नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य वेदुराम भुसाल पार्टी एकताका बाँकी काम टुङ्गोमा पुर्याउन बनाइएको ९ सदस्यीय कार्यदलका सदस्य थिए । तर, यो कार्यदलले सोचेअनुसार काम गर्न सकेन । पार्टीको सांगठनिक एकताको विषयमा अध्ययन गर्न र सिफारिस गर्न बनेको कार्यदलले नै सचिवालयलाई दुई थरि प्रतिवेदन बुझायो ।
कार्यदलका संयोजक रामबहादुर थापा ‘बादल’, सदस्य विष्णु पौडेलले एउटा प्रतिवेदन बुझाए भने त्यसमा असन्तुष्ट जनाउँदै कार्यदलका बहुमत सदस्यले अर्को प्रतिवेदन बुझाए । बादल र पौडेलसँग असहमति जनाउँदै बुझाइएको अर्को प्रतिवेदनलाई नै पूर्ण ठानेको बेदुराम भुसाल बताउँछन् । अब नेकपाको सचिवालयले यी दुवै प्रतिवेदन अध्ययन गर्ने बताएको छ । यही सन्दर्भमा भुसालसँग फरक धारका रमेश दवाडीले गरेको कुराकानीः
दुई पार्टी एकीकरण हुने कुराले पार्टी कार्यकर्तामा जुन उत्साह देखिएको थियो, अहिले पार्टीको उपल्लो तहमा देखिएको विरोधाभासले त्यसलाई निराशामा बदलेको छ । यसले नेपालमा राजनीतिप्रति नै वितृष्णाको तह बढाउँदै लैजाला जस्तो लाग्दैन ?
अहिले नेकपामा भएको विषयले राजनीतिप्रति वितृष्णा वा आशा मारिएको अवस्थामा पुगिएला भन्ने चाहिँ नहोला । किनकि आशा र उत्साह अहिले पनि जीवितै छ । के भएको मात्रै हो भने कार्यदलले सचिवालयलाई सांगठनिक एकताको बाँकी कामको टुंगो लगाएर प्रतिवेदन बुझाउन ढिलाई भएको हो । यसमा हाम्रो गल्ती छ । हामीले स्वीकार गर्न नै पर्छ । कार्यदलमा केही विषयमा असहमति हुनु सामान्य हो, आज नमिलेको यो कुरा भोलि मिल्छ । नेता, कार्यकर्ता, शुभेच्ुछक आत्तिनु पर्दैन । चिन्तित हुनु पदैन । जहाँसम्म उत्साहको कुरा गर्नुभएको छ, उत्साह त छ । कामहरू अघि बढिरहेकै छन् । फेरि समय चाहिँ अलिक धेरै नै लागेको हो, समयमा काम हुन नसकेको चाहिँ हो ।
अब कार्यदल भंग भएपछि, दुई अध्यक्षले दुईथरि वा दुई नेताले दुई थरि कुरा गरेपछि तत्कालीन एमाले र माओवादीको एकताको बाँकी काम के हुन्छ ? कसरी अगाडि बढ्छ ?
अध्यक्षद्वयले दुईथरि कुरा गर्नुभएको छ भन्ने मलाई लाग्दैन । अहिले पनि पार्टी एकताको बाँकी काम अगाडि बढीरहेको छ । हामीले सचिवालयलाई प्रतिवेदन बुझाएका छौँ । सचिवालयले प्रतिवेदन अध्ययन गरेर बाँकी निर्णय गरेपछि अब के गर्ने भन्ने कुराको टुंगो लाग्छ ।
तर, तपाईंहरुको एकता कार्यदलले नै दुई वटा प्रतिवेदन बुझाएका छ नि ?
कार्यदलका दुई जना सदस्यले कामै गर्न चाहनुभएन । हामीले काम गर्न सकिन्छ समय मागेर पूरा गरौँ भनेका थियौँ । तर, उहाँहरूले चाहनुभएन । रामबहादुर थापा ‘बादल’ र विष्णु पौडेलले बुझाउनुभएको प्रतिवेदनप्रति हामीलाई चित्त बुझेन । उक्त प्रतिवेदनप्रति हामी कार्यदलका पाँच बहुमत सदस्यले छुट्टै प्रतिवेदन बुझायौं । बाहिर यसलाई समानान्तर प्रतिवेदन भनियो । तर, त्यो समानान्तर प्रतिवेदन होइन । उहाँहरूले आंशिक प्रतिवेदन बुझाउनुभयो, हामीले पूर्ण प्रतिवेदन बुझाएका हौँ । कसरी एकता गर्न सकिन्छ, एकताका मापदण्ड र आधार के–के हुन सक्छन् भन्ने विस्तृत प्रतिवेदन हामीले बुझाएका छौँ ।
पार्टीमा कामकारवाहीमा नेताहरुले एकअर्काप्रति आरोप–प्रत्यारोप लगाउने क्रम बढ्दो छ । जस्तो कि, तपाईंहरुले नै कार्यदलका विष्णु पौडेल र रामबहादुर थापाले छलफल नगरी प्रतिवेदन बुझाएको आरोप लगाउनु भयो । यस्तो अवस्थाले डेडलकको स्थिति निम्त्याउँदैन र ?
डेडलकको स्थिति आउँदैन । हामीले सचिवालयलाई प्रतिवेदन बुझाएका छौँ । सचिवालयले छलफल गर्छ र अगाडि बढ्छ एकता प्रक्रिया । उहाँहरूकै कारणले केही विवाद भएको हो । त्यही भएर त दुईवटा प्रतिवेदन बुझाउने अवस्था आइपर्यो । यसलाई सहज रूपमा लिनुपर्छ ।
एकता प्रक्रिया अगाडि बढाउन र तल्लो तहसम्म एकताको प्रत्याभूति दिन अब के के विषय बाँकी छन् ? कहिलेसम्म यी विषयमा सहमति जुट्ला ?
हामीले दुई पार्टीबीचको ऐतिहासिक एकता गरेर जनतालाई एकताको उदाहरण त दिइसकेका छौं । एकता प्रक्रिया अगाडि बढेको छ । केही ढिला हुन गएको मात्रै हो । यसलाई म स्वीकार गर्छु । एकीकरणका कतिपय विषहरूमा सहमति जुट्न गाह्रो पनि भयो । यसलाई अब सचिवालयले छलफल गरेर अगाडी बढ्छ । कहिलेसम्म सहमति जुट्ला भन्ने तपाईं जुन प्रश्न छ यसको जवाफ दिनुपर्दा सहमति कहिले जुट्छ त्यो सचिवालयको वैठकमा निर्भर रहन्छ ।
पार्टी एकीकरणको विषयमा समस्या देखिएको तपाईं आफैं बताउँदै आउनु भएको छ । के अहिले पार्टीमा विधानभन्दा नेता प्रभावकारी र निर्णायक भएका हुन् ?
यति ठूलो पार्टीमा विवाद हुनु त सामान्य कुरा हो । तर, पार्टी एकीकरण र सरकारको नेतृत्व पनि पार्टीले नै गरेका कारण पनि समस्या आएको जस्तो लागेको हो । बाहिर हल्ला भएजस्तो पार्टीमा समस्या भएजस्तो मलाई लाग्दैन । पार्टीमा समस्या आए सबै मिलेर समाधान गर्र्नुपर्छ । हाम्रो पार्टी मुलुकको विकास र समृद्धिमा अगाडि बढेकाले पार्टीका सानातिना समस्या आफैं समाधान हुन्छन् ।
एकातिर कार्यदल भंग हुनु, अर्कोतिर अब नेकपाको एकता यहीँ टुगिंएला भन्ने आशंका गरिनु कति उचित हो ?
कार्यदल भंग हुँदैमा पार्टी एकीकरणको बाँकी काम रोकिन्छ भन्ने हुँदैन । पार्टी एकीकरण ताका विवादित विषयमा लामो छलफल गरेर आइएकाले अब केही सांगठनिक एकतामा जटिलता आउँदैन । एकताको बाँकी कामको विषयमा लामो छलफल गरे दुई÷दुईवटा प्रतिवेदन बुझाइएका छन् । त्यसमा छलफल गरे अब पार्टी अगाडि बढ्छ ।
तपाईंहरूले दुईथरि प्रतिवेदन बुझाइसक्दा पनि सचिवालयमा कुनै छलफल भएको नै छैन । पार्टी सचिवालय वैठक बस्न ढिलाई भएन र ?
हामीले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नुपर्ने हो । त्यो गर्छ होला । तर ढिलाई भने भएको छ । यसले पार्टीको बाँकी कामलाई पनि अवरोध पार्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।