अलपत्र बन्यो गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय
पहिले विश्वविद्यालय बनाउने भनियो तर अहिले आयो प्रतिष्ठानको कुरा

संघीय मन्त्रिपरिषदले २९ माघ २०७९ मा कैलालीको गोदावरी नगरपालिका गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गर्यो । त्यसपछि सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत स्वास्थ्य विश्वविद्यालय सञ्चालन गर्ने कुरा बाहिर आयो । तर, अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्षको बजेटमा गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने विषय समावेश गरिएको उल्लेख गरे । 

नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा फरक–फरक कुरा आएपछि सुदूरपश्चिममावासी आन्दोलित छन् । गेटामा एकसय शैय्याको अस्पतालको रूपमा विकास गर्न पूर्वाधार निर्माण, उपकरण खरिद र जनशक्ति व्यवस्थापनका लागि बजेटको व्यवस्था गरिने भनिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि गत १ फागुनमा भएको सुदूरपश्चिम भ्रमणमा गेटामा विश्वविद्यालय हुने बताएका थिए । तर, बजेटमा भने प्रतिष्ठान सञ्चालन गर्ने कुराले फेरी यस क्षेत्रका जनतालाई रनभुल्लमा पार्ने प्रयास भएको छ । सरकारको भनाई र गराईमा फरक देखिएपछि स्थानीय आक्रोसित छन् । स्थानीयले बजेट प्रस्तुत भएको तेस्रो दिनबाट चक्काजामदेखि विभिन्न ठाउँमा धर्ना बस्ने र ज्ञापनपत्र बुझाउने कार्य गरिरहेका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडि निधार र हातमा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । प्रदेशसभा बैठकमा समेत संघीय सरकारको निर्णयप्रति विरोध भइरहेको छ ।

शनिबारको प्रदेशसभा बैठकमा सत्तारूढ दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य प्रकाशबहादुर बमले विश्वविद्यालय घोषणा गरिएको गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान चलाउने कुरा आउनु आपत्तिजनक रहेको बताए । उनले यही सरकारले गेटा मेडिकल कलेजलाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको स्मरण गराउँदै  बजेट भाषणमा सार्वजनिक गरिएको निर्णय सच्याउन आग्रह गरे । 

त्यस्तै सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य शिवसिंह ओलीले गेटामा विश्वविद्यालय बनाउने प्रक्रियासमेत अगाडि बढिसकेको बेलामा स्वास्थ्य र शैक्षिक क्षेत्रका माफियाहरूको चलखेलमा प्रतिष्ठान सञ्चालनको कुरो आउनु आपत्तिजनक भएको जिकिर गरे । 



प्रमुख प्रतिक्षी दल नेकपा (एमाले) का प्रदेश सभा सदस्य धर्मराज पाठकले स्वास्थ्य क्षेत्रमा कायापलट हुने सुदूरपश्चिम प्रदेशवासी जनताको आशामाथि तुषारापात गर्ने कार्य संघीय सरकारको बजेटले गरेको बताए । गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि अर्बौं लगानीमा बनेको संरचनासमेत अलपत्र पार्न खोजिएको गुनासो उनले गरे । 

गेटामा स्वास्थ्य विश्वविद्यालय हुनेपर्ने वकालत गर्दै यस क्षेत्रमा आन्दोलनको संयोजन गरिरहेका लोकराज पाण्डे ‘आगो’ ले सरकारले सुदूरपश्चिममा पटक–पटक गरेको अन्यायका विरुद्धमा आफूहरू अब सडकमै आएको बताए । उनले गेटामा जुनसुकै हालतमा पनि अब मेडिकल विश्वविद्यालय संचालन गरिनुपर्ने बताए ।



आगोले गेटामा २०५६ सालबाट मेडिकल कलेजको विषय सुरु भएको बताए । उनले भने, ‘मोडालिटीको बारेमा विवाद छैन । मोटालिटिसहितको विश्व विद्यालय चाहिएको हो । तर, बजेटमा प्रतिष्ठान राखिएको छ । ६ सय शैयाको अस्पताल एक सय शैयामा झारिएको छ । हामी बिरोधमा छौँ ।’ शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सह संयोजक आनन्द भट्टले राज्यले सुदूरपश्चिमलाई सौतेलो व्यवहार गरेर पटक पटक धोका दिने काम गरेको बताए । उनले गेटामा विश्वविद्यालय बनाउने भनेर निर्णय गरिसक्दा पनि बजेटमा कसको इसारामा १ सय शय्याको मेडिकल चलाउने निर्णय गरियो भनेर प्रश्न गरे ।

उनले राज्यबाट हुने यस किसिमको धोकन अब सहेर नबस्ने बताए । ‘सुदूरपश्चिमलेली राज्यलाई आवश्यक परेका बेला रगत दिन तयार छन । तर, यस क्षेत्रका जनताले सरकारबाट धोका मात्रै पाएका छन । अब हामी चुप लागेर बस्नेवाला छैनौ’ उनले भने ‘मेडिकल माफियाका कुरा सुनेर सुदूरपश्चिमका जनताका सपनामाथि तुषाराघात गर्न पाइँदैन ।’

कहिले विश्वविद्यालय कहिले प्रतिष्ठान बनाउने भनेर सरकारले नै बोली फेरिरहँदा यस क्षेत्रका जनताका बीचमा पनि दरार उत्पन्न गर्ने प्रयास हुन थालेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गेटामा अस्पताल र स्वास्थ्य शिक्षा अध्यापनका लागि संरचनाहरू निर्माण गर्दैछ । गेटामा शिक्षा मन्त्रालयले झण्डै ६ अर्ब बजेट खर्च गरिसकेको छ । ५१ वटा भौतिक संरचना संघीय शिक्षा मन्त्रालयले निर्माण गर्दैछ । ३० वटा भौतिक संरचनाको काम पूरा भएको छ । अबको एक महिनाभित्र ३९ वटा संरचनाको काम सकिनेछ । थप १२ वटा संरचनाको काम आगामी चैतसम्म पूरा हुनेछ । तर, संघीय सरकारको बजेट भाषणमा पूर्वाधार विकास समिति खारिज गर्ने उल्लेख भएपछि प्रदेशवासी थप सशकिंत भएका हुन् । 

विश्वविद्यालय शिक्षा मन्त्रालय मातहत सञ्चालन हुने छ भने प्रतिष्ठान स्वास्थ्य मन्त्रालय माहतको हुनेछ । गेटामा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय संघीय सरकारका मन्त्रालयहरूको खिचातानीको सिकार भएको छ । मन्त्रालयहरुले खिचातानी गरेपछि गेटामा स्वास्थ्य विश्वविद्यालय सञ्चालन हुनेमा आशंका गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले पूर्ण बजेट तथा कार्यक्रम नआएकाले यसै भन्न नसकिने बताए ।

शिक्षा मन्त्रालयबाट पनि गेटामा विश्वविद्यालय सञ्चालनका लागि बजेट परेको हुन सक्ने उनको तर्क छ । स्वास्थ्य मन्त्रालय मातहत रहेका प्रतिष्ठानहरुको अवस्था राम्रो नभएकाले शिक्षा मन्त्रालयले चिकित्सा विश्वविद्यालय सञ्चालन गर्नुपर्ने माग सुदूरपश्चिमको छ । विश्वविद्यालय सञ्चालनका लागि कानुन निर्माणको प्रक्रियासमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले थालेको छ ।
मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजारा अनुसार अस्पताल, शैक्षिक र प्रशासनिक भवन निर्माणको कार्य गत वर्ष नै पूरा भइसकेको छ । विद्युत, खानेपानी र फोहरमैला व्यवस्थापन गर्ने संरचना निर्माणको कार्य भइरहेको छ । 

स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माण गर्ने योजना अनुसार करिब ९० प्रतिशत निर्माण कार्य पूरा भएको पुजाराको भनाइ छ । १३ वटा प्याकेजमा निर्माण कार्य सुरु गरिएकामा हालसम्म सात वटा प्याकेजको काम सम्पन्न भइसकेको छ । बाँकी छ वटा प्याकेजको काम चैत मसान्त २०८० सम्म सम्पन्न गर्ने लक्ष्य छ ।  

  • प्रकाशित मिति : जेठ २१, २०८० आइतबार १९:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया