प्रहरी संगठन थप सफल बनाउन गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बेला आयो : उपप्रधानमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी संगठनलाई प्रभावकारी र सफल बनाउन अझै आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

इन्टरपोलको १००औँ वार्षिकोत्सवको अवसरमा सगरमाथाको सफल आरोहण गर्ने प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई आज प्रहरी प्रधान कार्यालयमा सम्मान गर्दै गृहमन्त्री श्रेष्ठले प्रहरी सङ्गठनलाई थप प्रभावकारी बनाउन आत्मसमीक्षा गर्नैपर्ने बताएका हुन् ।

‘प्रहरी सङ्गठनलाई अझै प्रभावकारी र सफल बनाउन अझै गम्भीररूपमा आत्मसमीक्षा गर्नैपर्ने बेला आएको छ,’ श्रेष्ठले भने, ‘देश र जनतालाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने छ । जनताले पहिलो सरकारसँग भेट्ने व्यक्ति वा पात्र प्रहरी नै हो । नेपाल प्रहरीले जनता र देशको सेवामा केन्द्रित गर्ने गरी काम गरे सरकारको सफलता देखिने छ ।’    

प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीले २ जेठमा सगरमाथाको सफल आरोहण गरेका थिए । इन्टरपोलको १०० औँ वार्षिकोत्सवको अवसर पारेर नेपालीले सगरमाथाको सफल आरोहण गरेका हुन् । हाल इन्टरपोलमा १ सय ९५ राष्ट्र सदस्य छन् । इन्टरपोलले सतवार्षिकीमा नेपालले भने सगरमाथाको आरोहण गरेर मनाउने निर्णय लिएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले आरोही नेपालीलाई बधाई पनि दिए ।

‘नेपाल प्रहरी र नेपाल सरकारलाई जुन गौरव गर्ने अवसर दिनुभएको छ त्यसको लागि पुरुषोत्तम नेपालीलाई बधाई तथा शुभकामना दिन चाहन्छु,’ गृहमन्त्री श्रेष्ठले भने, ‘नेपाल प्रहरीले हरेक क्षेत्रमा सफलता प्राप्त गर्दै गौरव गर्ने भूमिका निर्वाह गरेको छ ।’   





  • प्रकाशित मिति : जेठ १९, २०८० शुक्रबार २१:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया