अमेरिकाले भेनेजुएलाबाट अमेरिकी कूटनीतिक कर्मचारी फर्काउने

एजेन्सी – अमेरिकाले भेनेजुएलाको राजधानी काराकासस्थित राजदूतावासमा रहेका आफ्ना सबै कूटनीतिक कर्मचारीलाई स्वदेश फर्काउने अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले बताएका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त घोषणा गरिएको हो । 

भेनेजुएलामा जारी राजनीतिक सङ्कट गहिरिँदै गएपछि अमेरिकाको सो घोषणा आएको हो । यद्यपी अमेरिकी विदेश मन्त्रालयले गत जनवरी २४ मा नै दूतावासका उच्चस्तरीय कर्मचारी, उनीहरुका परिवारजन र अन्य आश्रित व्यक्तिहरुको संख्या कटौती गर्न निर्देशन दिएको थियो । 

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले आफूलाई दोस्रो अवधिको लागि पनि राष्ट्रपति भएको घोषणा गरेसँगै अमेरिकाले उक्त निर्णयप्रति असहमति जनाउँदै आएको थियो । यहीबीच गत जनवरी २३ मा भेनेजुएलाका विपक्षी नेता जुआन गाेइदोले आफूलाई विवादस्पद रुपमा मुलुकको अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले गाेइदोलाई नै मान्यता दिएको थियो । 

गाेइदोलाई यस प्रकारको अमेरिकी सहयोग प्राप्त भएलगत्तै मदुरोसँग अमेरिकाको सम्बन्ध अझ बिग्रिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले मदुरोलाई सत्ताबाट हटाउन चौतर्फी दवाब दिँदै आएको छ । 

भेनेजुएलामा केही दिनयता विद्युत् आपूर्ति बन्द भएका कारण १७ जनाको ज्यान गइसकेको छ । विद्युत आपूर्ति सुचारु हुन नसकेपछि विद्यालय तथा व्यवसाय बन्द गर्न सरकारले आदेश दिएको छ । भेनेजुएलामा जारी राजनीतिक सङ्कटसँगै खाद्यान्न सङ्कट पनि थपिएको छ । 

भेनेजुएलामा लगातार पाँचौँ दिन पनि विद्युत् आपूति बन्द भएपछि सर्वसाधारण सडकमा उत्रिएका छन् । हाल देशका २३ मध्ये १४ राज्यमा सरकार विरुद्ध प्रदर्शन जारी रहेको बताइएको छ । विपक्षीहरूले राष्ट्रपति मदुरोले सत्ता नत्यागेसम्म प्रदर्शन जारी राख्ने बताएका छन् । 

गाेइदो आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि अमेरिकालगायत ५० भन्दा बढी देशले समर्थन गरेका थिए । यद्यपी राष्ट्रसङ्घ सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु रूस र चीनले राष्ट्रपति मदुरोलाई समर्थन गरेका छन् । 





  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार ८:२४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया