के रुसले फन्डिङ गर्दै छ तालिवानलाई ?

केही समययता अमेरिकाले रुसमाथि लगाएका विभिन्न आरोपमध्ये एउटा संगीन आरोप हो– रुसले अफगानिस्तानमा तालिवानलाई सहयोग गरिरहेको छ । रुस अफगानिस्तानमा स्थिरता नहोस् भन्ने चाहन्छ भन्ने अमेरिकी अधिकारीहरुको ठहर छ ।

पछिल्लो समय त अझ भन्न थालिएको छ– रुसले अफगानी तालिवानलाई हतियार दिइरहेको छ । केही अघि पाकिस्तानमा प्रधानमन्त्री निर्वाचित भएपछि इमरान खान र अमेरिकाबीच पनि वाक युद्ध सुरु भएकाे छ ।

यी दुवैले एकअर्कालाई विभिन्न अाराेप लगाएका छन् । तीमध्ये एउटा आराेप चाहिँ पाकिस्तानले आतंककारीलाई संरक्षण गरिररहेकाे भन्ने अमेरिकी दाबी हाे । पाकिस्तानमा रहेका तालिवानलाई पनि रुसले नै सहयाेग गरेकाे त हाेइन भन्ने अाशङ्कामा अमेरिका छ । यी दुई देशबीचको बढ्दो तिक्ततालाई यसले पनि अझ मलजल गरेको छ ।

नयाँ शीत युद्धको थालनी भएको अनुमानहरुलाई यस्ता आरोपले थप सहयोग पुग्न थालेको छ । अर्कोतिर रुस र तालिवान चाहिँ एकअर्काका पुराना दुश्मन हुन् । त्यसैले उनीहरु दुवैले अमेरिकी आरोपको खण्डन गर्दै आएका छन् । गत मार्चमा बिबिसीसँग अन्तर्वार्ता दिँदै अफगानिस्तानमा अमेरिकी सेनाका कमान्डर तालिवानले रुसी हतियार खरिदबिक्री गरिरहेको आरोप लगाएका थिए ।

उनले इस्लामिक स्टेटको संख्याबारे बताउँदै रुसले तालिवानलाई सहयोग गर्न खोजेको आरोप लगाए । ‘हामीलाई अफगानी अधिकारीहरुले हतियार ल्याएर दिएका छन् र भनेका छन् कि ती हतियार रुसले दिएको हो,’ जोनले त्यो अन्तर्वार्तामा भनेका थिए । अमेरिकी अधिकारीले यो आरोप लगाउन थालेको अब झन्डै एक वर्षभन्दा बढी भइसकेको छ ।

सन् २०१७ मा अमेरिकी सुरक्षामन्त्री जेम्स माटिसले भनेका थिए, ‘रुसले सहयोग गरेको प्रमाण हामीले हेर्नु पर्ने भएको छ, ठोस प्रमाण भए हामीलाई सहज हुने थियो ।’ उनीहरुले रुसले सहयोग गरेको प्रमाण आफूसँग नभएकाले यस विषयमा थप बोल्न नमिल्ने बताउँदै आएका पनि छन् । अर्कोतिर अफगानी अधिकारीहरुले पनि यो विषयमा दुई थरि तर्क दिँदै आएका छन् । गत वर्ष अफगानी राष्ट्रपति असरफ घानीले रुसले तालिवानलाई हतियार दिएको आरोप लगाएका थिए ।



तर, उनका रक्षामन्त्रीले त्यसको एक महिनापछि भने, ‘ती हल्लाहरुका आधारमा भनिएका कुरा हुन्, हामीसँग रुसले तालिवानलाई सहयोग गरेको भन्दै प्रमाण केही पनि छैनन् ।’ त्यस्तै, रुस र तालिवानले पनि यी आरोपहरुमा सत्यता नभएको बताउँदै आएका छन् । मस्कोले बारम्बार भन्दै आएको छ– हामीले तालिवानलाई कुनै सहयोग गरेका छैनौँ । तालिवानी प्रवक्ताले पनि भनेका छन्, ‘हामीले कुनै पनि अर्को देशबाट सैन्य वा हतियार सहयोग लिएका छैनौँ ।’

तर के बिर्सनु हुँदैन भने तालिवानले यो क्षेत्रमा आफ्नो सम्बन्ध बढाउन खोजिरहेको छ । कुटनीतिक सम्बन्धमा जोड दिँदै उनीहरुले चीन र इरानसँग आफ्नो सम्बन्ध बढाउन खोजिरहेका छन् । त्यसो त पछिल्ला दिनमा रुसले तालिवानबारे पहिलेजस्तो कडा अभिव्यक्ति दिन छोडिसकेको छ । रुसको यो सिफ्टलाई विश्व राजनीतिमा एउटा ठूलो अर्थमा हेरिएको छ ।



जे होस्, तालिवानप्रतिको रुसी धारणा फेरिनुमा तीन कारण प्रमुख छन् । एक, रुसी अधिकारीहरु अफगानिस्तानमा भएका रुसी नागरिक र विभिन्न कार्यालयको सुरक्षाबारे सतर्क हुन खोजिरहेका छन् । यसअघि तालिवानले सन् २०१३ र २०१६ मा रुसी नागरिकलाई अपहरण गरेको थियो । उनीहरु निकै लामो कुराकानी पछि छुटेका थिए । दुई, अफगानिस्तानमा बढ्दो इस्लामिक स्टेटको प्रभावका कारण रुसको सुरक्षाबारे पनि मस्कोले चिन्ता लिएको मानिन्छ ।

तीन, अमेरिकाले लामो समयदेखि अफगानिस्तानमा आफ्नो सेना राखिरहेको छ । र, यसको विरोध गर्न रुसले अफगानिस्तान समस्याको समाधान सैन्य नभई राजनीतिक हुनु पर्ने धारणा राख्दै आएको छ ।

  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार १८:४१:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया