लन्डन– बेलायत युरोपियन युनियनबाट अलग हुन केवल दुई साता बाँकी रहँदा ब्रेक्जिट सम्झौताबारे बेलायती सांसदहरुले मतदान गर्दै छन् ।
यस मुद्दामा सांसदहरुले दाेस्रोपटक आज बेलुकी भोट हाल्दै छन् । भोटिङको पूर्वसन्ध्यामा हिजो मात्रै प्रधानमन्त्री टेरेसा मेले स्ट्रासबर्गको भ्रमण गरी युरोपियन कमिसनका अध्यक्ष जिन क्लाउड जंकरसँग भेट गरेकी थिइन् ।
हप्तौँको अन्योलपछि हिजो साँझ यी दुई नेताले ब्रेक्जिटसँगै जोडिने विभिन्न सम्झौताको मोडलबारे सहमतिमा पुगेको घोषणा गरेका थिए ।
बेलायतको संसद्ले प्रधानमन्त्री मेको सम्झौता प्रस्तावलाई अस्वीकार गर्दै पुनःसम्झौता गर्न उनलाई कार्यादेश दिएको थियो ।
ब्रेक्जिटपछि आयरल्यान्डसँगको सिमाना खुला राख्ने या नराख्ने भन्नेमा विवाद छ । योसँगै अन्य केही विवादका कारण कुनै सम्झौताविनै ब्रेक्जिट हुने अवस्था आए यसले बेलायतको अर्थतन्त्रमा गम्भीर असर निम्त्याउने विश्लेषण भइरहेको छ । इयुलाई भने यसले त्यति ठूलो असर नगर्ने बताइन्छ ।
२०१६ को जुनमा बेलायत युरोपियन युनियनबाट अलग हुने या नहुने विषयमा जनमत संग्रह हुँदा अलग हुने पक्षमा (ब्रेक्जिटको पक्षमा) निर्णय आएको थियो ।
आफ्नो नीतिविपरीत नतिजा आएसँगै तत्कालीन प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि ब्रेक्जिटको पक्षमा वकालत गर्दै आएकी टेरेसा मेको नेतृत्वमा सरकार बनेको थियो ।
तर, त्यसयता प्रधानमन्त्री मेका लागि यो मुद्दा सहज भने भएको छैन । पछिल्लो समय उनले संसद्मा अनेकौँ सवाल र दबाबको सामना गरिरहनुपरेको छ ।
इयुबाट बहिर्गमन हुनुअघि ब्रेक्जिटसम्बन्धी भरपर्दो सम्झौता गर्नु र त्यसका लागि समझदारी जुटाउनु उनका मुख्य चुनौती बनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।