\


एलपिएलको बढ्दो आकर्षण : यसपटक ललित, राजु र हरिले पनि खेल्ने
फरकधार / १ असोज, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कैलालीको धनगढीमा आयोजना हुने लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) सिनियर टी–२० क्रिकेट प्रतियोगितामा सहभागी हुने टोलीको टुङ्गो लागेको छ । आयोजक लिटिल फ्लावर स्पोर्ट्स क्लब धनगढीका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगितामा देशभरिका १६ टोलीको सहभागिता हुन लागेको जानकारी दिए ।

आठौँ संस्करणको उक्त प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर (काठमाडौं), गरुडा नगरपालिका (हेटौंडा), लिटिल एन्जल्स बोर्डिङ स्कुल (दाङ) को टोली सहभागी हुन लागेका छन् । 

यसैगरी कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसन, जेएस स्पोर्ट्स सुपर स्टार, खप्तड इन्डोर स्पोर्ट्स सेन्टर, कैलालीको घोडाघोडी क्रिकेट एकेडेमी, सत्यवादी क्रिकेट एकेडेमी, कैलाली बहुमखी क्याम्पस, सुदूरपश्चिममाञ्चल क्याम्पस, लिटिल फ्लावर बोर्डिङ स्कुल, जिल्ला क्रिकेट क्लब कैलाली, धनगढी स्पोर्ट्स क्लब, युथ अफ टीकापुर, धनगढी क्रिकेट एकेडेमी र शारदा मावि धनगढीको टोली पनि सहभागी हुन लागेका छन् ।

धनगढीको फाप्ला क्रिकेट मैदानमा आगामी मङ्सिर पहिलो साता प्रतियोगिताको आयोजना गर्ने गरी तयारी थालिएको क्लबका अध्यक्ष शाहीले बताए ।  प्रतियोगिताको विजेतालाई २ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेतालाई १ लाख २८ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ ।



यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, बेस्ट ब्याटर र बलरलाई जनही ७ हजार र उदीयमान खेलाडीलाई ५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुनेले १ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । 

राष्ट्रिय खेलाडीको पनि सहभागिता 



प्रतियोगितामा यसपटक राष्ट्रिय टिमबाट थुप्रै प्रतियोगिता खेलिसकेका खेलाडीले पनि सहभागिता जनाउनेछन् । यिनैमध्येका ठूलो नाम हो ललित सिंह भण्डारी । उनी चार वर्षअघि मोटरसाइकल दुर्घटना गम्भीर घाइते भएपछि क्रिकेट गतिविधिमा सहभागी हुन सकेका थिएनन् । 

उनी गृहजिल्ला कञ्चनपुरको शुक्लाफाँटा ब्ल्याकबक्स फाउन्डेसनबाट एलपिएल खेल्नेछन् । सो टिमले उनलाई कप्तानसमेत घोषणा गरिसकेको छ । ललितको पुनरागमनलाई पनि विशेष चासोको रूपमा हेरिएको छ । 

एलपिल खेल्ने अर्को ठूलो नाम हो हरिबहादुर चौहान । घरेलु प्रतियोगितामा असाध्यै लोकप्रिय खेलाडी चौहान युथ अफ टीकापुरबाट खेल्ने क्लबले जानकारी गराइसकेको छ । त्यस्तै, यू–१९ टिमका कप्तान र राष्ट्रिय टोलीबाट समेत दर्जनौं प्रतियोगिता खेलिसकेका राजु रिजालले पनि एलपिएलमा सहभागिता जनाउने उच्च सम्भावना छ । 

त्यस्तै, गौतम केसी, लोकेश बम, देव खनाल, कृष्ण कार्की, नारायण जोशी, बिपिन रावललगायत यू–१९ र यू–१६ का दर्जनौं खेलाडी एलपिएल खेल्न इच्छुक देखिएका छन् । 

  • प्रकाशित मिति : असोज १, २०८० साेमबार ८:९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया