संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलहरूले सुन तस्करी प्रकरणमाथि छानबिनका लागि गठन गरिने समितिको कार्यादेश (टिओआर) तय गर्ने सहमति गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका अनुसार आजसम्म कार्यादेशको मस्यौदा तयार पार्ने गरी दलहरूबीच सहमति जुटेको हो ।
मङ्गलबारसम्म छानबिन समितिको टिओआर तयार गर्नका लागि नेकपा (एमाले) का नेता सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसका नेता रमेश लेखक र नेकपा (माओवादी केन्द्र) का नेता हितराज पाण्डे सदस्य रहने गरी सोमबारको बैठकले कार्यादेश समिति गठन गरेको छ ।
लामो समयदेखिको संसद्को गतिरोध हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय दलहरूको बैठक आह्वान गरेका थिए । राष्ट्रिय दलहरूको सोमबारको बैठकमा संसद् सञ्चालन गर्नेबारे सकारात्मक छलफल भएको तथा त्यसका लागि सबै विकल्प र सम्भावना खोजिने गरी दलहरूबीच सहमति भएको कांग्रेस नेता लेखकले जानकारी दिए ।
उनले अब निर्धारित समयमै संसद् बैठक बस्ने सहमति भएको समेत बताए । बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ, जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवलगायतको सहभागी थिए ।
यसअघि आइतबार पनि राष्ट्रिय दलहरूको बैठक बसेकोको थियो । यद्यपि उक्त बैठक भने बिनानिष्कर्ष सकिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।