अल्जेरिया : राष्ट्रपतिविरुद्धको प्रदर्शनमा पूर्वप्रधानमन्त्रीका छाेरा मारिए

अल्जियर्स– राष्ट्रपति अब्देलाजिज बुटेफ्लिकाले पाँचौँ कार्यकालका लागि उम्मेदवारी दिने बताएपछि त्यसको विरोधमा भएको प्रदर्शनका क्रममा अल्जेरियाका प्रथम प्रधानमन्त्रीका छोराको मृत्यु भएको छ । 

आन्तरिक मामला मन्त्री नोउरेडिन बेदुईले प्रथम प्रधानमन्त्री बेन्युसेफ बेनखेडाका छोरा हसन बेनखेडाको मृत्यु भएको पुष्टि गरेका छन् । सन् १९६२ मा अल्जेरिया फ्रान्सबाट स्वतन्त्र भएपछि पहिलोपटक बेन्युसेफले सत्ता सम्हालेका थिए । 

‘फरेन्सिक मेडिकल जाँचहरुले मृत्युको कारण र परिस्थितिबारे प्रस्ट्याउनेछ,’ मन्त्री बेदुईले ट्विटरमा लेखेका छन् । 

अर्को एक अनलाइन स्टेटमेन्टमा भने मन्त्री बेदुईले बेनखेडा प्रहरी र ‘आन्दोलनसँग असम्बद्ध उग्रवादी’बीचको झडपका क्रममा मारिएको बताएका छन् । 

हसनका भाइ सलिमले भने उनी शुक्रबार राजधानी अल्जियर्सस्थित राष्ट्रपति निवासअगाडि भएको प्रदर्शनमा सहभागी भएका भन्दै उनको मृत्युमा सरकारको हात रहेको दाबी गरेका छन् । 

एक साताभन्दा अघिदेखि देशभर चलेको प्रदर्शनमा मारिने उनी पहिलो व्यक्ति हुन् । 



चार कार्यकाल शासन चलाइसकेका राष्ट्रपति बुटेफ्लिकाले आउँदो महिना हुने राष्ट्रपतीय निर्वाचनमा फेरि चुनाव लड्ने घोषणा गरेपछि उनको निर्णयविरुद्ध देशभर प्रदर्शन चर्किएको हो । 

धेरै अल्जेरियनहरु बुटेफ्लिका राष्ट्रपतिका लागि अब योग्य छैनन् भन्ने ठान्छन् । ८१ वर्षे बुटेफ्लिका सन् २०१३ मा हृदयघात भएयता सार्वजनिक कार्यक्रममा कमै देखिन्छन् । 



विभिन्न सहरमा भएको शुक्रबारको प्रदर्शनमा दशौँ हजारको सहभागिता थियो । प्रदर्शनका क्रममा ५६ प्रहरी घाइते भएका र ४५ प्रदर्शनकारी पक्राउ परेका प्रहरीले बताएको छ । 
 

  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार २०:३८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया