दक्षिणी युक्रेनमा आइतबार आएको विनाशकारी बाढीका कारण सात बालबालिकासहित ३५ जना बेपत्ता भएका छन् । खेर्सन क्षेत्रको अग्रपंक्तिमा रहेको रूसी नियन्त्रित काखोभका जुन ६ मा बाँध ध्वस्त भएपछि हजारौं मानिस भाग्न बाध्य भएका थिए ।
युक्रेनले निप्रो नदीमा रहेको बाँध रूसले भत्काएको आरोप लगाएको छ भने मस्कोले किएभले उक्त संरचनामा विष्फोट गराएको आरोप लगाएको छ । युक्रेनका आन्तरिक मामिलामन्त्री इगोर क्लाइमेन्कोले दक्षिणी क्षेत्र खेर्सन र माइकोलाइभका ७७ वटा सहर र गाउँ डुबानमा परेको बताएका छन् ।
क्लाइमेन्कोका अनुसार खेरसन क्षेत्रमा सात बालबालिकासहित ३५ जना हराइरहेका छन् । बाढीका कारण खेर्सन क्षेत्रमा पाँचजनाको मृत्यु भएको थियो भने माइकोलाइभ क्षेत्रमा एकजनाको मृत्यु भएको थियो ।
ती दुई क्षेत्रमा रहेका तीन हजार सात सयजनालाई सुरक्षितस्थलमा सारिएको उनले बताए । युक्रेनका अभियोजक जनरल एन्ड्री कोस्टिन र अन्तर्राष्ट्रिय फौजदारी अदालतका प्रतिनिधिले पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गरेको उनको कार्यालयले जनाएको छ ।
कोस्टिनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चेर्नोबिलपछिको यो सबैभन्दा खराब वातावरणीय विपत्ति हो, त्यसैले हामी युद्ध अपराधमात्र होइन, पर्यावरणीयस्थलको पनि अनुसन्धान गरिरहेका छौं ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।