गलेश्वर मन्दिरमा ११ महिनामा १ करोड ५ लाख आम्दानी

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालू आर्थिक वर्षको ११ महिनाका अवधिमा १ करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । 

चालू आवको साउनदेखि २१ जेठसम्म १ करोड ५ लाख २१ हजार ५ सय ८ रुपैयाँ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिइन् । ‘गत वर्षको असारसम्म कोषको आम्दानी २ करोड ९० लाख ८२ हजार २३५.६० थियो’, उनले भनिन्, ‘चालू आर्थिक वर्षको हालसम्म १ करोड ५१ लाख १ हजार १ सय ३८ रुपैयाँ आम्दानी भएकामा विभिन्न शीर्षकमा ४५ लाख ७९ हजार ६ सय ३० रुपैयाँ खर्च भएको छ ।’

सबैभन्दा बढी मण्डप भेटी २४ लाख ७६ हजार ४ सय ९९ रुपैयाँ र मेलापर्वको भेटी २६ लाख ९१ हजार ६ सय ३८ रुपैयाँ आम्दानी भएको छ । आव २०७८/७९ मा ४० लाख ८५ हजार ५ सय २२ भेटीसहित ९१ लाख ८२ हजार ५ सय ६९ रुपैयाँ आम्दानी भएको थियो । 

यज्ञ दर्तामा ४ लाख ३५ हजार ६ सय २ रुपैयाँ, यात्री निवासबाट ५ लाख ५९ हजार १० रुपैयाँ, ब्याज आम्दानी १३ लाख २७ हजार ३९ रुपैयाँ, दान दातव्य ‌१५ लाख १२ हजार ७ सय २२, जिन्सी बिक्रीबाट २ लाख ९८ हजार ३ सय ७१, स्टल भाडाबाट ५ लाख २ सय ६०, पार्किङ शुल्कबाट १ हजार ९ सय ५० र विविध शीर्षकमा ३७ हजार २० रुपैयाँ आम्दानी भएको कोषका कार्यालय सचिव राम बानियाँले जानकारी दिए । 

गत २० वैशाखदेखि यही २१ जेठसम्म ६ लाख ४४ हजार ६ सय ९७ भेटी संकलन भएको छ । गत वैशाख महिनामा ५ लाख २२ हजार २ सय २५ रुपैयाँ संकलन भएको थियो । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ ।

हिन्दूधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ। अन्य समय दैनिक पूजाआजा हुने मन्दिरमा भक्तजनको चाप पनि बढ्दै गएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । 



‘गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ’, उनले भने, ‘भेटी व्यवस्थित गर्न थालेपछि दानवीरले खुलेर सहयोग गर्न थालेका छन् ।’

मन्दिरको आम्दानीबाट हालै २ लाख ३० हजार ७ सय ५० खर्चेर गलेश्वर बजारको २‍.५ किमी सडक र मन्दिर परिसरमा सोमबार ५५ वटा सडक बत्ती जडान गरिएको थियो । गत वर्ष गलेश्वर मन्दिरमा पित्तलको छाना छाउन ३१ लाख ७५ हजार, सामुदायिक भवन बनाउन २१ लाख ९९ हजार, कालीगण्डकीबाट पानी ल्याएर ११ धारा बनाउन ४ लाख रुपैयाँ खर्च गरेको थियो ।  



जडभरत संस्कृत माविका तीन जना शिक्षकको तलबका लागि मासिक ७२ हजार, आश्रमका ज्येष्ठ नागरिक र तीर्थयात्रीलाई भोजन गराउँदै आएको अन्नक्षेत्रका भान्छेलाई मासिक १७ हजार रुपैयाँ तलब मन्दिरको आम्दानीबाट दिने गरिएको कोषका सदस्य सचिव बलबहादुर खत्रीले बताए ।

२०६७ सम्म भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायत क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा हुने गरेको थिएन ।

भेटी, महायज्ञबाट संकलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । 

धर्मशाला, सभाहल, बाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, १०८ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् । १३ वर्षअघिसम्म ३१ लाख रुपैयाँ रहेको कोषको आम्दानी हाल करिब ४ करोड रुपैयाँ पुगेको छ । रासस 

  • प्रकाशित मिति : जेठ २३, २०८० मंगलबार ९:१९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया