logo-img

असारसम्ममा पाठेघर क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप भित्र्याउँदै सरकार

सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सरकारले आर्थिक वर्ष ०७६/०७७ देखि हरेक वर्षको नीति तथा कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप एचपिभी कार्यक्रम सञ्चालन गर्ने भने पनि लागू भने गर्न सकेको थिएन । 

आर्थिक वर्ष २०८०/०८१ देखि भने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप कार्यक्रमलाई सरकारले निरन्तरता दिन लागेको हो । विश्वमा सन् २००६ देखि एचपिभी खोप लगाउन सुरु गरिए पनि नेपालमा भने केही गैरसरकारी संस्थाबाट एकाध स्थानमा मात्रै लगाइएको छ । 



परिवार कल्याण महाशाखाका अनुसार सरकारले सन् ०१६/०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका बालिकामा पाठेघरको क्यान्सरविरुद्धको एचपिभी खोप परीक्षण गरेको थियो । तर, विभिन्न कारणले सरकारले यसलाई निरन्तरता दिन सकेको थिएन । 

असारमा आउँदै एचपिभी खोप 

असारसम्ममा ‘एचपिभी’ खोप नेपाल आइपुग्ने परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउँछन् । नेपालले खरिद गरेको एचपिभी खोप देशभरका सुरुमा जिल्लाहरू छनोटका आधारमा किशोरीहरूलाई दिइनेछ । 

‘खोप आगामी असारमा आउँछ होला । कुन–कुन जिल्लामा एचपिभी खोप लगाउने भनेर स्वास्थ्य मन्त्रालयलाई फाइल पठाएका छौँ । खोप आएपछि सोहीअनुसार खोप दिइनेछ,’ डा. गौतमले भने ।



स्वास्थ्य सेवा विभाग, आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले २० हजार भाइल खोप आउँदो असार महिनामा आइपुग्ने बताए । यसका साथै क्रमशः आउँदा वर्षमा एचपिभी खोप खरिद प्रक्रियालाई बढाइने सरकारको योजना रहेको उनको भनाइ छ । 

विभागका अनुसार खोप खरिद प्रक्रियालाई अगाडि बढाइएको छ । एकैसाथ देशभर खोप कार्यक्रम सञ्चालन गर्ने क्षमता नभएकाले हाल कुनै क्षेत्रलाई प्राथमिकतामा राखेर खोप लगाइने विभागले जनाएको छ । 



‘एचपिभी’ खोप किन र के लागि ?

विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर ‘एचपिभी’ भाइरसले हुने गरेको छ । एचपिभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ । विभिन्न अध्ययनले यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएका छन् ।

‘एचपिभी’ खोपले पाठेघरको मुखमा क्यान्सर हुनबाट जोगाउँछ । खोप लगाएपछि तीनचौथाई भागलाई पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउन सकिने भक्तपुर क्यान्सर अस्पतालकी स्त्रीरोग विशेषज्ञ डा. उषा बादे श्रेष्ठ बताउँछिन् ।

यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनांग, टाउको र घाँटीमा पनि संक्रमण गराउन सक्छ । एचपिभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिन पनि सक्ने हुनाले खोप र नियमित स्क्रिनिङ गराउनुपर्ने चिकित्सकहरुको सुझाब छ । उनले भनिन्, ‘विकसित राष्ट्रमा धेरै पहिलेदेखि ‘एचपिभी’ खोप कार्यक्रम राष्ट्रियकरण भइसकेको छ । नेपालले पनि यस कार्यक्रमलाई लागू गर्ने निर्णय लिएको छ । यस कार्यक्रमले निरन्तरता पायो भने पाठेघरको मुखको क्यान्सरको जोखिमलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।’

नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रूपमा छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा ६ लाख ४ हजारवटा नयाँ केस पुष्टि भएका थिए । जसमध्ये तीन लाख ४२ हजार जनाले ज्यान गुमाएका छन् । एचपिभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ ।

डा. श्रेष्ठका नौदेखि १४ वर्ष उमेर समूहका बालबालिकालाई एचपिभीको खोप लगाइन्छ । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्छन् । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्छ । 

यसैगरी १५ वर्षमाथिकालाई तीन डोज दिनुपर्छ । जुन पहिलो डोज लगाएको दुई महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्छ । 'यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ,'डा. श्रेष्ठले भनिन्, ‘यसका लागि नियमित स्क्रिनिङ आवश्यक छ ।’
 
विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित १२५ राष्ट्रले एचपिभी खोप हालसम्म भित्र्याइसकेका छन् । संगठनले सन् २०३० सम्ममा पाठेघरको क्यान्सरलाई निवारण गर्ने लक्ष्य राखेको छ ।

  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया