\
सोमबार देशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको हो ।
महाशाखाले मौसम पूर्वानुमान बुलेटिन भनेको छ, ‘आज दिउँसो लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।’
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा भने मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।
राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा सामान्यतया बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतः सफा रहेको छ ।
आज बिहान सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम रहने हुँदा सोबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।