\
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल भइरहेको बताएका छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीले आसन्न अमेरिका र चीन भ्रमणबारे छलफल गर्न बोलाएको बैठकमा उनले पहिलादेखि नै कांग्रेस र एमाले मिलेर कोशी प्रदेश सरकार निर्माण गर्नुपर्छ भनेको भए पनि ठूलो पार्टीलाई निषेध गरी संविधान मिच्ने काम सत्ता गठबन्धनबाट भएको आरोप पनि लगाए ।
उनले प्रदेशप्रतिको वितृष्ण बढेर जाने र नयाँ चुनावमा जानुपर्ने स्थिति अहिले नै आउँदा देशको अर्थतन्त्रमा समस्या पर्ने भन्दै कांग्रेसले समाधानको बाटोमा जानुपर्ने बताए । ज्ञवालीले प्रदेशको हित र संविधानको रक्षाका कांग्रेसले जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने बताए ।
‘हामीले कोशी प्रदेश सरकार गठनका लागि कांग्रेससँग छलफल गरिरहेका छौँ । पहिलादेखि नै हामीले उहाँहरूलाई भनेको त्यही नै थियो । त्यहाँ जुन ढंगको शक्ति अवस्था छ, निषेध गरेर जाने खालको बाटोमा नजाऔँ । उहाँहरूले निषेध गर्न कोसिस गर्नुभयो । त्यसका लागि संविधान मिच्ने काम भए, त्यसको परिणाम आज हामीले भोगिरहेका छौँ,’ ज्ञवालीले भने, ‘अब पनि त्यही बाटोमा जाने हो भने या त प्रदेशप्रतिको वितृष्णा बढेर जान्छ, या त त्यसको समाधानका लागि नयाँ चुनावमा जानुपर्ने स्थिति हुन्छ । जुन दुवै कुरा हाम्रो प्राथमिकतामा छैन । नेपाली काँग्रेसले जिम्मेवार भुमिका खेलोस् । हामी प्रारम्भिक चरणको कुराकानीमा छौँ । अहिले नै कुनै संकेत छैन, प्रदेशको हित र संविधानको रक्षाका लागि त्यसो गर्नु राम्रो हुन्छ ।’
ज्ञवालीले प्रधानमन्त्रीले आसन्न चीन भ्रमणको विषयलाई लिएर सुझाव मागेको र आफूले चीनसँग विश्वास बटुलेर आउन सुझाव दिएको बताए । उनले नेपाल र चीन सम्बन्ध सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भन्ने शंका चिनियाँले गरिरहेको भन्दै त्यसलाई प्रधानमन्त्रीले चिर्नुपर्ने बताए ।
‘चिनियाँ मित्रहरूको मनमा नेपालले कतै सन्तुलित छिमेक सम्बन्धको बाटोबाट अन्यत्र लागेको हो की भने, नेपालले चीन सम्बन्धलाई कम प्राथमिकता दिएको हो की, नेपालमा भइरहेको चिनियाँ लगानीलाई निरूत्साहित गर्न खोजेको हो की वा अरू कुनै सेक्युरिटी अम्ब्रेलातिर नेपाल जान खोजेको हो की भन्ने खालको छ, त्यसलाई चिर्ने काम र नेपाल असंलग्न परराष्ट्र नीतिको पक्षमा छ भन्ने पक्षमा मैले आग्रह गर्छु । उच्चस्तरीय भ्रमणको क्रममा जे समझदारी भएका छन्, ती कार्यको कार्यान्वयनमै केन्द्रित हुनुपर्छ भनेको छौँ,’ ज्ञवालीले भने ।
उनले उचस्तरीय भ्रमणको क्रममा यसअघि भएका सम्झौता कार्यान्वयनमा जोड दिन आग्रह गरेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।