\
राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सबै क्षेत्र क्रियाशील हुन अपिल गरेका छन् । आइतबार जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना दिँदै राष्ट्रपति पौडेलले जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि क्रियाशील रहन सबैमा अपिल गरेका हुन् ।
‘जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो । यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो । हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन म स्थानीय तह‚ प्रदेश तथा संघीय सरकार‚ सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज‚ सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा हार्दिक आव्हान गर्दछु,’ राष्ट्रपति पौडेलले सन्देशमा उल्लेख गरेका छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसले सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना वृद्धि गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउनेमा उनी आशावादी छन् । साथै, आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका उत्पीडनको क्रमशः अन्त्य हुँदै जाने आधारहरू निर्माण गर्ने पनि राष्ट्रपति पौडेलको विश्वास छ ।
उनले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि भई सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना पनि दिएका छन् ।
सरकारले २०६३ सालमा मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको अवसरमा हरेक वर्ष २१ जेठमा जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाइँदै आइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।