रैथाने बाली चिनाउने मष्टाको अभियान

बझाङको मष्टा गाउँपालिकाले रैथाने बालीलाई चिनाउने अभियान सुरु गरेको छ । हराउँदै गएको रैथाने बालीलाई प्रोत्साहन गर्न गाउँपालिकाले प्रदेश सरकार लगायत विभिन्न संघ संस्थासँगसमेत हातेमालो गरिरहेको छ ।

गाउँपालिकाले प्रदेश सरकारसँगको साझेदारीमा रैथाने बालीको उत्पादन तथा बिक्री वितरण गरेर घरघरमा रोजगारी बढाउने लक्ष्य लिएको छ । पालिकामा नवप्रवर्तन साझेदारी कोष अन्तर्गत सञ्चालित परियोजनाबाट रैथाने अन्न बालीको उत्पादन, उपभोग र बजारीकरणको योजना कार्यान्वयन भइरहेको गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहराले बताए । 

‘गाउँपालिकाले रैथाने अन्न बालीको उत्पादन, उपभोग र बजारीकरण बढाउने नीति लिएको छ,’ उनले भने, ‘गाउँपालिकालाई रैथाने अन्न बालीको उत्पादन, उपभोग र बिक्री वितरणको केन्द्र बनाउन रैथाने बालीको उत्पादन बढाउने योजना बनाइएको छ ।’ गाउँपालिकाले  कोदो, फापर, जौ, जै, लट्टे अर्थात् बेथे, कागुनो, सिमी र चिनो जस्ता रैथाने बालीको उत्पादन र उपभोग बढाउने लक्ष्य लिएको छ । गाउँपलिकाले रैथाने बालीको प्रोत्साहनका लागि विद्यालयमा समेत यसैको दिवा खाजा कार्यक्रम अगाडि सारेको छ ।

जसका लागि प्रदेश सरकारसँग साझेदारी गर्दै नवप्रवर्तन साझेदारी कोष अन्तर्गत रैथाने बालीको उत्पादन, उपभोग र बजारीकरणको विकास गर्न परियोजना नै सञ्चालन गरिएको छ । मष्टा गाउँपालिकामा रैथाने बालीको खेती विस्तार गर्दै उत्पादन र उपभोग बढाउन यो वर्ष नवप्रवर्तन साझेदारी कोषको १ करोड ५० लाख र गाउँपालिकाको ५० लाखसहित २ करोड लागतमा कृषि यान्त्रिकीकरण, उत्पादनमा जोड र क्षेत्र विस्तारका कार्यक्रम गरिने गाउँपालिकाका कृषि अधिकृत प्रभाकर जोशीले बताए ।

‘रैथाने बालीको उत्पादन बढाउन यो वर्ष यान्त्रीकरणमा सहयोग गर्दै क्षेत्र विस्तार गर्ने योजना छ,’ उनले भने, ‘किसानहरूलाई प्राविधिक ज्ञान र कृषि पूर्वाधारमा सहयोग गरेर रैथाने उत्पादनबाट आर्थिक लाभ लिन सक्ने बनाउने पालिकाको योजना छ ।’ मष्टा गाउँपालिकाको दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिको कार्यपालिका बैठकको  पहिलो निर्णय रैथाने उत्पादनको उपभोग प्रवर्द्धन गर्ने थियो ।

जसअनुसार पालिकामा रैथाने अन्नबाट बनेका खाजा र खानाका परिकार उपभोग गर्ने नीति लिइएको छ । रैथाने बालीप्रतिको आम बुझाइमा परिवर्तन ल्याएर स्वस्थ जीविकोपार्जन र आर्थिक स्रोतको मुख्य आधार रैथाने बालीको उत्पादन बढाएर प्राप्त हुने कुरा किसानहरूलाई बुझाउन सफल भएको गाउँपालिकाका अध्यक्ष बोहराको दाबी छ । 



‘गाउँमा रैथाने उत्पादनको महत्त्व किसानहरूले बुझ्न थालेका छन् । स्वस्थ जीवनका लागि रैथाने अन्न उपभोग गर्नुपर्ने कुरा बिस्तारै सबैले बुझ्न थालेका छन्,’ उनले भने, ‘हामीले रैथाने बालीको उत्पादन बढाएर बाहिरबाट आउने खाद्यान्न रोक्ने योजना बनाएका छौँ । जसका लागि आगामी वर्षको बजेटमा पनि रैथाने अन्न बालीको क्षेत्र र उत्पादन बढाउने कार्यक्रम समावेश गरिनेछन् ।’ मष्टा गाउँपालिकामा यो वर्ष २ सय हेक्टर क्षेत्रमा कोदो खेती गरिएको थियो । पालिकामा ५० हेक्टर क्षेत्रमा सिमी खेती गरिएको पालिकाले जनाएको छ । 

अन्य रैथाने बालीको क्षेत्र विस्तार गरी उत्पादन बढाएर बजारीकरणमा किसानलाई सहयोग गर्ने नीति गाउँपालिकाको छ । रैथाने अन्नको उत्पादनमा जोड दिने र बाहिरबाट आउने खाद्यान्नको प्रतिस्थापनसँगै  उत्पादन भएको रैथाने अन्न पालिकाले उचित मूल्यमा किसानबाट सोझै खरिद गर्ने नीति बनाएको छ ।



रैथाने अन्न उत्पादन, उपभोग र बिक्री वितरण सँगसँगै लैजान सके उपभोक्ताले स्वस्थ अन्न उपभोग गर्न पाउने र किसानलाई आर्थिक रूपमा फाइदा हुने भएकाले उत्पादन, उपभोग र बजारीकरण सँगसँगै गर्नुपर्ने सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीले बताए । उनले युवा जनशक्तिलाई रैथाने अन्नको खेतीमा आकर्षण गराउन सके प्रतिफल पनि प्राप्त हुने र कम लागतमा नाफा आर्जन हुने बताए । ‘रैथाने बालीको खेती गर्न युवा जनशक्तिको आकर्षण बढाउनु पर्छ,’ उनले भने, ‘युवाको आकर्षण बढाउन सके उत्पादन पनि बढ्छ । प्रदेश सरकारले पनि रैथाने अन्न उत्पादन बढाउन कार्यसम्पादनमा आधारित सहयोग गर्नेछ ।’ 

रैथाने बालीलाई चिनाउन धनगढीमा गरिएको कार्यक्रममा प्रदर्शनमा राखिएका रैथाने खाद्यान्न बाली । तस्बिर : कैलाश जोशी 

गाउँपालिकाले धनगढीमा गरेको कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले रैथाने बालीको संरक्षण, उत्पादन र बजारीकरणमा प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले कुन जिल्लाको कुन स्थानीय तहमा के को सम्भावना छ त्यसको पहिचान गरेर काम गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मन्त्री सिंहले रैथाने बालीको संरक्षण र विस्तारका  लागि आवश्यक नीति बनाउन पहल गर्ने बताए ।

मष्टा गाउँपालिकाले रैथाने अन्नको क्षेत्र विस्तार गरेर उत्पादन बढाउने नीति लिएको छ । सिँचाइ, उपकरण र खेतीपातीका लागि किसानलाई  प्राविधिक सहयोग गर्दै रैथाने अन्न उत्पादनलाई पालिकाको पहिचान बनाउने योजना वर्तमान जनप्रतिनिधिको टिमले लिएको छ । मष्टा गाउँपालिकले उत्पादन कृषि उपजको बजारीकरणका लागि पालिकामा पाँच सङ्कलन केन्द्र, एक बिउ बैंक र एक कोसेली घर सञ्चालनमा ल्याउने तयारी छ । 

समुन्द्री सतहको १ हजार दुई सय मिटर देखि २ दुई हजार ५ सय मिटर सम्मको उचाइमा बझाङ जिल्लाको पूर्वी भागमा अवस्थित मष्टा गाउँपालिका सुगमताका हिसाबले तुलनात्मकरूपमा अन्य गाउँपालिकाहरू भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । बझाङ जिल्लाकै धरातलीय विशेषता झल्काउने यस गाउँपालिका साबिकका कोटदेवल, भातेखोला, रिलु र मष्टा गाविस मिलेर बनेको हो ।

  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार ११:५५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया