logo-img

ए डिभिजन : पुलिस विजयी

विदेशी खेलाडी मोसेस ग्याबाले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा विभागीय टोली नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) माथि १–० को रोमाञ्चक जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार सम्पन्न खेलमा मोसेसले खेलको ७९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा पुलिसले एनआरटीमाथि रोमाञ्चक जित निकाल्न सफल भएको हो । 

निकै रोमाञ्चक बनेको खेलमा रवि पासवानले उपलब्ध गराएको पासलाई मोसेसले हेडरमार्फत जाली चुमाउन सफल भएका थिए । यसअघि दुवै टोलीले पहिलो हाफमा केही राम्रा अवसर सिर्जना गरे पनि सदुपयोग गर्न चुकेका थिए । २०औं मिनेटमा कृतिशरत्न छुन्जूको प्रहारलाई पुलिसका गोलकिपर शत्रुधन चौधरीले बचाए । ३०औं मिनेटमा निकोलस संगको प्रहार पोस्ट नजिकैबाट बाहिरिँदा एनआरटीले अग्रता लिने सुनौलो अवसर गुमायो ।

दोस्रो हाफमा फरक रणनीतिसहित आक्रामक खेल देखाएको पुलिसले अग्रता लिएसँगै एनआरटीलाई दबाबमा राख्दै खेलेको थियो । ७९औं मिनेटको अग्रता पछि १० मिनेट पछि सौजन राईको कर्नरमा अन्जन राईको हेडरबल बारमा लागेर बाहिरिँदा पुलिसको अग्रता अवसर खेर गएको थियो । 

इज्जुरी समयमा कप्तान विक्रम धिमालले दोहोरो पहेँलो कार्ड व्यहोर्दै मैदान छाडेपछि एनआरटी १० खेलाडीमा समेटिए पनि बाँकी समयमा थप गोल हुन सकेन र पुलिसले स्पष्ट तीन अंक तालिकामा जोड्न सफल भयो । यससँगै पुलिस लिगमा एनआरटीविरुद्ध अपराजित रह्यो । 



यी दुईबीचको पहिलो भेट १–१ को बराबरीमा सकिएको थियो । बिहीबारको जितसँगै पुलिसले २३ खेलमा ३४ अकं जोड्न सफल भएको छ ।  पुलिस चौथो स्थानमा कायमै छ । पराजय व्यहोरेको एनआरटी २३ खेलमा २९ अंकका साथ नवौं स्थानमा छ ।

लिगअन्तर्गत बिहीबार नै च्यासल मैदानमा सम्पन्न खेलमा  फ्रेण्ड्स क्लब र हिमालयन शेर्पा क्लबले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीले स्पष्ट अंकका लागि आक्रामक खेल खेल खेले पनि अवसरलाई सदुपयोग गर्न चुकेका थिए ।



यससँगै जारी लिगमा २३औं चरणका खेल सम्पन्न भएका छन् । २३औं चरणको खेल सम्पन्न हुँदा यसै सिजन बढुवा भएको चर्च ब्वाइजले ४१ अंक जोड्दै शीर्षता राखेको छ । साविक विजेता मच्छिन्द्र ३९ अंकका साथ तालिकाको दोस्रो स्थानमा अटाउँदा जावलाखेल ३७ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ । 

यस्तै, पुलिस चौथो स्थानमा अटाउँदा विभागीय टोली त्रिभुवन आर्मी पाँचाँै स्थानमा छ । यस्तै, खुमलटार र फ्रेण्ड्स रेलिगेसन क्षेत्रमा बच्नका लागि संघर्ष गरिरहेका छन् । 



  • प्रकाशित मिति : जेठ १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया