[टिप्पणी] मृत्युपछि पनि रवीन्द्र अधिकारीमाथि भइरहेका अन्याय !

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको निधन भयो । यो अप्रत्याशित दुर्घटनाले सबैलाई भावुक बनायो । यो स्वाभाविक हो– केही गर्छु भन्ने जोश देखाएका एक नेताको निधनमा अधिकांश नेपाली दुखी भए ।

रवीन्द्र त्यस्ता नेता थिए जो पछिल्लो समय आशा गरिएका केही युवा नेताहरुमा पर्थे । फरक के भने पदमा पुगिसकेपछि उनी पनि अरुजस्तै विवादमा मुछिए । वाइडबडी विमान खरिद प्रकरणमा आफू विवादमा मुछिएपछि रवीन्द्रले अभिव्यक्ति दिए– मेरो संलग्नता रहेछ भने म राजनीतिबाट नै सन्न्यास लिन्छु । 

विडम्बना ! यो प्रकरणबारे सत्यतथ्य बाहिर आउन नपाउँदै उनको निधन भयो । 

सरकारले यो प्रकरणबारे छानबिन गर्न समिति गठन गरेको छ । समितिले काम गरिरहेको छ । यसअघि बनेको संसदीय समितिको उपसमितिले दिएको प्रतिवेदनलाई सरकारले खारेज गरिदियो । योबीच अनेक खेल भए, कतिपय सतहमा आए, कति भित्रभित्रै गरिए । जे होस्, रवीन्द्र अधिकारीको यो प्रकरणमा नाम जोडियो । 

आफ्नै मन्त्रीको यति ठूलो प्रकरणमा नाम जोडिँदा पनि प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाल कम्युनिस्ट पार्टीका ‘बिग फिगर’ चुपचाप थिए । तर, जब शुक्रबार पोखरामा अधिकारीको अन्तिम संस्कार गरियो, प्रधानमन्त्रीले फ्याट्टै अभिव्यक्ति दिए– वाइडबडी खरिद प्रकरणमा रवीन्द्र अधिकारी निर्दोष थिए । 

मृत्युअघि यसबारे प्रधानमन्त्री ओलीले किन बोल्नु पर्छ भन्ने सोचेनन्, उनै जानुन् । तर, जुन समयमा उनको यो अभिव्यक्ति आयो त्यसले कुनै पनि अर्थमा अधिकारीमाथि न्याय गरेको ठहरिँदैन । बरु यो त अधिकारीमाथि भएको अन्याय हो । यदि प्रधानमन्त्रीले यो विषयमा बोल्नु थियो भने प्रकरणबारे चरम विवाद भइरहँदा उनले अभिव्यक्ति दिनुपथ्र्यो । अन्यथा यो समय त्यो विषयमा बोल्नु पर्ने जरुरी नै थिएन ।



सरकारले अधिकारीको अन्तिम संस्कारमा राजकीय सम्मान दिने निर्णय गरेर अर्को आफ्नो कमजोरी प्रदर्शन गर्यो । सत्तामा भएकै कारण वा राजनीतिक आस्थाका कारण राजकीय सम्मान दिनु हुन्थ्यो वा हुँदैनथ्यो ? यस विषयमा सरकारले गम्भीर भएर सोच्नु पर्ने थियो । किनकि राजकीय सम्मानलाई यस्ता निर्णयले कति स्वाभाविक बनाउँछ वा कति फितलो बनाउँदै लैजानेछ भन्ने अर्को बहसको विषय हुन सक्ला । 

सरकारी पक्षबाट मात्र होइन, रवीन्द्र अधिकारीमाथि उनका समर्थक तथा सामाजिक सन्जाल प्रयोगकर्ताबाट थप अन्याय भइरहेको नै छ । रवीन्द्रको नाम जोडेर लेखिँदै आएका स्टाटसहरु अत्यन्त कमजोर मानसिकताका उपज भएको ठहर गर्दा कुनै अन्यथा नहोला । पछिल्लो समय युट्युबमा र फेसबुक, ट्विटरलगायतका सामाजिक सन्जालमा रवीन्द्रको नाम जोडेर विभिन्न विषयहरु प्रस्ताव गर्ने क्रम बढ्दो छ, विभिन्न भिडियो बनाउने र त्यसलाई अतिरन्जना गर्ने कार्य पनि भइरहेको छ । यो कति सान्दर्भिक हो ? यसबारे समाजले सोच्नु आवश्यक छैन र ? 



र, पछिल्लाे समय फेरि रवीन्द्र अधिकारीकाे क्षेत्रमा हुने उपनिर्वाचनमा कसलाई उठाउने भन्ने विषयले प्रवेश पाएकाे छ । याे छलफल त आवश्यक नै छ, नेपाल कम्युनिस्ट पार्टीले यसकाे छिनाेफानाे गर्ला । तर, अहिले नै रवीन्द्रकी श्रीमती विद्यालाई उठाऔं भन्ने खालका तर्क गर्ने समय भएकाे हाे कि हाेइन ?

मृत्यु अकाट्य सत्य हो । मृत्युलाई कुनै पनि विषयमा फाइदाका लागि उपयोग गर्न हुँदैन, मानवीय गुणका कारण पनि । तर, अधिकारीको मृत्युपछि त्यसलाई फाइदामा परिवर्तन गर्ने प्रयास भइरहेका छन्, सरकार, उनका समर्थक र उनका आलोचकबाट ।

के यो राम्रो संस्कार हो ? सरकार र समाज, आलाेचक र समर्थक दुवैले यसबारे सोच्नु नपर्ला र ?


  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार १८:१८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया