\
राष्ट्रिय सभाका सांसद् वामदेव गौतमले एमालेमा फर्कने संकेत गरेका छन् । एमालेले ७० वर्षे उमेरहद हटाएपछि गाैतमले यस्ताे बताएका हुन् ।
सर्वाेच्चले नेकपा एमाले र माओवादी केन्द्रकाे एकतामा प्रक्रिया नपुगेकाे भन्दै पुरानै अवस्थामा फर्काएपछि गाैतम नेकपा एकता अभियानका नाममा गतिविधि गर्दै आएका
छन् ।
नेकपामा रहँदै गौतमलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभामा मनोनीत गरेकी थिइन् । बुधबार गौतमलाई एमालेका केही सांसदले एमालेमा फर्किन लगातार अनुरोध गरेका थिए।
एमालेले वामदेवकै लागि ७० वर्षे उमेरहद हटाइएको उनीहरूकाे भनाइ थियाे । यद्यपि, उनीहरूकाे अनुराेध अनाैपचारिक थियाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अन्तर पार्टी निर्देशन जारी गर्दै ७० वर्षे उमेरहद हटाएका थिए ।
सूर्य थापालगायत सांसदले '७० वर्षे उमेरहद तपाईंकै लागि हटेको हो, तपाईं आउनुपर्यो' भन्दै एमालेमा फर्कन गरेकाे आग्रहमा गाैतमले आफू एमालेमा आउन तयार रहेकाे तर केपी ओलीले भन्नुपर्ने बताएका हुन् ।
यसबीचमा केपी ओलीसँग तीनपटक भेट भएको, तर उनले आफूलाई पार्टीमा फर्कनेबारे केही नभनेको उनकाे भनाइ थियाे । जवाफमा उनले भने, ‘एमालेले उमेरहद हटाएको मुकुन्द न्यौपानेजीका लागि हो, मेरो लागि होइन।’
थापाले पार्टीकाे नियम एकजना व्यक्तिका लागि मात्र नहुने भन्दै सबैका लागि हुने बताएका थिए । जवाफमा गाैतमले भने, ‘तपाईं आफैँ गएर भन्दिनुस् न त, म आउन तयार छु, कसैले त बोलाउनु त पर्यो नि !’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।