काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ आज रौतहटमा आमसभाको आयोजना गरेको छ । पार्टी एकीकरण भएपछि मधेसमा नेकपाको यो पहिलो आमसभा हो ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाले जनाएको छ । अध्यक्षद्वयले पार्टीको मधेस नीति र योजनाबारे बोल्नेछन् ।
संविधान जारी भएदेखि पार्टीले मधेसमा एउटा पनि राजनीतिक वैचारिक सभा प्रदेशस्तरमा गर्न नसकेकाले प्रदेश कमिटीले यसपटक ठूलो जनसहभागितामा पार्टीको सन्देश प्रवाह गर्न खोजेको हो ।
पछिल्लो समय नेकपाको पार्टी एकता कार्यदलसमेत भंग भएपछि तल्ला कमिटी र जनवर्गीय संगठनहरूको एकीकरण अन्यौलमा परेको छ । तत्कालिन एकता कार्यदले दुई प्रतिवेदन सचिवालयमा रहेपनि उक्त प्रतिवेदनलाई सचिवालयले छलफल गरेको छैन ।
स्थायी कमिटि सदस्य तथा कार्यदलका सदस्य बेदुराम भुसालले सचिवालय बस्न ढिलो भएको बताए । सचिवालय बैठक बोलाउन नेताहरूले आग्रह गरिरहेका बेला अध्यक्षद्वय ओली र प्रचण्ड आमसभामा जान लागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।