लगानी सम्मेलनपछि मन्त्रिपरिषद् हेरफेर गर्ने प्रधानमन्त्री ओलीको तयारी

काठमाडौं– संस्कृति, नागरिक उड्ड्यन तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन भएपछि प्रधानमन्त्री ओलीले यो समयमा मन्त्रिपरिषद्मा हेरफेर ल्याउने आफ्नो योजनालाई केही पर सारेका छन् । अब उनी मन्त्रिपरिषद्मा नयाँ अनुहार लगानी सम्मेलनपछि ल्याउने तयारीमा छन् । 

सरकारले दातृ निकायहरुलाई बोलाएर चैतको दोस्रो साता लगानी सम्मेलन गर्दै छ । यसअघि संसदमा प्रस्तुत गरिएका विधेयक पारित भएपछि मन्त्रिपरिषद् हेरफेर गर्ने सहमति नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भइसकेको थियो । 

‘तर, समय अनुकूल रहेन,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने, ‘यसलाई लगानी सम्मेलनपछि गर्ने एउटा सम्झौता भइसकेको छ । सम्मेलन अगाडि गर्दा अहिले अनेक विवाद निस्कन सक्ने भन्दै त्यस्तो तयारी गरिएको हो ।’ लगानी सम्मेलन चैत १५ र १६ गते हुँदैछ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार हेरफेर हुने मन्त्रीको सुचीमा अर्थमन्त्री युवराज खतिवडा रहेको र तत्काल उनी फेरिँदा लगानी सम्मेलन प्रभावित हुनसक्ने भन्दै ओली र प्रचण्डले त्यसपछि मन्त्रिपरिषद् फेर्ने सल्लाह गरेका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डको कुराकानीलाई उद्धृत गर्दै ती अधिकारीले भने, ‘अब काम देखाउने समय आइसकेको छ, तर हाम्रा मन्त्रीले कुनै काम नै गरेका छैनन् । त्यसैले यो काम छिटो टुङ्ग्याउने तयारी सुरु गर्नु पर्छ ।’

यसअघि सरकार बनेको ६ महिना पनि नहुँदै मन्त्रिपरिषद् हेरफेर गर्ने कि भन्ने कुरा चलेको थियो । तर, आफूले बनाएको मन्त्रिपरिषद् त्यति छिटो फेर्दा आफूमाथिको विश्वास नै धरापमा पर्ने निष्कर्षमा केपी शर्मा ओली पुगेका थिए । 



यसपटकका लागि अर्थमन्त्रीबाट युवराज खतिवडालाई हटाउने निष्कर्षमा केपी शर्मा ओली पुगेको स्रोतको दाबी छ । ‘सुरेन्द्र पाण्डेलाई अबको अर्थमन्त्रीका रुपमा लिन सकिन्छ,’ उनले भने, ‘यस विषयमा केपी ओली र खतिवडाको कुरा पनि भइसकेको छ ।’

तर, आफूलाई यस विषयमा केही पनि थाहा नभएको बताउँछन् नेपाल कम्युनिस्ट पार्टीका नेता सुरेन्द्र पाण्डे । 



तपाईं अर्थमन्त्री बन्दै हुनुहुन्छ रे भन्ने सुनियो भन्ने प्रश्न गर्दा उनले भने, ‘मलाई त थाहा छैन ।’ यस विषयमा थप प्रतिक्रिया दिन उनले चाहेनन् ।

उता, स्रोतका अनुसार सुरेन्द्र पाण्डेसँग केपी ओलीले यस विषयमा छलफल गरिसकेका छन् । पाण्डेले पनि जिम्मेवारी दिने भए आफू लिन तयार भएको बताएका थिए । 

अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएपछि पाण्डेले आलोचना गर्दै आएका थिए । खतिवडाले बजेट ल्याएलगत्तै फरक धारलाई दिएको प्रतिक्रियामा पाण्डेले भनेका थिए, ‘अर्थमन्त्री विज्ञ छन् भनियो तर यो बजेटमा त्यो विज्ञता देख्न सकिएन । अब म धेरै बोलौँ भने पनि नहुने, बोलौँ भने पनि नहुने ।’ त्यति बेला देखि नै पाण्डेले खतिवडाका नीति तथा कार्यक्रममाथि प्रश्न उठाउँदै आएका थिए । 

अर्कोतिर, खतिवडा आएपछि नेपाली अर्थतन्त्रका विभिन्न सूचकमा सकारात्मक ग्रोथ देखिएको छैन । खस्कँदो सेयर बजार, घट्दो राजश्व संकलन, व्यापारीको आक्रोश तथा बैंकहरुलाई समेत नियन्त्रणमा राख्न नसकेकाले युवराज खतिवडाप्रति ओलीले विश्वास गुमाएको हुनसक्ने स्रोतको अनुमान छ । ‘तर, यस्तो विषयमा कुरा हुँदैन,’ ती अधिकारीले भने, ‘अर्थमन्त्री मात्रै होइनन्, अरु केही मन्त्रीहरु पनि फेरिन्छन् होला । तर, कोको भन्नेबारे अहिलेसम्म निष्कर्षमा कोही पनि पुगेको छैन ।’

  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १७:२९:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया