कञ्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए । अहिले खेती पूरै सखाप भएको छ । धानका बाटो सुकेका छन् । केही बोट रातो-पहेँलो भएका छन् ।
साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन् । ‘बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषादी छर्कियौँ तर सुधार भएन,’ उनले भने, ‘आधा बिघा अधिया पनि बनाएका थियौँ, त्यहाँ पनि सबै बाली सखाप छ ।’
पुनर्वास–५ उद्रीकै मोहन रानाको तीन बिघा जमिनको धानबाली खेतमै नष्ट भएको छ । उनले पाँच बिघा जमिनमा धानखेती गरेका थिए । साउन तेस्रो साता दोदा नदीमा आएको बाढी वस्तीसम्मै पुगेर डुबान भएको थियो । डुबान भएको पानी घटेपछि एकाएक धानबाली सुक्न थालेको हो ।
‘बाढी पसेको दुई/तीन दिनपछि पानी घट्यो, त्यसपछि धान सुक्न थाल्यो’, उनले भने, ‘तीन बिघाको पूरै सुकिसक्यो ।’ उनका अनुसार पानी जमेको ठाउँमा दुई/तीन दिनसम्म गन्ध आइरहेको थियो भने पानी पनि कालो थियो ।
कृषि गरेर वर्षभरि खानलाई जोहो गर्ने किसान धानबाली खेतमै सुकेपछि चिन्तित छन् । ‘धान सुकेर खेतमै पूरै नष्ट भएको छ, त्यहीको उब्जाउ खाने र बाँकी बेचेर घरखर्च चलेको थियो’, किसान रामकिसन चौधरीले भने, ‘अब के खाने ? कसरी बालबच्चा पाल्ने ? समस्या छ ।’
डेढ बिघामा ५० बोरा धान फलाउने गरेको र त्यसैबाट वर्षभरि खान अनि परिवारको खर्चको जोहो गर्ने गरेको उनले बताए । ‘रोपाइँमा लागेको खर्चसमेत उठाउन गाह्रो छ’, उनले भने, ‘अरूबेला पनि बाढी आउँथ्यो, तर यस्तो क्षति गरेको थिएन, यसपटक एक्कासि धान कसरी सुक्यो थाहा भएन ।’
पुनर्वास नगरपालिकाको सिमरी, उद्री, परासन र दोदा नदी किनारकै ३ सय बिघाभन्दा बढीको धानबाली सुकेर र कुहिएर सखाप भएको छ । खेत नजिकै रहेको भागेश्वर सुगर मिलले छाडेको केमिकल नालामा मिसिएर त्यही पानीले धान सुकेको किसानको भनाइ छ ।
सुगर मिलले सिमरी नाला छेउमै डस्ट राखेको र त्यसबाटै केमिकल नालामा मिसिएर खेतमा पुगेको रमेश रानाले बताए । ‘सुगर मिलबाट केमिकल बगेर खेतमा पुग्यो, त्यसपछि धान र उखु सुकेको हो’, उनले भने, ‘यो ठाउँ जहिल्यै बाढी लाग्ने र डुबान हुने हो, अहिलेसम्म यसरी धान र उखु कहिल्यै सुकेको थिएन ।’
कृषि ज्ञानकेन्द्र कञ्चनपुरले क्षति भएको धान र उक्त क्षेत्रमा जमेको पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि काठमाडौं पठाएको छ । ‘परीक्षण रिपोर्ट आएको छैन, धान क्षतिको विवरण सङ्कलन भइरहेको छ’, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले भने, ‘२ सय हेक्टरभन्दा बढी जमिनमा क्षति पुगेको अनुमान छ ।’ रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।