योगेश भट्टराईलाई सूचना तथा सन्चार दिएर गोकुल बाँस्कोटलाई पर्यटनमा ल्याउने तयारी

काठमाडौं— नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सरकारको मन्त्रीमन्डलमा हेरफेर गर्ने विषयमा सल्लाह भएको छ । मन्त्रिपरिषद्मा केही परिवर्तन आउन सक्ने स्वयं प्रचण्डले पनि बताइसकेका छन् । 

प्रधानमन्त्री निकट स्रोतका यी दुई अध्यक्षबीच अहिले तत्काल कुन कुन मन्त्रीलाई बाहिर निकाल्ने भन्ने विषयमा कुनै छलफल भएको छैन । तर, नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईलाई मन्त्री बनाउने निर्णयमा भने ओली पुगिसकेको स्रोतले जानकारी दियो । नाम नलेख्ने सर्तमा नेकपा सचिवालयका एक सदस्यले भने, ‘सायद, योगेश जी अब मन्त्री बन्नुहुन्छ होला, उहाँको र केपी कमरेडको ट्युनिङ पनि निकै मिलेको छ ।’

केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परि पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि उनको ठाउँमा अहिलेका सूचना तथा सन्चारमन्त्री गोकुल बाँस्कोटालाई ल्याउने तयारी प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् । ‘बाँस्कोटालाई पर्यटनमा सार्ने कुरा फाइनल भइसकेको चाहिँ होइन,’ नेकपाका एक नेताले भने, ‘यदि उनलाई पर्यटन मन्त्रालय लगिएन भने चाहिँ सम्भवतः उनी यो मन्त्रिपरिषद्बाट बाहिरिनेछन् ।’ उनले बाँस्कोटालाई पर्यटन मन्त्रालय लगे पनि वा नलगे पनि पार्टीले सूचना तथा सन्चारमन्त्रीका रुपमा योगेश भट्टराईलाई ल्याउने तयारी गरेको बताए । 

‘सरकारको प्रवक्ताका रुपमा अलिक प्रष्ट व्यक्तिलाई राख्न पर्ने भयो भन्ने कुरा आएको छ,’ उनले भने, ‘अहिले योगेश भट्टराई जत्ति सरकारको डिफेन्ड गर्ने नेता अरु देखिएका छैनन् । त्यसैले योगेशलाई नै सन्चारमन्त्री तथा प्रवक्ताको जिम्मेवारी दिइन्छ होला ।’ यस विषयमा पनि अन्तिम टुङ्गोमा अध्यक्षद्वय पुग्न नसकेको पनि ती नेताले बताए । 

ती नेताका अनुसार भौतिक योजना मन्त्री रघुवीर महासेठलाई पनि सरकारबाट बाहिर पठाउने तयारी रहेको छ । खानेपानी मन्त्री बिना मगरको विषयमा पनि ओलीले प्रचण्डलाई कन्भिन्स गरि नसकेको ती नेताले बताएका छन् । ‘प्रचण्ड अहिले बिना मगरलाई बाहिर निकाल्ने पक्षमा छैनन्,’ ती नेताले भने, ‘अर्थमन्त्रीमा चाहिँ सुरेन्द्र पाण्डे आउनुहुन्छ होला भन्ने सम्भावना बढी छ ।’

प्रधानमन्त्री निवास बालुवाटार निकट एक नेताका अनुसार चाहिँ सरकारले गरिरहेको मन्त्रीहरुको समीक्षाका आधारमा पनि हेरफेर हुनसक्छ । यसअघि पनि प्रधानमन्त्री केपी ओलीले बारम्बार मन्त्रिपरिषद् फेर्न चाहेका थिए तर प्रचण्डको सहमति नहुँदा उनले मन्त्रीहरुलाई निकाल्न सकेका छैनन् ।



यसअघि संसदबाट विधेयकहरु परित भइसकेपछि मन्त्रीमन्डल पुनर्गठन गर्ने कुरा थियो । तर, चैतको दोस्रो साता हुने लगानी सम्मेलनलाई प्रभावित पार्न सक्ने भन्दै ओली र प्रचण्डले त्यसपछि मात्र मन्त्रीमन्डल पुनर्गठन गर्ने सल्लाह गरेका थिए । 

‘त्यसैले पनि अबको मन्त्रीमण्डल वैशाख दोस्रो सातासम्ममा बनिसक्छ,’ ती नेताले भने । 



  • प्रकाशित मिति : फागुन २९, २०७५ बुधबार १५:२८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया