वातावरणका लागि गाईभैंसी किन हानिकारक ?

जलवायु परिवर्तनका कारण चिन्तित रहेका वैज्ञानिक तथा वातावरणविद्का लागि गाईको ग्यास लामो समयसम्म चिन्ताको विषय बन्यो । गाईभैसीको पेटबाट निस्कने ग्यासका कारण वायुमण्डलमा मिथेन ग्यासको मात्रा बढेको मानिन्छ । मिथेनको उत्सर्जन रोक्नका लागि गाईको खानामा सुधार ल्याउन वैज्ञानिकहरू प्रयासरत छन् ।

लसुन, जफ्रान, अरगाइनो वा अन्य तरकारी खुवाएर त्यसबाट हुने असर पत्ता लगाउनसमेत वैज्ञानिकहरूले धेरै प्रयास गरेका छन् । गाईको ग्यासलाई कसरी कम हानिकारक बनाउन सकिन्छ भन्नेबारेमा क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिकहरूले हालसालै अनुसन्धानबाट एउटा उपाय पत्ता लगाएका छन् । वैज्ञानिकका अनुसार समुद्री घाँस खुवाउँदा गाईको ग्यासमा हुने मिथेनको मात्रा कम हुन सक्छ, जसका कारण वातावरणमा मिथेन ग्यासको मात्रा कम हुन्छ । यस अनुसन्धानका लागि वैज्ञानिकहरूले करिब एक दर्जन दुधालु गाईलाई समुद्री घाँस खुवाएका थिए ।

यसपछि उनीहरूको ग्यासमा ३० प्रतिशत मिथेन कम भएको पाइएको थियो । उक्त अनुसन्धानका वैज्ञानिक अरमियास केब्रियाबले अनुसन्धानबाट प्राप्त भएको नतिजा देखेर आफूहरू आश्चर्यमा परेको बताए । थोरै मात्रामा समुद्री घाँस खुवाउँदैमा यस्तो चमत्कार हुन्छ भनेर आफूहरूले अनुमानसमेत नगरेको उनको भनाइ थियो । इलिनोय विश्वविद्यालयका पशु वैज्ञानिक माइकल हुचेन्स भन्छन्, ‘हामीले गाईको खानामा थोरै परिवर्तन गराएर वायुमण्डलमा मिथेनको मात्रा कम गर्न सकिन्छ, यसले कार्बन उत्सर्जनमा सकारात्मक असर राख्दछ ।’

 

के गाई वातावरणका लागि खतरा छ ?

संयुक्त राष्ट्रसंघको फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसनको २०१४ को रिपोर्टअनुसार गाई, बाख्रा, भेडाजस्ता जनावारहरू दिनभर खाना चबाउने वा उग्राउने गर्छन् । पहिलो पेट रुमेनमा लाखौंको संख्यामा जीवाणु हुन्छन्, जुन घाँसपातजस्ता फाइबरयुक्त खानालाई पचाउन मद्दत गर्छन् ।



यस प्रक्रियामा गाईको पेटबाट मिथेन ग्यास निस्कन्छ । सन् २००६ को नोभेम्बरमा संयुक्त राष्ट्रसंघको एक रिपोर्टअनुसार जलवायु परिवर्तनका लागि कार्बन–डाइअक्साइडको जति उत्सर्जन सवारीसाधन वा कारखानाबाट हुन्छ त्योभन्दा धेरै मात्रामा गाईको पेटबाट उत्सर्जन हुने गर्दछ । यस प्रतिवेदनअनुसार वायुमण्डमा सबैभन्दा हानिकारक गाईंभैसी देखिन्छ । गाडीबाट कार्बन–डाइअक्साइडको उत्सर्जन हुन्छ भने गाईबाट मिथेन ग्यासको उत्सर्जन हुन्छ ।

कार्बन–डाइअक्साइडको तुलनामा वायुमण्डलका लागि मिथेन धेरै हानिकारक हुन्छ । हरितगृहमा यसले धेरै प्रभाव पार्दछ, यही नै जलवायु परिवर्तनको मुख्य कारण हो । न्युजिल्यान्डले गाईंभैसीको ग्यासमा टयाक्स लगाउनका लागि प्रस्ताव गरेको थियो । कृषकहरूले यसको विरोध गरे तर यसले जलवायु परिवर्तनमा गाईंभैसीको भूमिकाको बारेमा स्पष्ट पारेको छ । क्यालिफोर्नियामा मिथेनको उत्सर्जन घटाउनका लागि २०१६ मा गाईबाट निस्कने मिथेन ग्यासलाई गाडीमा प्रयोग गर्नका लागि प्रयास गर्ने कुरा गरेका थिए ।



एसियन अस्ट्रेलियन जर्नल अफ एनिमल साइन्सेजमा २०१४ मा प्रकाशित एक अनुसन्धानको प्रतिवेदनअनुसार २०१० सम्ममा गाईका कारण मिथेन उत्पादनको मात्रा लगातार बढ्दै गइरहेको छ । विश्वमा अन्य स्थानमा पाइने ग्यासको तुलनामा भारतीय गाईले सबैभन्दा धेरै मिथेन उत्सर्जन गरेको उल्लेख थियो ।

  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार २३:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया