सपना र अठोटले जन्मिएको ‘मौलिक भान्छाघर’ : जहाँ पाइन्छ अर्गानिक स्वादमा मौलिक परिकार

तपाईं काठमाडौं उपत्यकामा हुनुहुन्छ र लामो समयदेखि गाउँघरका परिकार खान मन लागिरहेको छ, तर पाउनुुभएको छैन भने अब यो कुराको चिन्तै लिनुपर्दैन। काठमाडौंकै चक्रपथबाट तीनकिलोमिटरको दूरीमा रहेको मौलिक भान्छाघरले तपाईंको रहर पूरा गर्नेछ। 

सुकेधाराबाट तीन किलोमिटर उत्तर लागेपछि कपन गुम्बाको फेदीमा पुगिन्छ । सोही स्थनमा छ, मौलिक भान्छाघर । जहाँ तपाईंले सातै प्रदेशका रैथाने परिकारको स्वाद चाख्न पाउनुहुनेछ। ‘बसे पनि सहर, गाउँकै खाने रहर’, ‘स्वादका लागि होइन, स्वास्थ्यका लागि खाऔँ’ भन्ने स्लोगासहितसुमन दाहालले मौलिक भान्छा घर सञ्चालनमा ल्याएका  छन्। 

आफू जन्मिएको भूगोल छाडेर सहरको सकसमा बाँचिरहेका हामी जो–कोहीले थकान र पीडामा गाउँलाई सम्झन्छौँ। त्यो स्वाभाविक पनि हो। त्यसैले त सुमनले मनभरि गाउँ सम्झिएर सहरको व्यस्ततामा अल्झिरहेकाहरूलाई मध्यनजर गर्दै खेतबारीमा डुल्ने र गाउँकै खान्कीमा रमाउने वातावरण सिर्जना गरेका छन्। मौलिक भान्छाघर पुगेर स्वदेशी र रैथाने खानाको परिकारको स्वाद चाख्न र प्याकिङ गरेर परिवार र आफन्तलाई चखाउन पनि सकिन्छ। यहाँ प्रत्येक दिन छुट्टाछुट्टै प्रदेशको छुट्टाछुट्टै परिकार पाक्छ। 

आइतबार विशेष मौलिक भान्छाघरमा कोसी प्रदेशका राई, लिम्बू जातिका मौलिक खाना किनेमा र झ्याउको स्वाद लिन सकिन्छ। 
मधेस प्रदेश विशेषमा सोमबार भक्का र बगिया तयार हुन्छ। भक्का थारू जातिको विशेष परिकार हो। यो चामलको पिठोबाट बनाइन्छ। 

यस्तै, मंगलबार बागमती प्रदेश विशेषमा नेवारी जातिको विशेष परिकार योमरी खाजा सेट छ। यसमा चाकु नरिवल, किसमिस मिसाएको अथवा खुवा राखेर योमरी बनाइन्छ। खाजा सेटमा मासको बारा, भुजिया, गुन्द्रुक साँधेर, चटनी, आलु फ्राइसँगै इच्छाअनुसार बफ, चिकेन राखेर खाजा सेट तयार पारिन्छ। 



बुधबार गण्डकी प्रदेश विशेषमा पोखरेली चामलको खीर र सेलरोटी छ। विशेषगरी हरितालिका तीज र साउन पन्ध्रमा खाइने खीर यहाँ गएर चाख्न सकिन्छ। 

बिहीबार लुम्बिनी प्रदेश विशेषमा खिचडी र ढिक्रीको स्वाद लिन सकिन्छ। दाल, चामल, घिउ र मरमसला मिसाएर बनाएको परिकार हो, खिचडी। यस्तै, ढिक्री चामलबाटै बन्ने परिकार हो। 



कर्णाली प्रदेश विशेषमा छ, मार्सीको कसार। मार्सी रातो चामल हो। मार्सी चामलसँग तपाईंले मौलिक फार्ममा उत्पादन भएका मासुका विभिन्न परिकार खान सक्नुहुन्छ।

यस्तै, शनिबार बाबर अथवा माडा नामक सुदूरपश्चिम विशेष परिकार चखाइन्छ। चामलको पिठोबाट बनाइएको बाबर घिउमा पकाइन्छ। सामान्य बाबर एक तहमा बनेको हुन्छ भने यो बाबरमा ३ देखि ५ तहसम्म हुन्छ। यो बाबरलाई नै सुदूरपश्चिममा माडा भनिन्छ। यसरी प्रत्येक दिन फरक–फरक स्वाद तपाईंले चाख्न सक्नुहुनेछ। 

तर, आफ्नो मौलिक स्वाद चाख्न त्यही दिन जानुपर्छ भन्ने होइन। तपाईं जुनसुकै दिन गएर अर्ड् गर्नुभयो भने पनि जुनसुकै परिकारको स्वाद चाख्न सक्नुहुनेछ। ‘ग्राहकको सजिलोका लागि बारअनुसार परिकार तयार गरेका छौँ। तर, जुन दिन पनि रोजेको परिकार खान पाइन्छ,’ सुमन प्रस्ट्याउँछन्। 

उनका अनुसार मौलिक भान्छाघरमा प्रदेशअनुसारको विशेष खाना मात्रै होइन, त्यहाँका सांस्कृतिक प्रस्तुतिमा झुम्ने मौका पनि मिल्छ। भान्छाघरमा विभिन्न समुदायका परम्परागत पहिरनमा नाच हुन्छ। 

सहरवासीलाई विभिन्न रैथाने परम्परासँग परिचित गराउन यस्तो अभ्यास थालिएको हो।  ‘हप्तामा सात दिन सात बार। सात प्रदेश सात विशेष परिकार। सात पन्छी सात स्वाद। सात संस्कृति सात पहिरन। सातै दिन सांस्कृतिक साँझ’ भन्ने स्लोगान नै बनाएका छन्, उनले। यो उनको ग्राहकको मन तान्ने जुक्ति हो।

कसरी जन्मियो मौलिक भान्छाघर?

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा जन्मिएका सुमन सानैदेखि पढ्नमा अब्बल थिए। उनले आइएस्सी पढे। डाक्टर (एमबिबिएस) पढ्न विदेश जाने तयारीमा थिए। तर, एक्कासि उनको मन परिवर्तन भयो। 

आजभन्दा करिब १६–१७ वर्षअघिको कुरा हो। सुमनले एउटा तालिममा भाग लिने अवसर पाए। तालिमका एक प्रशिक्षकले प्रश्नात्मक शैलीमा भने– तपाईं किन जन्मेको? जागिर गर्न कि रोजगारी सिर्जना गर्न?

‘एक्कासि मेरो योजना परिवर्तन भयो,’ विगतका दिन उनी सम्झन्छन्, ‘डाक्टर बन्ने कि डाक्टरलाई पनि प्लेटर्फम दिने भन्ने प्रश्न खडा भयो । र म डाक्टर बन्ने भन्दा पनि धेरैलाई उद्यमशीलता र रोजगारमा जोड्छु भन्नेतिर लागेँ।’ त्यसपछि केमा लगानी गर्दा राम्रो प्रतिफल पाइन्छ भनेर अध्ययन गर्न थालेँ। आफूले आयुर्वेद पढेको हुनाले सोही क्षेत्रमा काम गर्ने योजना बुनेँ।

‘हामीसँग अथाह जडीबुटी छन्। तर, सडे–गलेर गइरहेका छन्, बजार छैन। बजार पाइहाले पनि कौडीको भाउमा विदेश बिक्री गर्ने र फेरि त्यही फाइनल प्रडक्ट बनेर नेपाल भित्रिँदा डलरमा खरिद गर्न बाध्य छौँ। यो जडीबुटीको सदुपयोग गर्न म किन सक्दिनँ भनेर त्यतातिर लागे,’ उनी भन्छन्।

त्यसपछि उनले हर्बल कस्मेटिक बनाउने विचार गरे। आयुर्वेदका वरिष्ठ चिकित्सकहरू भेटेर छलफल गरे। उनी ०६७ सालतिर प्राकृतिक जडीबुटीतर्फ लागे। अनेक ठाउँमा पुगेर जडीबुटी संकलन गरे र स्याम्पु, ओडो केयर (डियोडोरेन्ट स्प्रे), फेसप्याक, ग्लिसरिन, गुलाब जल, क्रिम र ग्रिन टी गरी हर्बल र कस्मेटिकका सातवटा उत्पादन तयार गरे। ती उत्पादन घरघर पुर्याएर बेचे। बिक्रीका लागि काठमाडौं उपत्यकाबाहिर पनि पुगे। त्यसपछि उनले हर्बल कस्मेटिकसँगैर ‘फेमिलियर प्रोडक्सन हाउस’ मार्फत लसुन–अदुवाको पेस्ट बनाएर बेच्न थाले। फेमिलियर ब्रान्डको लसुन–अदुवा पेस्टले राम्रो बजार पायो।

सामान ७७ जिल्लामा पुग्न थाल्यो। आफूले उत्पादन गरेको सामान त्यही म्याक्यानिजममा ७७ जिल्ला पुग्छ भने त्यहाँ उत्पादन भएको सामान किन यहाँ नल्याउने भनेर मौलिक बजारको कन्सेप्ट विकास भयो। र स्थानीय खरिद बिक्री केन्द्र खोलिनुपर्छ भनेर उनले ‘मौलिक बजार’ र ‘मौलिक भान्साघर’ सञ्चालनमा ल्याए। 

पाँच वर्षअघिदेखि मौलिक भान्छाघर सञ्चालनमा आए पनि मौलिक थिमअनुसार भने अघिल्लो वर्ष माघ १ गते सात प्रदेशको सात संस्कृति र सोही संस्कृतिका मान्छेलाई झिकाएर आफ्नो प्रदेशको विशेष परिकार बनाउन लगाई स्टल राखेर सुरू गरिएको भान्छा घरका सञ्चालक दाहाल बताउँछन्।

मौलिक भान्छाघरले गत माघ १ गते माघी तथा मौलिक उत्पादन र परिकार मेला सात दिनसम्म सञ्चालन गरेको थियो। सो मेलामा भान्छाघरले माघ महिनामा खाइने १० परिकार र सात प्रदेशका सात परिकारका स्टल राखी सहभागीलाई भिजिटको लागि आह्वान गरेको थियो। उक्त स्टलमा सात सयभन्दा बढी मानिसको सहभागिता थियो। सहभागीहरूले एकदमै राम्रो प्रतिक्रिया दिए। 


‘हाम्रो कन्सेप्ट मौलिक खानेकुरा एउटा बिजनेस बन्न सक्छ कि सक्दैन, यो आम दुनियाँको रोजाइको रेष्टुरेन्ट बन्न सक्छ कि सक्दैन भन्ने अभ्यासका लागि हो,’ सञ्चालक सुमन भन्छन्, ‘छोटो समयमा धेरै गाहकहरू परिवारजस्तै बन्नुभएको छ, सबैको राम्रो रेस्पोन्स आइरहेकाले मौलिक भान्छाघरलाई विस्तार गर्ने योजना अगाडि बढाउन थप उत्साह थपिरहेको छ।’

सुमनका अनुसार यो व्यवसाय मात्रै होइन, मौलिकता जोगाउने अभियान पनि हो । त्यसैले त उनले मौलिक भान्छाघरसँगै मौलिक बजार पनि सँगै अघि बढाएका छन्। भान्साघर र बजार एकसाथ सुरू भएका हुन्। उनका अनुसार स्थानीय उत्पादन प्रवद्र्धन गर्नु मौलिक बजारको मुख्य उद्देश्य हो। मौलिक बजारमा ७५३ वटा स्थानीय तहको नामसहित अलग–अलग खण्ड छन्। 

यहाँ पुग्नेहरूले उक्त उत्पादन खरिद र बिक्री गर्न सक्छन् । तर, त्यसका लागि अहिले धमाधम काम भइरहेको छ। केही स्थानीय तहका उत्पादन आइसकेका छन्, केहीका आउन बाँकी छन्। 

 

‘कतिपय स्थानीय तहले त आफ्नो पालिकाको रैथाने र विशेष उत्पादन के हो भन्ने पहिचानै गर्न सकेका छैनन्,’ उनी भन्छन्, ‘गरिसकेकामध्ये धेरै यो अभियानमा जोडिन तयार भएका छन् । विशेष उत्पादनलाई ब्रान्डिङ र बजार व्यवस्थापनका लागि हामी सबै स्थानीय तहसँग सहकार्य गर्दै छौँ।’

यसरी मौलिक बजारले गाउँमा भएको उत्पादनलाई सहरसम्म ल्याइदिने र बजार पनि खोजिदिने काम गरिरहेको छ। 

‘सहरमा गाउँको उत्पादन खाने र खोज्नेहरू बढी छन् । गाउँमा भएको उत्पादन त्यसै खेर जाने गरेको छ । सहर र गाउँ दुवैको आवश्यकता हेरेर मौलिक बजारको अवधारणा आएको हो,’ सुमन थप्छन्। अब उत्पादनको ब्रान्डिङ गर्न र बिक्री बढाउन काठमाडौं उपत्यकाका अन्य ठाउँमा पनि शाखा पुर्याउने सुमनको योजना छ।
पाँच वर्षअघि केही लाखबाट सुरु भएको अभियानमा अहिलेसम्म १० करोडभन्दा बढी लगानी भइसकेको छ । व्यावसायिकता हेर्ने हो भने लगानीले दिने प्रतिफल नगन्य छ । तर, खुसीको हिसाब पैसामा गन्न मिल्दैन । माटोमा मिहिनेत गरेरै देशलाई समृद्ध बनाउन सकिन्छ भन्ने सुमनको अठोट छ। 

सुमनलाई पढाइसँग सम्बन्धित थुप्रै जागिरका अवसर नआएका होइनन्, विदेश जान र टन्नै पैसा कमाउन पनि सल्लाह नआएको होइन । तर त्योभन्दा ठूलो रहर बन्यो– ‘स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने, रैथाने उत्पादनलाई माया गर्ने’ 

त्यसैले त मौलिक भान्साघर पुग्दा सात रोपनी जग्गा हरियाली छन्। भान्छाघर र बजारबाहेकका बाँकी रहेको पाँच रोपनी जग्गामा दूधालु गाई, कुखुरा, टर्कीदेखि काँक्रो, फर्सी, लौका, करेलासम्म लहरिइरहेका छन्। अझ त्यति मात्र होइन, आँप, नासपाती, लिची र अंगुरसम्म झुलिरहेको देख्न सक्छौँ ।  

यो सुमनको सपना र मिहिनेतले अर्जिएको हो। पहिला–पहिला उनी बिहान ५ बजे उठेर योगा गर्थे। तर, पछिल्लो समय उनको दैनिकी फेरिएको छ। 

उनी बिहान पाँच बजे उठेर खेतबारीमा पुग्छन्। उनी मात्र होइन। यहाँ काम गर्नेहरू पनि बिहान ५ बजे उठेर काम सुरु गर्छन्। उनी भन्छन्,‘गाउँमा हामी जसरी ममी बुबासँगै उठेर गाई गोठ, सरसफाइमा लाग्थ्यौँ। यहाँ पनि त्यसरी नै आ–आफ्नो काममा लाग्नुहुन्छ। त्यसपछि खाना खाने समय हुन्छ। खाना खाएदेखि खाजा खाने बेलासम्म फेरि विभिन्न काम गरिन्छ । र, खाजा खाइसकेपछि फेरि काम गरिन्छ।’ 

यसरी गाउँमा जसरी काम हुन्थ्यो, यहाँ पनि त्यही देख्न पाइन्छ। मौलिक भान्साघरले पाहुनाहरू राति बस्ने प्रबन्ध पनि गरिरहेको छ। तत्कालका लागि टेन्ट हालेर बासको व्यवस्था गरेको छ भने अब चाँडै बाँसले बनेका कटेजमा बस्न पाइनेछ। अहिले ५० जनाले रोजगारी पाएका छन्। 

यसरी एकका पछाडि अर्को नयाँ योजना थपिरहँदा चुनौती नआएका भने होइन। तर, उनी चुनौतीदेखि भाग्नेभन्दा पनि डटेर अघि बढ्ने स्वभावका मानिस हुन्। ‘चुनौती नै नभएको भने होइन,’ उनी प्रस्ट्याउँछन्, ‘चुनौती जति छ त्यो भन्दा बढी अवसर छ। जसले भिजन देखेको छ, जोसँग योजना  र जो दृढ संकल्पसहित अघि बढ्छ। ऊ जहिल्यै सफल बन्छ। यो क्षेत्र भनेको विकल्परहित संकल्पसहित अघि बढ्ने हो।’

  • प्रकाशित मिति : जेठ २०, २०८० शनिबार १८:१२:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया