काभ्रे– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अबको महिला आन्दोनको दिशा आर्थिक सशक्तीकरणको दिशा हुनुपर्ने बताएकी छिन् । १०९औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा शनिबार काभ्रेका स्थानीय तहका उपप्रमुख महिलाहरूलाई सम्मान गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
परोपकार प्राथमिक उपचार केन्द्र काभ्रेले आयोजना गरेको सम्मान कार्यक्रम तथा अन्तरक्रिया कार्यक्रमलाई धुलिखेलमा सम्बोधन गर्दै मन्त्री अर्यालले हिजो र आजको महिला आन्दोलनको समीक्षा गर्ने वेला आएको बताइन् । महिला आन्दोलनको समीक्षा गर्दै हरेक क्षेत्रमा आर्थिक रूपमा सशक्तीकरण गर्नुपर्नेमा उनको जोड रह्यो ।
आर्थिक अवस्था सुधारका निम्ति महिलालाई सीप सिकाउन, उत्पादनमा जोड्न र उद्यमशीलतातर्फ लगाउन उपप्रमुखहरुलाई मन्त्री अर्यालको आग्रह छ । अब यो दिएनन्, त्यो दिएनन् भनेर बस्ने दिन नभई महिलाहरू पनि बाँड्ने ठाउँमा पुगेकाले त्यस अवसरको सकारात्मक रूपमा सदुपयोग गर्नुपर्ने मन्त्री अर्यालले बताइन् ।
अहिले राज्यले विभिन्न निकायमा आरक्षणको व्यवस्था गरे पनि त्यो व्यवस्था लामो समयसम्म नरहने हुनाले अब महिलाहरूले हरेक क्षेत्रमा आफूलाई खुला प्रतिस्पर्धाका लागिसमेत तयार गर्नुपर्ने मन्त्री अर्यालको भनाइ छ । ‘सधैँ आरक्षणको व्यवस्था हुँदैन । यो लामो समय रहँदैन,’ उनले भनिन्, ‘अब खुला प्रतिस्पर्धामा महिलाहरूले आफ्नो सामर्थ्य र क्षमताको विकास गर्नुपर्छ । त्यसको तयारी अहिलेदेखि नै गर्नुस् ।’
आफ्नो क्षमता, भूमिकाले स्थान बनाउन सकिने भन्दै उनले व्यवहार र कामले महिलाले केही गर्न सक्छन् भन्ने प्रमाणित गर्न आग्रह गरिन् । इतिहासको कालखण्ड हेर्दा हिजो पनि महिला कमजोर नभएको भन्दै मन्त्री अर्यालले हिजोका दिनमा पनि महिला धन, बल र बुद्धिका क्षेत्रमा अगाडि रहेको र आजका दिनमा पनि अगाडि बढिरहेको बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।