के तपाईं चुरोट, सुर्ती खैनीलगायत सुर्तीजन्य पदार्थको लत छुटाउन चाहानुहुन्छ ? यही हो भने त वीर अस्पतालले चुरोट, खैनीको लत छुटाउनका लागि उपचार सेवा सञ्चालन गरेको छ ।
अस्पतालले विश्वभर नै विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसर पारेर ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ उपचार पद्धति सुरु गरेको छ । अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले चुरोट, खैनी, सुर्तीको कुलतमा फसेका लागि छुटाउनका लागि ‘निकोटिन रिप्लेसमेन्ट थेरापी’ सुरु गरिएको जानकारी दिए ।
थेरापीमा चुरोट सुर्ती खैनीको लतमा फसेकालाई छुटाउनका लागि निकोटिन चुइगम दिइन्छ र सोही चुइगमको सहयोगले लत छुटाउने उनले बताए । थेपारीमा चुरोट, खैनी र सुर्तीको सट्टा मानिसलाई निकोटिन चुइगम दिइन्छ । 'मानिसले कति चुरोट सुर्ती सेवन गर्दछ । सोहीअनुसार मात्रामा निकोटिन चुइगम दिइन्छ,' उनले भने, 'चुइंगममा निकोटिन हुन्छ । मानिसलाई लत लगाउने काम निकोटिनले गर्दछ । सोही लत हटाउनका लागि मानिसलाई चुइंगम दिइन्छ ।'
उनले चुरोट सुर्ती र खैनीमा निकोटिनबाहेकका तत्व हुन्छन् र ती तत्वले क्यान्सर रोग गराउने भन्दै, तर निकोटिन मात्र भएको चुइंगमले शारीरिक मानसिक असर गर्ने भए पनि क्यान्सर रोग नगराउने बताए । मानिसमा इच्छाशक्ति भएपछि चिकित्सको परामर्शमा लत छुटाउने व्यक्तिलाई विस्तार निकोटिन चुइंगमको माध्यमबाट लत छुटाउन सकिने उनले बताए ।
'चुरोट, सुर्ती र खैनीको सट्टा चुइंगम खान दिइन्छ । चुइंगमले लत केही हदसम्म घटाउँछ । अनि विस्तारै ती मानिसलाई चुइंगमको कारणले चुरोट, सुर्ती र खैनी खाऊँ, खाऊँ भन्ने बानी हराउँदै जान्छ,' उनले भने, 'अनि विस्तार मानिसको लत हटाउन सकिन्छ ।' थेरापीमा दन्त विभाग, क्यान्सर विभाग र मेडिसिन विभागका चिकित्सकको समन्वयमा लत छुटाइने गरिन्छ ।
दन्त विभागमा सुर्ती खाएको थाहा हुने गर्दछ । क्यान्सर विभागमा बिरामीले चुरोट खाने गरेको थाहा हुन्छ । र मेडिसिन विभागमा चुरोटले गर्दा बिरामीलाई दम भएको हुन्छ । ती विभागले समन्वयमा अस्पतालले सुर्तीजन्य पदार्थको लत छुटाउन थालेको हो ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले अस्पताललाई सुर्तीजन्य पदार्थको लत हटाउनका लागि ४५ हजार निकोटिन चुइंगम उपलब्ध गराएको छ ।
निकोटिन चुइंगम चिकित्सकले दिइसकेपछि निश्चित अवधिपछि पुनः अस्पतालमा बोलाएर बिरामीको अवस्था हेरेर चुइंमग खान फेरि दिइने उनले बताए । अस्पतालमा सुर्तीजन्य पदार्थ कति खाइरहेको छ त्यसको आधारमा पनि लत छुटाउनका लागि परामर्श सेवा पनि उपलब्ध गराइएको अस्पतालका निर्देशक डा. पौडेलले जानकारी दिए ।
अस्पतालले क्यान्सर विभागमा परार्मशका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ । नेपालमा हरेक वर्ष २७ हजारभन्दा बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । सुर्तीजन्य पदार्थ सेवन गर्दा श्वासप्रश्वाससम्बन्धी समस्या, मुटु रोग, क्यान्सर रोग, दीर्घरोगलगायतका समस्या देखिने गर्दछ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् गरेको सर्वेक्षणमा नेपालमा २८ दशमलव ९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने पाइएको छ । तीमध्ये ४८ दशमलव ३ प्रतिशत पुरुष र ११ दशमलव ६ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थ प्रयोग गर्ने गर्दछन् ।
डब्लुएचओको सन् २०२२ को तथ्यांकअनुसार विश्वमा २२ दशमलव ३ प्रतिशत मानिस सुर्तीजन्य पदार्थ प्रयोग गर्दछन् । सुर्तीजन्य पदार्थको प्रयोग महिलाभन्दा पुरुषमा बढी हुने गरेको छ । महिलाको ७ दशमलव ८ प्रतिशत र पुरुषमा ३६ दशमलव ७ प्रतिशत रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।