नागरिकता विधेयकमा न्यायपालिकाले अवरोध गरे कडा आन्दोलन गर्ने निधिको चेतावनी

नेपाली कांग्रेसका पूर्वउपसभापति एवं प्रतिनिधिसभाका सांसद विमलेन्द्र निधिले नागरिकता विधेयकमा न्यायपालिकाले अवरोध गरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। बुधबार जनकपुरधाममा आयोजित नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकता विधेयक संविधान कार्यान्वयनसँग जोडिएको भन्दै उनले यसमा अवरोधक नबन्न उनले न्यायपालिकालाई आग्रह गरे।

नागरिकको भविष्यसँग खेलबाड गर्ने अधिकार कसैलाई नरहेको उनले बताए। नागरिकता समस्या मधेशको घरघरको समस्या रहेको उनको भनाइ छ । संविधानको अवधारणा विपरीत बुवाआमाको नागरिकता भएर पनि सन्तान नागरिकताविहीन रहेको नेता निधिले बताए । 

निधिले अदालत संविधानको मर्मअनुसार नै आएको नागरिकता कानुनको बाधक नबन्नेमा कांग्रेसलाई विश्वास रहेको बताए। जेठ २६ गते अदालतले दुवै पक्षलाई बोलाएको र अवरोध भए आन्दोलनको तयारी अवस्थामा रहन उनले नेता कार्यकर्तालाई निर्देशन दिए।

कार्यक्रममा नेता निधिले सत्तारुढ प्रमुख तीन दलबीच आलोपालको सरकारको नेतृत्व गर्ने सहमति भएको खुलासा गरेका छन् । उनले वर्तमान गठबन्धन पाँचै वर्ष टिक्ने र तीन शीर्ष नेता आलोपालो प्रधानमन्त्री बन्ने बताए । 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरुका दुई वर्ष, त्यसपछि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल एक वर्ष र तेस्रो कार्यकालका लागि कांग्रेस सभापति शेरबहादुर देउवा दुई वर्ष प्रधानमन्त्री बन्ने सहमति भएको नेता निधिले बताएका हुन् । 

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका निधिले आगामी चुनावमा नेपाली कांग्रेस एक्लै चुनाव लड्नुपर्ने पक्षमा आफू रहेको समेत जानकारी गराए। यो गठबन्धन २०८४ सालसम्मका लागि भएको उनको भनाइ छ । 



नेता निधिले मुस्लिम समुदायको भलो चाहने पार्टी कांग्रेसबाहेक हुनै नसक्ने दाबी गरेका छन् । कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको उनको जिकिर छ । नेपालमा पहिलोपटक मदरसालाई सरकारको औपचारिक सहयोग हुनुमा आफ्नो पहलकदमी रहेको उनले बताए । 

निधिले संघको धनुषा अधिवेशन सर्वसम्मत गरी २०८४ सालमा तीनै तहको निर्वाचन कांग्रेसले एक्लै जित्ने गरी अभियानमा लाग्न निर्देशन समेत दिए।



कार्यक्रमलाई कांग्रेसका नेता तथा प्रदेश सांसद रामसरोज यादव, धनुषा सभापति योगेन्द्र पञ्जियार, जनकपुरधामका मेयर मनोजकुमार साह, उपप्रमुख किशोरी साह, संघका अध्यक्ष इब्राहिम राइनलगायतले सम्बोधन गरेका थिए । 

  • प्रकाशित मिति : जेठ २४, २०८० बुधबार २१:५४:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया