काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार आक्रामक देखिएको छ । प्रहरीले चन्दको घर भएको कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–९, सुन्दरी डाँडा गाउँमा बिहीबार बिहान ‘स्विप अपरेसन’ चलाएको छ ।
यस क्षेत्रमा चन्द नेतृत्वको पार्टीले सैन्य शिविर चलाउने गरेको थियो । प्रहरीको सुरक्षा निगरानी कम भएका कारण सो पार्टीले आफ्ना गतिविधि निर्वाध रूपमा सञ्चालन गर्दै आएको थियो । लामो निगरानीपछि प्रहरीले बिहीबार बिहान सो गाउँभरि अपरेसन चलाएको हो ।
जंगल क्षेत्र पर्ने सुन्दरी डाँडामा बिहीबार बिहान साढे ३ बजेदेखि प्रहरी परिचालन गरिएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । छापाका क्रममा प्रहरीले आधुनिक स्वचालित हतियार, पेस्तोल र गोलीहरू बरामद गरेको छ ।
अपरेसनका क्रममा प्रहरीले शिवराज नगरपालिका–९ अञ्चलपुरका ४० वर्षीय दुर्गाबहादुर रोकालाई गोली हानी पक्राउ गरेको छ । हतियारसहित फेला परेका रोकालाई पक्रन खोज्दा उनी भागेपछि नियन्त्रण लिन गोली चलाएको प्रहरीले जनाएको छ ।
रोकाको घरबाट एसएमजी दुई थान, गोली ६८ राउन्ड, म्यागजिन ३ थान, अटोमेटिक पेस्तोल १ थान, त्यसको म्यागजिन १ थान, गोली ३ राउन्, ५.५६ क्यालिभरको राउन्ड १ सय ३१ पिस, थप म्यागजिन १ थान र विभिन्न किसिमका तार तथा फलामका नटहरू एक बोरा बरामद भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद गरेका हतियार सेनाबाट लुटिएको हुन सक्ने आशंका गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।