कर्णाली पुलमा टिकटक बनाउनेको भिडले दुर्घटनाको जोखिम [तस्बिरहरू]

कैलालीको लम्की नगरपालिकाको चिसापानीस्थित कर्णाली नदीको पुलमा टिकटक बनाउनेको भिडले दुर्घटनाको जोखिम बढाएको छ । पुलमा सेल्फी खिच्नेदेखि टिकटक बनाउनेको भिडका कारण दुर्घटनाका घटना बढ्न थालेका हुन् । चिसापानीको सीमानासँगै जोडिएको बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली पुलको अवलोकन गर्ने पर्यटकको संख्या बढ्नु सकारात्मक भएपनि बीच सडकमै टिकटक बनाउनेका कारण जोखिम बढाएको हो । 

पश्चिम नेपालमा चिसापानी पर्यटकको आकर्षक गन्तव्यको रूपमा परिचित छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक कर्णाली नदीको चिसो हावामा रमाउन पुग्दा स्थानीय बजारीकरणलाई फाइदा पुगेको भएपनि आवश्यक सतर्कता अपनाउन नसक्दा समस्या भएको हो । कर्णाली नदीको पुलमा जोखिमपूर्ण ढंगले टिकटक बनाई भाइरल बन्न चाहनेहरूको क्रियाकलापका कारण सवारी आवागमनमा नै समस्या पर्ने गरेको चालकहरू बताउँछन् । पर्यटक लिएर चिसापानी आएका चालक कृष बोहराले शनिबार पुलमा सवारी पास गर्न समेत समस्या हुने गरी टिकटक बनाउनेले भरिने बताए ।   

‘सवारी साधन साइडमा राखेर राजमार्गकोबीच सडकमा नै बसेर टिकटक र सेल्फी खिच्ने गर्छन् । शनिबार र बिदाको दिन त यहाँ धेरै भिडभाड हुन्छ । त्यस्तोमा त सवारीसाधन पास हुन समेत समस्या हुन्छ । यसले  दुर्घटनाको जोखिम बढाउँछ । यसलाई व्यवस्थित बनाउँदा सबैलाई फाइदा पुग्ने थियो,’ बोहराले भने ।

पछिल्लो समय कर्णाली नदी क्षेत्र र पुलमा चिसो हावा चल्ने भएकाले गर्मी छल्नका लागि पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या दिनहुँ बढ्न थालेको छ । २०५० सालमा जापानीज कम्पनीले निर्माण गरेको सो पुलको तत्कालीन प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाले उद्घाटन गरेका थिए ।  

पुलको बीचमा रहेको ठूलो खम्बामा स्टिलका तार बाँधेर अड्याइएको छ । तारलाई ट्रसमा आकर्षक ढंगले बाँधेर राखिएको छ । यो दृश्य हेर्नकै लागि पर्यटक पुलमा जाने गर्छन् । पुलको लम्बाइ ५०० मिटर र १० मिटर चौडाइ रहेको छ । पछिल्लो समय कर्णाली नदीमा र्‍याफ्टिङ गर्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या समेत बढ्दो छ । 

तस्बिरमा कर्णाली पुल :





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार १५:२७:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया