२ मंसिर, २०८२ मंगलबार
Nov. 18, 2025

एमालेले आज पनि संसद् अवरुद्ध गर्ने, प्रधानमन्त्री अवरोध हटाउन तयार नभएको दाबी

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सरकारले संघीय संसदको अवरोध हटाउन कुनै चासो नदिएको आरोप लगाएका छन् । प्रमुख प्रतिपक्षी एमालेले सदनमा उठाएका विषयलाई एकपछि अर्को गर्दै पुष्टि गर्ने काम मात्र गरेको आरोप लगाउँदै बर्तौलाले अहिलेकै अवस्थामा आइतबार पनि संसद् बैठक सुचारु हुन नसक्ने संकेत गरेका हुन् । 


सरकारले शुक्रबार नक्कली भुटानी शरणार्थी र सुन प्रकरणमा अनुसन्धान गरिरहेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवाले सुन तस्करीमा एमालेको उच्चस्तरीय समिति बनाउनुपर्ने मागलाई पुष्टि गरेको दाबी गरे । प्रहरी अनुसन्धान आफू प्रतिकूल हुन लागेपछि सरकारले अनुसन्धानमा रहेका प्रहरीलाई नै  सरुवा गरेको उनको आरोप छ ।  



‘सरकारले हाम्रो मागलाई सम्बोधन गर्न कुनै पहल गरेको छैन । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको आवश्यकता र हाम्रो मागको औचित्यलाई सरकारले आफू प्रतिकूल हुने देखेपछि गरेको प्रहरी अधिकारीको सरुवाले पुष्टि गर्छ,’ उनले भने, ‘यसले सरकारले आफू अनुकूल गर्न जे गर्दा पनि हुन्छ भन्ने रवैया र गम्भीर संकेत देखाएको छ ।’



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट संसद् चल्छ भनेर शनिबार बताएका थिए । तर, एमाले सचेतक बर्तौलाले भने संसद् खोल्न प्रधानमन्त्रीबाट कुनै पहल नभएको दाबी गरे ।

‘उहाँ (प्रधानमन्त्री) ले संसद् चल्छ भन्नुभयो, तर अहिलेसम्म कुनै छलफलको वातावरण बनाउने प्रयास भएको छैन,’ उनले भने, ‘प्रमज्यू संसदमै आएर हाम्रो मागलाई सम्बोधन गर्ने मनस्थितिमा हुनुहुन्छ भने त हामी साथ दिन तयारै छौँ । तर, अहिलेसम्म कुनै छलफलको वातावरण नबनेकोले हामी आफ्नो मागमै कायम छौँ ।’ 



  • प्रकाशित मिति : ३ भदौ, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया