भोलि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने आन्दोलनरत शिक्षकको घोषणा

काठमाडौं– आन्दोलनरत राहत तथा बालविकास शिक्षक केन्द्रीय समितिले भोलि देशभरका विद्यालय बन्द गर्ने घोषणा गरेको छ । 

सामुदायिक विद्यालयमा लामो समयदेखि कार्यरत राहत तथा बालविकासका शिक्षकलाई प्रक्रिया मिलाएर स्थायी गर्नुपर्नेलगायत माग राखी पछिल्लो समय राहत तथा बालविकासका शिक्षकहरु आन्दोलनमा छन् । हिजो र आज देशभरबाट आएका राहत तथा बालविकासका शिक्षक माइतीघरमा भेला भएर प्रदर्शन गरे । 

बालविकासका शिक्षकको उमेरको हदबन्दी हटाउनुपर्ने, आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्नुपर्ने, राहत तथा बालविकास कोटालाई दरबन्दीमा परिणत गरी सेवासुविधा वृद्धि र स्तरोन्नति गर्नुपर्ने मागसहित हजारौँ शिक्षकले प्रदर्शन गरे । 

कक्षा १ देखि १० सम्म पढाउने भन्डै ४० हजार राहत शिक्षक, कक्षा १ मा भर्ना हुनुअघिका बालबालिकालाई पढाउने ३६ हजार बालविकास शिक्षक र कक्षा ११ र १२ मा पढाउने ६ हजार शिक्षक आन्दोलनमा छन् । 

प्रदर्शनका क्रममा माइतीघरबाट बानेश्वरतर्फ बढेको जुलुसमा सहभागी शिक्षक र प्रहरीबीच आज झडप भएको छ । निषेधाज्ञा तोड्न थालेका शिक्षकमाथि प्रहरीले पानीको फोहरासँगै अश्रुग्यास प्रहार गर्यो, र लाठी वर्षायो । मुठभेडमा केही शिक्षक घाइते भए । 

आफ्नो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको भन्दै शिक्षकले भोलि (मंगलबार) देशभरका सामुदायिक विद्यालय बन्द गर्ने घोषणा गरेका हुन् । 





  • प्रकाशित मिति : फागुन २०, २०७५ साेमबार १९:१८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया