logo-img

दुवै सदनको बैठक आज पनि, एमालेको अवरोध हट्ला ?

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित हुँदै आएको दुवै सदनको बैठक आज पनि बोलाइएको छ । 

आइतबार स्थगित भएको राष्ट्रियसभा बैठक बिहान ११ बजेर १ मिनेटमा तथा प्रतिनिधिसभा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको हो । आइतबार एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक सुरु भएको केही समयमै स्थगित गरियो ।

प्रतिनिधिसभा बैठक भने सुरु नहुँदै सोमबार अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको थियो । आइतबार प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संसदको अवरोध हटाउन छलफल गरेका थिए ।

छलफलमा संसदको अवरोध हटाउन समझदारी भए पनि बैठकस्थलबाट बाहिर आएलगत्तै एमाले अध्यक्ष ओलीले समझदारी तोडिएको घोषणा गरे । उनले प्रचण्ड सचिवालयबाट जारी विज्ञप्तिमा उल्लेख गरेको गरिएको आरोपप्रति आपत्ति जनाउँदै समझदारी तोडेको बुझिएको छ ।  



प्रधानमन्त्री दाहालको सचिवालयले २१ असारमा जारी गरेको विज्ञप्तिमा मिटर ब्याज पीडितलाई सम्बोधन गर्न ल्याइएको अध्यादेश र सरकारले गरेको सुशासनका काममा एमालेले अवरोध पुर्याएको उल्लेख थियो ।

प्रधानमन्त्री दाहालले केही दिनअघि एक कार्यक्रममा विवादास्पद अभिव्यक्ति दिएपछि एमालेले लगातार संसद् अवरुद्ध गरिरहेको छ । आजको बैठकमा पनि प्रधानमन्त्रीको राजीनामाको माग गर्ने एमालेको तयारी छ ।  

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत दलले भने प्रधानमन्त्रीले आफ्नो विवादास्पद अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने माग गरेका छन् ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने लगायत सम्भावित कार्यसूची रहेको छ । 



यस्तै, राष्ट्रिय सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्रोत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय माथिको बजेटमाथि छलफल हुने सम्भावित कार्यसूची तोकिएको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथि छुटाइएको बजेटमाथि पनि छलफल हुनेछ ।

  • प्रकाशित मिति : असार २५, २०८० साेमबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया