हामी बुद्धका सन्तान हौँ, अब हिंसाको राजनीति सकियो: डा सिके राउत

काठमाडौँ– स्वतन्त्र मधेस गठबन्धनका नेता डा. चन्द्रकान्त राउत उर्फ सिके राउतले हिंसाको राजनीति सकिएको बताएका छन् । राजनीति सहमति घोषणा कार्यक्रमलाई शुक्रबार सम्बमेधन गर्दै राउतले आफूहरू बुद्धको सन्तान भएकाले देशमा हिंसा नभई शान्तिको बाटोमा हिंड्नुपर्ने बताए । 

उनले भने, ‘हामी बुद्धका सन्तान हौं । अहिंसा हाम्रो रगतरगतमा बसेको छ । शान्तिको बारेमा कसैले सिकाउनु पर्देन । जहाँ जाँदा पनि अहिंसाको भाव राख्नुपर्छ ।’ 

उनले बुद्ध र गान्धीलाई आदर्श मानेर आफूले आन्दोलन अगाडि बढाएको बताए । उनले भने, ‘हामीले बुद्ध र गान्धीलाई आदर्श मान्दै हाम्रो आन्दोलनलाई अगाडि बढायौँ ।’ 

डा. राउतले आजको दिनलाई ऐतिहासिक मान्दै विगत विर्सेर अब आफूहरू शान्तिपूर्ण राजनीतिमा अवतरण भएको स्वष्ट पारे । ‘यो समग्र देशका लागि ऐतिहासिक पल हो । प्रधानमन्त्रीले हामीलाई पहल गर्नुभयो । हाम्रो मुद्दाको संवेदनालाई बुझेर सुरक्षित अवतरण गराउनुभएको छ । प्रधानमन्त्री धन्यवादको पात्र हुनुहुन्छ,’ उनले भने । 

राउतले शान्तिपूर्ण अवतरण आफैंमा उदाहरण भएको बताए । आफूहरूले आन्दोलनका क्रममा राज्यसँग प्रतिशोधको भावना साट्न नचाएको बताए । उनले भने, ‘हामीले प्रतिशोधको भावना साटेनौं । हाम्रो आन्दोलन अहिंसामय भयो । यसमा राज्य, जनता, प्रहरी सबै धन्यवादका पात्र छन् ।’

आफ्नो आन्दोलन चलिरहेको बेलामा देशमा विभिन्न भ्रमहरू फिजाइएको पनि प्रति उनको गुनासो थियो । उनले भने, ‘हाम्रो आन्दोलन चलिराख्दा विभिन्न किसिमका भ्रमहरू फिजाइए । कहीले घृणाको रूपमा त कहिले राम्रो रूपमा ।’ 



सम्बोधनमा आफूलाई अहिंसावादी दाबी गरेका राउतले शान्तिको बाटोबाट मात्रै देशलाई समृद्ध पार्न सकिने बताए । उनले हिंसात्माक आन्दोलन गर्न सजिलो भए पनि आफैंलाई पिटाइ खाएर बस्न भने सजिलो नभएको बताए । 

उनले भने, ‘हिंसात्म आन्दोलन गर्न सजिलो । तर आफैलाई पिटाइ खाएर बस्न गाह्रो छ । हामीलाई जतिसुकै हिंसा गरे पनि हामी हिंसा गर्दैनौं भनेर बस्यौं । यसमा हाम्रा कार्यकर्ताहरू पनि धन्यवादका पात्र छन् । 



राज्यले जनमत संग्रहको व्यवस्थालाई स्वीकार गरेकाले आफूहरू मूलधारको राजनीतिमा आएको उनले बताए । जनमत संङ्ग्रहमार्फत् राज्यका समस्या समाधान हुने डा. राउतको भनाई छ । उनले भने, ‘जनमत संङ्ग्रह मार्फत् जनताका समस्यालाई हल गर्न सकिन्छ । यसलाई राज्यले पनि स्वीकार गरेको छ । यो जनताको र राज्यको जित हो ।’ 

जनताले जस्तो व्यवस्था चाहेको हो त्यस्तै व्यवस्था ल्याउन जनमत संग्रहद्वरा हासिल हुने बताए । उनले भने, ‘जनमत प्रयोग गरेर आफ्नो अधिकार लिने काम जनताको हो । जस्तो व्यवस्था ल्याउनु छ त्यो जनताले अभिमतद्वारा हासिल गर्नेबेला आएको छ ।’


  • प्रकाशित मिति : फागुन २४, २०७५ शुक्रबार १५:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया