पाठशाला, जहाँ आमालाई पोषण र किसानलाई उत्पादनबारे पढाइन्छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पाठशाला भनेपछि धेरैले अक्षर चिनाउनका लागि औपचारिक वा अनौपचारिक शिक्षा दिने ठाउँ भनेर अनुमान गर्छौँ । तर, धनुषा र महोत्तरीका केही स्थानीय तहमा भने अक्षर चिनाउनका लागि होइन स्वस्थ र सन्तुलित खानपिनका लागि ‘पोषण पाठशाला’ र उत्पादकत्व वृद्धिका लागि ‘कृषक पाठशाला’ सञ्चालन छन् ।

सुरुमा धनुषाको धनौजी गाउँपालिका–२ की सोनाली साहलाई पाठशाला जानुपर्छ भन्दा अचम्म लागेको थियो । दुई सन्तानकी आमा भइसकेकी बुहारी पाठशाला जाने भनेपछि उनका सासू–ससुरालाई त सोनालीभन्दा बढी अचम्म लागेको थियो ।

‘सन्तानलाई पढाउने बेला आफूले पाठशाला जानुपर्छ भनेपछि कसलाई अचम्म नलाग्ला? सुरुमा त अप्ठ्यारो मानिमानी पाठशाला गइयो । यहाँ आएपछि पो थाहा भयो, यहाँ त अक्षर होइन आमा र बच्चाको स्वास्थ्य अवस्था सुधारका लागि पढाइ हुने रहेछ,’ सोनालीले भनिन्, ‘विस्तारै बानी लाग्यो, सरसफाइ, बानीबेहोरा, सन्तुलित खानपिनका बारेमा जानकारी पाउन थालेँ, जसले गर्दा मेरो कुपोषित बच्चा र म स्वयंको पोषण सुधारका लागि ज्ञान पाएँ ।’

सोनालीका अनुसार पोषण पाठशालामा आउँदा उनका छोराको स्वास्थ्य जाँच हुँदा कुपोषित रहेको र आमाले पोषणयुक्त खानपिन नखाएका कारण यस्तो समस्या भएको सुनाइएको थियो । अहिले भने पाठशालामा पढेको कुरा व्यवहारमा लागू गरेपछि छोरा सुपोषित भएकामा सोनाली दङ्ग छिन् ।

यस्तै समस्या सोही ठाउँकी पिङ्की महतोलाई पनि थियो । ‘सुरुमा मलाई पनि पाठशाला जानुपर्छ भनेपछि के होला जस्तो लागेको थियो तर यहाँ आएर आहार र खानेबानीमा सुधार गर्ने कुरा सिकाइँदोरहेछ । अहिले मेरो कुपोषित बच्चा सुपोषित छ,’ महतोले भनिन् ।

अमिरकला कुमारी साहले पनि आफ्नै बारीमा सजिलै पाइने खानेकुराबारे जानकारी नहुँदा पोषणमा समस्या भोग्नुपरेका आमा तथा बच्चामा पाठशाला गएपछि चेतनामा वृद्धि भएको धारणा राखिन् ।



पिङ्की, पुनम र अमिरकलाजस्तै यो समूहका २५ जना सुत्केरी र गर्भवती आमालाई दुई वर्षसम्म पठनपाठन गराइएको थिएन । सहजकर्ता पुनम झाले सुरुका कैयन् दिन घर-घरमा गएर पाठशाला जाँदाका फाइदा र यहाँ सिकाउने कुराबारे जानकारी गराएकी थिइन् ।

पुनमले सुरुका दिन सम्झिँदै भनिन्, ‘सुरुमा घर-घर गएर सम्झाउँदा पनि कोही घरबाहिर निस्किन मान्दैनथे । आमाले माने पनि घरका अभिभावकले किन जानुपर्‍यो, किन पढ्नुपर्‍यो भनेर अवरोध गर्ने समस्या थियो तर धेरै सम्झाएपछि यहाँ आउन थाल्नुभएको हो ।’



सुरूका केही दिनसम्म घरका मान्छेले बुहारी कहाँ जान्छे, के गर्छे भनेर लुकीलुकी चियाउने र पाठशाला आउने महिलाले पनि घुम्टोले अनुहार नदेखाउने गरेको दृश्य पुनमको मानसपटलमा ताजै छ । ‘उहाँहरू कडा अनुशासनको नाममा घरबाट सितिमिति ननिस्किने, निस्के पनि अनुहार छोप्ने, खुलेर कुरा नगर्ने समस्या थियो । सबैभन्दा ठूलो समस्या त संस्कारका नाममा आफ्नै घर र बारीमा रहेका पोषिला खानेकुरा नखाने, सागपात, कुखुरा, हाँसलगायतको मासुसमेत खानुहुन्न भन्थे । गर्भावस्था वा सुत्केरीको समयमा सामान्य अवस्थाभन्दा बढी र सन्तुलित खानापानमा ध्यान दिने कुरा त धेरैलाई थाहा नै थिएन। थाहा भएकाहरू पनि आर्थिक अभाव देखाएर खान नसकिने बताउँथे तर पाठशालामा आइसकेपछि भने अहिले धेरै सुधार भएको छ,’ पुनमले भनिन् ।

धनुषा र महोत्तरीमा ३६ पोषण पाठशाला

कार्यक्रम कार्यान्वयन गरिरहेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना एकाइ धनुषाका प्रमुख सुकेश्वर झाले आयोजनाको लाभग्राहीका रूपमा रहेका आर्थिक र सामाजिकरूपमा पछि परेका महिला, भूकम्प र बाढीपीडित, गरिब, आद्य असुरक्षित, विपन्न तथा सीमान्तकृत वर्गलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिरहेको जानकारी दिए।

आर्थिक वर्ष २०७५/७६ देखि सुरू भएको यो कार्यक्रमले मातहतका दुई जिल्लाका चार पालिकामा प्रभाव क्षेत्रका साना कृषक समुदायको जलवायु समायानुकूलनमा सुधार, कृषि उत्पादकत्वमा वृद्धि र पोषण सुधारमा काम गरिरहेको आयोजना प्रमुख झाले बताए ।

परियोजनाको महत्त्वपूर्ण क्रियाकलापमध्ये पोषण सुरक्षामा सुधारअन्तर्गत यी दुई जिल्लामा दुई सय ३० पोषण समूह गठन गरी तीमध्ये सुनौला हजार दिनका आमाहरू तथा २४ महिनासम्मका बच्चाहरूमा पौष्टिक आहार खाने दरमा सुधार ल्याउन ३६  समूह बनाई पाठशाला सञ्चालन गरिएको उनले बताए ।

ती समूहलाई दुई वर्षसम्म २४ पटक (महिनामा एकपटक) पोषणको अवस्था विश्लेषण गरी परिकार बनाउने, हरेक दिन चारपटक खानुपर्ने फरक–फरक खाना, मातृशिशु स्वास्थ्य र सामाजिक व्यवहार सुधारबारे सिकाएको उनले जानकारी दिए ।

‘त्यही सिकाइले गर्दा नौ जना मध्यम शीघ्र कुपोषित बच्चा सुपोषित अवस्थामा फर्के भने समूहका नौ सय जना आमाको स्वास्थ्य, खानपानको व्यवहार परिवर्तन, स्थानीय उत्पादनको उपयोग र जङ्कफुड प्रयोगमा नियन्त्रण भई प्रत्यक्ष लाभान्वित भए,’ उनले भने ।

पोषण पाठशालामा स्थानीय उत्पादन फर्सीको खीर, पराठा, पोषिलो जाउलो, लिटो, प्यानकेक, घरबारी पोषण बगैँचा स्थापना, कुखुरा तथा हाँसका चल्ला वितरण गरी महिला तथा बालबालिकालाई पोषणयुक्त तरकारी, फलफूल, अण्डा र मासुलगायत आवश्यक स्वच्छ आहार उपभोगमा अभिप्रेरित गरिएको कृषि अधिकृत रितेशकुमार झाले बताए ।

स्थानीय सहजकर्ता पुनम झाले अहिले पाठशालामा पढेका आमामार्फत टोल-टोलमा पोषण शिक्षा सिकाइ विस्तार भइरहेको बताइन् ।

१ सय ६८ कृषि र ६१ पशु पाठशाला

पोषण समूहजस्तै आयोजनाले कृषिमा बालीतर्फ दुई सय ३२ र पशुपक्षीतर्फ दुई सय दुई गरी चार सय ३४ समूह गठन गरेको छ। त्यसमध्ये हालसम्म ४१ वटा पशु, एक सय ६८ वटा कृषक र १२ वटा कृषि व्यवसाय पाठशाला सञ्चालन गरिएका छन् ।

यी पाठशालामा खाद्यान्न बिउ उत्पादन, डुबान तथा सुक्खा सहने धान तथा गहुँ बालीको उन्नत बिउ वितरण, संरक्षण, रोपण तथा रेखदेख, पुशपक्षीको गोठ सुधार तथा गोठेमल व्यवस्थापन, नस्ल सुधारमार्फत मासु तथा दूध उत्पादनमा गुणस्तरीय सुधार, तरकारीमा मौसमी र बेमौसमी तरकारीका उन्नत बीउ वितरण र त्यसको प्रयोगबारे सिकाउने गरिएको कृषि अधिकृत रितेशकुमार झाले जानकारी दिए ।

मुखियापट्टी मुसहरनियाँ गाउँपालिका-४ निवासी सहारा कृषक समूहका अध्यक्ष विजय यादवले उन्नत बीउबिजन, किटनाशक औषधि र अनुदानमा कृषि उपकरण उपलब्ध भई त्यसको प्रयोगले उत्पादन बढाउनमा सहयोग पुगेको बताए। उनले पहिले धान र गहुँखेती गर्न पनि अरू जिल्ला र छिमेकी भारतीय बजारबाट बिउ ल्याउनुपर्ने बाध्यता रहेकामा अहिले भने समूहमा आबद्ध किसानले आफूलाई पुग्ने र अरूलाई बेच्न मिल्ने गरी बिउ संरक्षण गर्न सफल भएको बताए ।

त्यसैगरी पहिले आफूलाई खान पुग्ने तरकारी पनि उत्पादन गर्न कठिन हुने गरेकामा अहिले हिउँदे तथा वसन्ते तरकारीबाट चारै गाउँपालिकाका लक्षित किसानले राम्रो आम्दानी गरिरहेका छन् । गत आव २०७९/८० मा तीन सय हेक्टर क्षेत्रफलमा लगाइएको तरकारीबाट पाँच प्रतिशत घरायसी खपतमा प्रयोग गरी १५ करोड बराबर रुपैयाँको तरकारी बेचेर आम्दानी गरेको परियोजनाको तथ्याङ्क छ ।

त्यसैगरी पशुपक्षीतर्फ नश्ल सुधार र दूध उत्पादनका लागि उन्नत जातको बोयर बोकालगायत आवश्यक पशुको मूल बिउ वितरण तथा त्यसको क्रसबाट कसरी लाभ लिने भन्ने विषयमा सिकाउने गरिएको छ । आयोजनाले बाख्राको नश्ल सुधारका लागि बोयर जातको बोका चार पालिकामा दुई/दुई वटाको दरले प्रदान गरेपछि अहिले बाख्राको नश्लमा सुधार आएको मुखियापट्टी गाउँपालिकास्थित श्री तराई बाख्रा समूहका अध्यक्ष रामनन्द यादवले जानकारी दिए । उनले आफूसँग भएको बोयर बोकाबाट मात्र ३ सय ७५ वटा स्थानीय बाख्रामा गर्भाधान गराएर बाख्राको नश्ल सुधार गराएका र नश्ल सुधारपछि बाख्राको दुई गुणाले वृद्धि भई किसानको आयआर्जनमा सुधार भएको बताए । 

विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रम सञ्चालन कोषबाट प्राप्त आर्थिक सहयोग, विश्व बैंकको सुपरिवेक्षण र खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोगमा आव २०७५/७६ देखि २०८०/८१ सम्म सञ्चालन हुने यो कार्यक्रम नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आयोजनामार्फत कार्यान्वयन गरिरहेको छ । यसको कार्यक्षेत्रका रूपमा देशभरका आठ जिल्लाका १६ वटा पालिका रहेका छन् । त्यसमध्ये मधेस प्रदेशका चार जिल्लाका आठ पालिकामा कार्यक्रम कार्यान्वयनमा छ ।

आयोजना क्लष्टर एकाइ धनुषाले धनुषाका दुई पालिका धनौजी र मुखियापट्टी मुसहरनियाँ, महोत्तरीका पिपरा र एकडारा गाउँपालिका तथा आयोजना क्लष्टर एकाइ सप्तरीले सप्तरीका विष्णुपुर र राजगढ तथा सिरहाका औरही र बरियारपट्टी गाउँपालिकामा कार्यक्रम कार्यान्वयन गरिरहेका छन् । रासस 

  • प्रकाशित मिति : भदौ ३१, २०८० आइतबार १४:२३:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया