Sun, 25 Aug, 2019


[सिंहदरबार अन्डरडग्स] सिंहदरबारकी माली दिदी गंगामाया तामाङ
फरकधार / फागुन २४, २०७५

काठमाडौं– सिंहदरबारभित्र प्रधानमन्त्री कार्यालयको छानोमा फरफराइरहेको छ, नेपालको झन्डा । 



तल, ग्राउन्डमा रोपिएका छन् फरक फरक बिरुवाहरु । अनि फुलेका छन् सय थरी फूल । पहिलो पटक सिंहदरबार जाने जो पनि यहाँ रोकिन्छन्, अनि झिक्छन् मोबाइल र खिच्छन् सेल्फी । एउटा सेल्फीले जसले प्रधानमन्त्री कार्यालयको सौन्दर्यसँगै त्यहाँका फूलहरुको बासना पनि सँगै क्यामेरमा कैद हुन्छ । 

केही अघि हामी पुग्दा पनि दुई युवाहरु पालैपालो फोटो खिचिरहेका थिए । एउटा युवाको पालो सकिएर अर्का युवा जब फोटोका लागि पोज दिन तयार भए, उनलाई डिस्टर्ब गर्न आइपुगिन् एक महिला । 

ती युवाले अनुहार खुम्च्याए । अनि फोटो खिच्ने युवाले भने– दिदी थोरै उता जानुस् त, फोटोमा फूलसँगै तपाईं आउनु भयो । ती महिलाले सहजै मानिदिइन् यो अनुरोध । ती युवाहरु फोटो खिचे र साइड लागे । 

अब अगाडि आइन् फेरि ती महिला । 

हरियो एप्रोन लगाएकी ती दिदीसँग हामीले कुरा गर्ने निधो गर्यौँ । उनको हातमा पनि हरियो नै पाइप थियो । हिलो मोलिएको हात लिएर हरियो पाइप घुसार्दै त्यहाँसम्म आइपुगेकी थिइन्, ती महिला । 

पाइपमा पानी आइरहेको थियो, ती महिलाले फूलमा पानी हालिन्, वरपरको झारपात अर्को हातले गोडिन् । 

हामीले उनीसँग साइनो लगायौँ । भन्यौँ– दिदी । 

‘तपाईंका फूलसँग मान्छे फोटो खिचिरहँदा तपाईंलाई अर्कोतिर जानु भन्दा रहेछन्, कस्तो लाग्छ ?’

अनौपचारिक कुराकानीको मेलो बढाउन भर्खरको प्रसङ्गलाई आधार बनाएर हामीले उनलाई सोधेका थियौँ । 

‘खुसी लाग्छ, आफूले रोपेको फूललाई मान्छेहरुले राम्रो मानेको देख्दा किन खुसी नलागोस्,’ ती माली दिदीले भनिन्, ‘कोहीकोही चाहिँ टिप्नै खोज्छन्, त्यस्तो बेला चाहिँ रिस उठ्छ ।’ 

दिदी मुसुक्क हाँसिन् । त्यो हाँसोमा मिसिएका थियो त्यहाँका दर्जनौँ फूलको सौन्दर्य पनि ।

दिदीसँग हामी कुरा सुरु गर्दानगर्दै त्यहाँ उनका एक सहयोगी आए । उनको हातमा हजारी थियो, फूलहरुमा पानी हाल्न । दिदीका सहयोगी नै हुनुपर्छ ती युवा, उनले दिदीलाई इसारा गरिदिए– भो, भो केही नबोल्नुस् !

अब हामीले केही प्रश्न सोध्न नपाउँदै दिदीले भनिन्– तपाईंहरु जानुहोस्, म केही बोल्दिनँ । त्यति बेला हामीले मोबाइल झिकेर दिदीका कुरा रेकर्ड गर्न थालिसकेका थियौँ । ‘फेरि भिडियो बनाएर फेसबुकमा हालेर हामीलाई नराम्रो बनाउनुहुन्छ,’ दिदीले भनिन् । 

तर, हामीले उनीसँग वाचा गर्यौँ– हामी त्यस्तो गर्दैनौँ । 

अब दिदी खुलेर कुरा गर्न थालिन् । 

सबैभन्दा पहिले त उनले आफ्नो नाम भनिन्– गंगामाया तामाङ । अनि जोडिन्, उनको सिंहदरबार यात्रा । 

नेपालमा भएको राजनीतिक परिवर्तनमा २०४६ साल कसैले बिर्सँदैन । गंगामायाले पनि बिर्सन सक्दिनन् । यो त्यही वर्ष हो जुन वर्ष पहिलो पटक सिंहदरबार छिरेकी थिइन्, ती दिदी । र, त्यो पनि जागिर खान । उनको जागिरको पद थियो– माली । 

‘४६ सालदेखि यहाँ बगैँचाको काम गरिरहेकी छु, प्रधानमन्त्री कार्यालय सजाइरहेकी छु,’ माली दिदी गंगामायाले बढो गर्वका साथ सुनाइन्, ‘६ जना मुख्यसचिवसँग त म आफैं बोलेकी छु ।’

उनको यो रमाइलो यात्राको सुरुवातमा नै हामीले थोरै प्रसङ्ग बदल्न उनलाई सोध्यौँ– प्रधानमन्त्री चिन्नुहुन्छ त ? 

उनले अविश्वास गरेको भाव लिएजस्तो गरि हामीलाई हेरिन् । अनि भनिन्– ओली बाजे । अनि मुसुक्क हाँसिन् पनि ।

गंगामाया दिदीको यो हाँसोमा हराए उनका सारा विगत र दुखद सम्झनाहरु । 

गंगामाया मकवानपुरमा जन्मेकी थिइन् । ‘विहेपछि घर धादिङ भयो,’ उनले भनिन्, ‘अनि पछि हामीले थानकोटमा घर बनाएका छौँ, अहिले थानकोटमा बस्छु म ।’

थानकोटबाट प्रत्येक दिन बिहान ८ बजे अफिसका लागि निस्कन्छिन् गंगामाया । ‘श्रीमानको बाइकमा आउँछु,’ उनले भनिन्, ‘फर्किँदा पनि उहाँसँगै फर्किन्छु ।’ खासमा अहिले गंगामायाका श्रीमान् सुरज रिटायर्ड जीवन बिताइरहेका छन् । त्यसैले प्रत्येक साँझ ५ बजे उनी सिंहदरबार गेटैमा आउँछन् र आफ्नी खसमलाई पर्खिन्छन् । ‘मसँग मोबाइल छैन,’ उनी हासिन्, ‘उहाँ ठ्याक्कै टाइममा आउनुहुन्छ, हामी सँगै फर्किन्छौँ ।’

हामीसँग कुरा त गर्दै थिइन् गंगामाया, सँगसँगै गोडमेल पनि गरिरहेकी थिइन् । अब उनी थोरै आफ्ना श्रीमानबारे गफिने मुडमा देखिइन् । ‘काठमाडौंमा ड्राइभरी गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘नानीलाई पनि पढाउनु पर्छ भनेपछि म २०४० सालमा उहाँसँगै बस्ने गरि काठमाडौं आएँ ।’

पहिलो कोठाभाडा उनले २० रुपैयाँ तिरेकी थिइन् । दुई छोरी र एक छोरा लिएर काठमाडौं आएकी थिइन् गंगामाया । पछि अर्की छोरी जन्मिइन् । अब त दुवैले काम गर्न पाए हुन्थ्यो भन्ने लाग्यो गंगामायालाई । 

एकदिन श्रीमानलाई उनले भनिन्– म पनि काम गर्छु, खोजिदिनु न !

गंगामायाले भोलिपल्टै जागिर पाइन्– सिंहदरबारमा ज्यालादारी रुपमा गर्ने सहमतिका साथ । 

‘यो अर्थमन्त्रालय छ नि त्यो भन्दा पछाडि थियो मेरो अफिस,’ अर्थमन्त्रालय तिर देखाउँदै उनले भनिन, ‘म यहाँ आउँदा यति धेरै घर नै थिएनन्, पछि बन्दै गए, थपिँदै गए ।’

सुरुमा प्रत्येक दिन घर साँझ फर्किँदा त्यो दिनको तलब लिएर फर्किन्थिन् गंगामाया । एक वर्षमा उनी स्थायी कर्मचारी भइन् । ‘लोकसेवामा अन्तर्वार्ता दिएर नाम निस्कियो,’ उनी हाँसिन् ।

त्यही बेला देखि फूलको हेरचाह गर्दै आएकी गंगामायालाई अहिले आफूले रोपेको फूल केही दिनसम्म पनि सरेन भने दुःख लाग्छ । पहिले त उनीहरुलाई सिकाउने मास्टर थिए, आजभोलि आफ्नै तजबिजमा काम गर्छिन् गंगामाया । 

२९ वर्षमा सिंहदरबारमा फूलहरुको सौन्दर्यलाई बासना थपिरहेकी गंगामायाले आफ्नो जीवन पनि सुन्दर भएर बितेको महसुस गरिरहेकी छिन् । उनी भन्छिन्, ‘अब त सबै छोराछोरी आफ्नो बाटोमा छन्, सबैको विवाह पनि भइसकेको छ ।’

‘आफूले पढ्न नपाएको पीडालाई सम्झेर छोराछोरी पढाएँ,’ उनले भनिन्, ‘थानकोटमा घडेरी किनेर घर पनि बनायौँ ।’

 

प्रधानमन्त्रीसँग माली दिदीको सम्बन्ध

प्रधानमन्त्री कार्यालयको वातावरण फूलले सिँगारीरहेकी गांगामायालाई प्रधानमन्त्रीले देश कस्तो बनाए भन्नेसँग कुनै चासो छैन । उनलाई चासो छ त आफ्नै फूलहरुसँग ।

‘मन्त्री प्रधानमन्त्री सधै यही बाटो हिँडिरहेका हुन्छन्,’ गंगामाया भन्छिन्, ‘सुरु सुरुमा काम गर्दा त के भन्लान् कसो भन्लान् भन्ने लाग्थ्यो, दिनदिनै भेट्ने भएपछि अहिले त खासै वास्त हुँदैन, उनीहरु यही बाटो हिँड्छन्, म आफ्नै काम गरिरहेको हुन्छु ।’ यति भनिसकेर हाँसेकी गंगामायाले अर्को वाक्य पनि थपिन्, ‘केपी बाजे पनि यही बाटो हिँड्छन्, म आफ्नै काम गरिरहन्छु ।’

बारम्बार फेरिने प्रधानमन्त्रीहरुसँग उनलाई खासै चासो छैन । बरु सम्झनामा छ, राष्ट्रपतिसँग खिचाएको फोटो । ‘अस्तिमात्र राष्ट्रपतिसँग सँगै फोटो खिचाएकी थिएँ,’ उनले खुसीका साथ सुनाइन्, ‘अस्ति यहाँ वृक्षारोपण हुँदा उहाँ आउनु भएको थियो, हामीसँग पनि फोटो खिचाउनु भयो ।’ तर, उनीसँग त्यो फोटो छैन, मात्र छ सम्झना । ‘फोटो निकालेर देउ भनेको कसैले ल्याइदिएनन्,’ अघिसम्म उत्साहित गंगामाया अचानक निराश भइन् । 

सम्झना त प्रधानमन्त्रीहरुबारे पनि छ, गंगामायाको मनमा । शेरबहादुर देउवा, खिलराज रेग्मीहरुलाई मात्र होइन, २०५१ सालमा प्रधानमन्त्री बनेका मनमोहन अधिकारीसँगको सम्झना पनि उनको मनमा ताजै छ । 

‘मनमोहन अधिकारीले रोपेको रुद्राक्ष अहिले पनि उताको विल्डिङमा छ नि,’ उनले सुनाइन्, ‘पछि शितल ताप्न हुन्छ भन्दै उहाँले त्यतिबेला रोप्नुभएको थियो, आफू मरेर जानुभो, रुख चाहिँ जिउँदै छ ।’

ती प्रधानमन्त्रीसँगको सम्झना भए पनि उनीसँग गुनासो पनि छ– आजभोलिका प्रधानमन्त्री त रुख रोप्न चासो नै दिँदैनन् । अनि अर्को कुरा पनि खट्केको छ उनको मनमा– रुख रोपेपछि त्यो रुखको छेउमा कसले रोपेको हो भन्ने नाम पनि राखिदिए हुन्थ्यो ।

 
कसैले गाली गरेका छैनन् गंगामायालाई 

२९ वर्षको सिंहदरबार यात्रामा गंगामायाले कसैको हप्कीदप्की खानु परेको छैन । ‘रोपेको फूल म¥यो भने पनि हामीले हैन मास्टरले गाली खान्छ,’ गंगामायाले सहजै जवाफ दिइन् । 

हुन त मानिसहरुलाई लाग्न सक्छ, एउटा मालीको काम अत्यन्त सहज हुन्छ । तर, गंगामायालाई लाग्छ, अरुले सोचेजस्तो सहज छैन यो काम । ‘कहाँ घाम पानी मात्रै, विरुवामा किरा लाग्यो कि हेर्नेु पनि पर्छ, ’ उनेले भनिन् । 

गाली त होइन, बरु उनले प्रशंसा चाहिँ बारम्बार पाएकी छिन् । केही वर्षअघि मुख्यसचिव लिलामणी पौडेल नै उनलाई भेट्न आएका थिए, भनेका थिए– तपाईंले त फूलहरु राम्रो बनाउनु भयो नि । यो कुरा सम्झँदा पनि गंगामायाको अनुहारमा खुसी छाउँछ । 

 
पहिलो तलब ६ सय २० रुपैयाँ 

‘त्यो बेलाको कुरा गर्यो भने तपाईं छक्क पर्नुहुन्छ,’ गंगामायाले विगतको पोयो फुकाउन थालिन्, ‘६ सयले मात्रै पनि काठाभाडा तिर्न देखि छोराछोरी पढाउन सम्म पुग्थ्यो ।’ 

चार जना बच्चाको हेरविचार, कोठामा आउने पाहुना, कहिलेकाहीं घर जाँदाको खर्चसमेत गंगामायाका श्रीमानश्रीमती पुर्याउने गरेका थिए । 

पहिलो महिनाको तलब ल्याएर श्रीमानलाई दिएकी थिइन्, गंगामायाले । ‘हिजोजस्तै मात्र लाग्छ,’ उनले भनिन्, ‘यतिका वर्ष भइसकेछ ।’

 

फुल सजाउन मात्रै ?

सिंहदरबारका विभिन्न मन्त्रालयमा रोपिएका फुलहरु सजाउन सुन्दर बनाउन मात्रै राखिँदैन । नयाँ प्रधानमन्त्री वा नयाँ मन्त्री फेरिँदा बनाइने माला पनि तिनै फूलको हो । 

‘आज यस्तो कार्यक्रम छ २ सय गुछ्छा लिएर आउनु भन्ने आदेश आउँछ,’ उनले भनिन्, ‘त्यसपछि हामी फूल टिप्न जान्छौ र गुछ्छा बनाउँछौ तर माला नै चाहियो भने धेरै फूल चाहिन्छ, यहाँको फूलले कहिलेकांही पुगे पनि सधैं पुग्दैन ।’

हामीले कुराकानी गर्दा गंगामायाको पेन्सन हुने समय नजिकिएको थियो । 

‘पेन्सन भएपछि त घरमै खाना पकाएर बस्ने हो,’ उनले आफ्नो योजना सुनाएकी थिइन् ।’

सायद अहिले उनी घरमै छिन्, बिहान बेलुका खाना पकाएर उनका श्रीमानश्रीमती रमाइरहेका छन् ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्