिकारी खाली गर्न ढिलाइ भएको भन्दै एडिबीले उक्त परियोजनाबाट हात झिकेको थियो । उपमहानगरमा नयाँ नेतृत्व आएसँगै सडक क्षेत्राधिकारभित्र पर्ने संरचनाको अवरोध हटाउने प्रतिबद्धता जनाएपछि थप ३२ किलोमिटर सडक निर्माण गर्न एडिबी सहमत भएको छ ।
अबको दुई वर्षमा दोस्रो प्याकेजमा धनगढीका विभिन्न १६ वटा सडक निर्माण हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ । यी सडकको लम्बाइ ३२ किलोमिटर रहेको छ । धनगढीका सडक निर्माण, डुबान समस्या हल र ढल निकासको समस्या समाधान गर्न एसिबी र विश्व बैंकको लगानी भित्रिएको भएको नगरप्रमुख गोपाल हमालले फरकधारलाई बताए ।
हालै काठमाडौंमा एडिबीसँग भएको छलफल धनगढीको विकासका लागि महत्वपूर्ण भएको नगरप्रमुख हमालको भनाइ छ । ‘एडिबीसँग भएको बैठकमा धनगढीको विस्तृत विकासका बारेमा छलफल भएको छ,’ उनले भने, ‘एडिबीसँग कैलाली नालामा करिडोर निर्माण गर्ने र डुबान समस्या समाधान गर्ने विषयमा पनि छलफल भएको छ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।