के भारत–पाकिस्तानबीच तनाव बढोस् भन्ने चाहन्छ चीन ?

एजेन्सी– हाम्रा दुई छिमेकी भारत र चीन एकअर्काका पनि छिमेकी हुन् । भारतका लागि त झन् चीन सबैभन्दा ठूलो छिमेकी हो किनकि भारत र चीन एकअर्काबीच ३५ सय किलोमिटर लामो सीमा सेयर गर्छन् । 

सन् १९६२ मा यी दुई देशबीच तनाव पनि बढेको थियो । त्यसमा भारतले हारेको थियो । अहिले भारत र पाकिस्तानको सम्बन्ध फेरि एक पटक चिसिएको छ । भारत र पाकिस्तानबीच भएको यो तनावमा चाहिँ चीनको अडान के होला ? किनकि चीन र पाकिस्तान चाहिँ एकअर्काका निकै राम्रा साथी हुन् । अहिले त झन् चीनले पाकिस्तानमा आर्थिक करिडर बनाउने भनेर ६० अर्ब डलर लगानी गरेको छ । 

अर्कोतिर भारत र पाकिस्तानबीच ऐतिहासिक रुपमा शत्रुतापूर्ण सम्बन्ध रहेको छ । दुई देशबीच बारम्बार युद्ध भइसकेको छ । कस्मिर चाहिँ यी दुई देशबीचको झगडाको विषय बनेको छ । 

चीन र पाकिस्तानबीच गहिरो मित्रता त छ तर यी भारत र पाकिस्तानबीच जहिले जहिले तनाव बढिरहेको छ, चीनले आफूलाई तटस्थ राख्ने गरेको छ । जब भारत र पाकिस्तानबीच तनाव बढ्छ, तब चीनको धारणा धेरैले पर्खिरहेका हुन्छन् । तर, चीनले सधैं भन्दै आएको छ– कस्मिरको समस्या भारत र पाकिस्तानले वार्ताका माध्यमबाट समाधान गर्नुपर्छ ।

पछिल्ला दुई साता यता भारत र पाकिस्तानबीचको राजनीतिक सम्बन्ध निकै तल झरिसकेको छ । भारत प्रशासित कस्मिरको पुलवामामा ४४ जना सैनिकको ज्यान जाने गरि भएको १४ फ्रेबुअरीको आक्रमणका कारण यो तनाव बढ्दै गएको हो । भारतले सन् १९७१ पछि पहिलो पटक पाकिस्तानी क्षेत्रमा आफ्ना सैनिक विमान पठाएको छ । 

तर, चीनले यसबारे अहिलेसम्म केही पनि भनेको छैन । फेरि भारत र पाकिस्तान दुवैसँग फरक फरक सम्बन्ध बनाएको चीनले खुलेर कुनै एक देशको पक्ष लिन मिलेको छैन । पाकिस्तानसँग भएको आर्थिक तथा राजनीतिक र सैन्य सम्बन्ध र भारतसँगको आर्थिक सम्बन्धका कारण यो विषयमा चीन सधैं तटस्थ हुने गरेको हो । उसका लागि यसको विकल्प पनि छैन । 



त्यसो त यो पहिलो ठाउँ होइन, जहाँ एकअर्काका दुश्मनलाई चीनले मिलाएर अगाडि बढाएको छ । इजरायल, इरान र साउदी अरबजस्ता तीन ठूला दुश्मनलाई पनि सँगै लिएर जान सक्ने चीनले भारत र पाकिस्तानबीच तनाव बढोस् भन्ने कामना गर्नु वा तनाव बढ्दा एउटाको पक्ष लिन्छ भन्ने अनुमान गर्नु त्यसैले पनि गलत हुन्छ ।

तर, यसपटक पाकिस्तानले नै भारत र पाकिस्तानबीचको तनाव कम गर्न चीनले सहजीकरणको भूमिका निर्वाह गरोस् भन्ने चाहेको छ । यस्तो अवस्थामा पनि चीन भारतसँग नजिक हुन खोजिरहेको छैन । किनकि उसलाई अमेरिकाले भारतलाई गरिरहेको सहयोग मन परिरहेको छैन । फेरि पाकिस्तानमाथि पनि आक्रमण कम होस् भन्ने उसको कामना छ किनकि पाकिस्तानमा पछिल्लो समय चीनले लगानी बढाइरहेको छ । 



चीनसँग युद्ध भएको तीन वर्षपछि पाकिस्तानले भारतमाथि आक्रमण गरेको थियो । पाकिस्तानले अनुमान गरेको थियो कि भारतले चीनसँग युद्ध हारेकाले आफूहरुलाई सहज हुनेछ । तर, उसले सोचेको भन्दा नतिजा फरक थियो । अब यसपटक चाहिँ उसले यो सहजीकरणका लागि चीनको भूमिका खोजेको छ । तर, चीनले यस विषयमा एउटा देशको पक्ष लिने सम्भावना निकै न्युन भएको विश्लेषकहरु बताउँछन् । 

  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १५:१८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया