कोमल वलीले मध्यरातमा किन निकालिन् विज्ञप्ति ? कोसँग मागिन् माफी ?

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीकी नेता तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले बिहिबार राती १२ बजे फेसबुकमा एउटा स्टाटस पोस्ट गरेकी छिन् । केही दिनअघि सम्म उनले अमेरिका घुमफिरका तस्वीर सामाजिक सन्जालमा हाल्दै आएकी थिइन् । बिहिबार राती अबेर पोस्ट गरिएको स्टाटसमा भने उनले विज्ञप्ति राखेकी छिन् । 

यो विज्ञप्ति उनले उनीविरुद्ध आवाज उठाइरहेको र उनीमाथि कारवाही गर्नु पर्ने माग राख्दै विज्ञप्ति निकालेको समूहको ध्यानाकर्षण गर्न निकालेकी हुन् । यसको सन्दर्भ एउटा कार्यक्रममा उनले प्रयोग गरेको एउटा उखान र त्यसबाट अहिले उत्पन्न भएको तरङ्ग उनी स्वयंले फेसबुकमा खुलाएकी छिन् । विज्ञप्तिमा कोमलले लेखेकी छिन्, ‘ यो सन्दर्भ पछिल्लो समय मैले एउटा कार्यक्रममा दिएको अभिव्यक्तिबाट सिर्जित बहस, तरङ्गलाई जोड्न निकालेकी हुँ । एउटा कार्यक्रममा मलाई जीवित हुँदा नै केही राम्रो कर्म गर्न मन भएको तर मृत्युपछिको सम्मानलाई विश्वास नगर्ने भन्ने मेरो भावना अभिव्यक्त गर्न मैले एउटा उखान प्रयोग गरेकी थिएँ ।’

यो प्रसङ्ग २ मार्चमा कान्तिपुर टिभीको सुरज सिंह ठकुरीको टक सोमा वलीले प्रयोग गरेको उखानबाट निस्किएको हो । ओलीले मृत्युपछि आफूलाई सम्मान नचाहिने र बाँचुन्जेल राम्रो काम गर्न चाहेको र सलामी चाहेको भन्दै उखान प्रयोग गरेकी थिइन्– मरेपछि डुमै राजा । 

उनको यो कार्यक्रमको क्लिप सामाजिक सन्जालमा आलोचनाको शिकार बनेको थियो । डुम समुदायलाई होच्याएर वलीले यस्तो उखान प्रयोग गरेको भन्दै सामाजिक सन्जालमा यसको विरोध निकैले गरेका थिए ।

सामाजिक सन्जालमा मात्र होइन, विभिन्न संघसंस्थाले वलीले प्रयोग गरेको उखानको खण्डन गर्दै विज्ञप्ति निकालेका थिए । त्यही सन्दर्भमा वलीले यो विज्ञप्ति निकालेकी हुन् । फेसबुक पोस्टमा वलीले लेखेकी छिन्, ‘ नेपाली समाजमा प्रचलित त्यो उखान मैले अपर्झट भनेकी थिएँ, त्यो प्रसङ्गमा जोडेकी थिएँ । मेरो मस्तिष्कमा तत्कालीन समयमा यसले पुर्याउने हानी, यसले मेरै समाजको एउटा समुदायलाई चोट पु¥याउन सक्छ भन्ने कल्पनासमेत थिएन । यो त मैले विविध सन्दर्भमा उखान प्रयोग गर्ने बानीको आकस्मिकता मात्र थियो । त्यो उखानको सन्दर्भ मैले योजना बनाएर गरेकी थिइनँ, आकस्मिक प्रयोग थियो त्यो ।’

वलीले समाज अनलर्निङको प्रक्रियामा भएको र पुराना यस्ता उखानहरु विस्तारै समाज परिवर्तन भएसँगै मेटिँदै जाने पनि स्टाटसमा उल्लेख गरेकी छिन् । उनले थप लेखेकी छिन्, ‘ म नेपालका मात्र होइन, विश्वका सबै जाति, समुदायप्रति उच्च सम्मान भाव राख्छु, राख्नेछु । त्यसैले त्यो कार्यक्रममा मैले त्यो उखान कुनै एक समुदायको मन दुखाउन प्रयोग गरेकी थिइनँ । त्यो मैले प्रयोग गरेको उखानका शब्दका कारण कसैलाई चोट पुगेको भए क्षमा याचना गर्छु ।’



विज्ञप्तिमा वलीले आफूले प्रयोग गरेको उखानको सन्दर्भ निकालेर अहिले इस्यु बनाउन खोजिएको र सामाजिक सन्जालमा आफूमाथि झन् असभ्य शब्दले गाली गरेको आपत्ति पनि जनाएकी छिन् । 

पढ्नुस्, वलीको स्टाटस:



 

  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार ०:४१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया