रवीन्द्र–पत्नी विद्या राजनीतिमा आउने सम्भावना कति छ ?
रवीन्द्र र विद्या । तस्वीर: विद्याकाे फेसबुकबाट ।

काठमाडौं– गत साता ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी निर्वाचित कास्कीमा नेपाल कम्युनिस्ट पार्टीबाट को उठ्ने भन्ने चर्चा योबीच चल्यो ।

नेपाल कम्युनिस्ट पार्टीका नेता वामदेव गौतम त्यसमा इच्छा जनाइरहेका छन् भन्ने टिप्पणी बाहिर आए । तर, गौतमले तत्काल आफू त्यसमा अनिच्छुक रहेको धारणा सर्वजनिक गरे । उनले आफ्नो नाम जोडेर बदनाम गर्न खाजेको भन्दै सार्वजनिक रुपमा धारणा राखे– म कसैको शोकलाई आफ्नो स्वार्थमा परिणत गर्न चाहन्नँ, बरु रवीन्द्रकै परिवारबाट कसैलाई त्यो क्षेत्रमा निर्वाचनमा उठाउँदा हुन्छ । 

उनको यो अभिव्यक्ति रवीन्द्र अधिकारीकी पत्नी विद्या अधिकारी (भट्टराई)प्रति लक्षित थियो । सोमबार सात दिने काजकिरिया सकेपछि पोखरामा आयोजना गरिएको श्रद्धान्जली सभामा अधिकारी पत्नी विद्याले परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई धन्यवाद मात्र दिइनन्, आफ्नो परिवार अब पनि पार्टीलाई सहयोग गर्न खोजेको बताइन् । 

यसले सामाजिक सन्जालमा एकथरिको टिप्पणी आउन थालेको छ– रवीन्द्र पत्नी विद्या राजनीतिमा आउन सक्ने सम्भावना बढेको छ । 

त्यसो त विद्या स्वयं पहिले सक्रिय राजनीतिमा थिइन् । अखिलको सचिवसम्म भएकी विद्याले विवाहपछि नै राजनीतिबाट टाढा बस्ने निर्णय गरेकी थिइन् । ‘त्यो पनि परिवारमा सल्लाह भएकाले नै भएको थियो,’ विद्यालाई उद्धृत गर्दै पोखराका पत्रकार अमृत सुवेदीले फरक धारसँग टेलिफोन सम्पर्कमा भने, ‘राजनीतिमा रवीन्द्रजीलाई सहयोग होस् भनेर विद्याजी प्राज्ञिक क्षेत्रमा लाग्नु भएको उहाँले नै बताउनु भएको थियो ।’

आफू सक्रिय राजनीतिमा आउनेबारे अहिले नै बोल्ने बेला नभएको विद्याले जनाएकी छिन् । तर, उनमा हिजोको राजनीति गर्दाको सम्झना अहिले पनि ताजै छ । फेरि रवीन्द्र र विद्या पनि राजनीतिक कारणले नै जोडिएका हुन् । जतिबेला रवीन्द्र पिएन क्याम्पसमा राजनीति गर्थे, विद्यामा पनि राजनीतिको रस पसिसकेको थियो । 



पछि विवाह भएपछि विद्याले रवीन्द्रलाई राजनीतिका लागि निकै सहयोग गरिन् । कतिसम्म भने आफ्नै राजनीतिक करिअर पनि छोड्न उनी तयार भइन् । रवीन्द्र एउटा सुसँस्कृत राजनीतिबाट आएकाले उनीबाट पक्कै पनि विद्याले धेरै सिकेकी छिन् । यो अर्थमा उनले फेरि राजनीतिमा पाइला राख्नुलाई सामान्य रुपमा लिन सकिने माहोल बन्दै छ । 

अर्कोतिर, नेपालको राजनीतिक इतिहास वा कम्युनिस्ट पार्टीकै इतिहासलाई हेर्ने हो भने पनि यस्ता घटना देखिएका छन् । राष्ट्रपति विद्या भण्डारीलाई नै पनि यसको उदाहरणका रुपमा लिन सकिन्छ । यो दुखद संयोग रवीन्द्र पत्नी विद्याको जीवनमा पनि दोहोरिन सक्ने सम्भावना बढेको छ ।



‘यो त खासमा देश र पार्टीका लागि पनि एउटा ठूलो लस हो,’ नेपाल कम्युनिस्ट पार्टीका एक सचिवालय सदस्यले भने, ‘विद्याजी राजनीतिमा आउने वा नआउने भन्ने कुरा त नितान्त उहाँको डिसिजन हो । तर, उहाँ आएमा उहाँलाई समर्थन हामी पनि गर्छौँ र पार्टीले पनि गर्नेछ ।’

उता, विद्याले मंगलबारको श्रद्धान्जली सभामा भनेकी थिइन्, ‘उहाँ (रवीन्द्र)का सपना पूरा गर्ने जिम्मेवारी अब पार्टीको हो । परिवार त उहाँको सपनाको सानो इकाइ मात्र हो ।’ रवीन्द्रको सपना पूरा गर्न त्यही  सानो इँटाको ठूलो अर्थ हुनसक्ने भन्दै रवीन्द्र निकट केही नेपाल कम्युनिस्ट पार्टीका नेताले पनि विद्यालाई राजनीतिमा आउन सुझाव दिइसकेका छन् ।

‘उहाँले मनको भित्री कुनामा चाहिँ राजनीतिमा जोडिन सक्ने भाव पैदा पक्कै गर्नु भएको छ,’ पत्रकार अमृत सुवेदी भन्छन्, ‘फरक के भने अहिले नै त्यो भाव बाहिर व्यक्त गर्नु भएको छैन । समयले यसको निर्णय लिने कुरा उहाँले गर्नु भएको छ ।’

एउटा दुखद घटनापछि त्यसलाई शक्तिमा बदल्ने हेतुले पनि विद्या राजनीतिमा आउन सक्ने नेपाल कम्युनिस्ट पार्टीका अर्का नेताको अनुमान छ । ‘उहाँ आउनु भयो भने अहिले रवीन्द्रजी प्रतिको सद्भाव र भोलि उहाँको कार्यक्षमताले पनि उहाँलाई स्थायी राख्नेमा हामी पक्का हुन सकिन्छ,’ एक नेताले भने, ‘हामी त उहाँलाई हार्दिक रुपमा नै स्वागत गर्छौँ ।’

  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार १९:५५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया