परराष्ट्रमन्त्री एनपी साउदले विदेशमा बस्ने नेपालीलाई विभिन्न प्रकारका सेवा सुविधा प्रदान गर्न दूतावास र नियोगहरूलाई थप सक्रिय बनाउन पहल भइरहेको बताएका छन् । राहदानी, भीसालगायतका सुविधा प्रदान गर्न बाह्य स्रोत (आउट सोर्सिङ) समेत गरिने जानकारी दिए ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्युयोर्क पुगेका परराष्ट्रमन्त्री साउदले नेपालले हासिल गरेको शान्ति प्रक्रियाको तार्किक निष्कर्षको अनुभवलाई विश्वमाझ लैजान प्रयास गरिरहेको बताए ।
जनसम्पर्क समिति अमेरिकाको आयोजनामा भएको कार्यक्रममा उनले विदेशमा रहेका नेपालीलाई स्वदेशमा फर्किने वातावरणका लागि वर्तमान सरकारले काम गरिरहेको बताए । उनले भने, ‘तपाईंहरूको ज्ञान सीप र पूँजी मात्र नभई देश निर्माण प्रक्रियामा हातेमालो गर्न सरकार सदैव तयार छ ।’
गैरआवासीय नेपालीहरूले प्रजातान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने र त्यसरी चुनिएर आएको एकत्रित र मजबुत संस्थाले मात्र बाहिर बसेका नेपालीको प्रतिनिधित्व गर्ने भएकाले यही भावनाअनुसार काम गर्न मन्त्री साउदले अनुरोध गरे ।
विदेशमा बसेका नेपाली नागरिकलाई मताधिकार दिनका लागि गृहमन्त्रालयले प्रेषित गरेको पत्रलाई आफूले सैद्धान्तिक सहमति दिइसकेको उल्लेख गर्दै मन्त्री साउदले विदेशमा बसेका नेपालीहरूको राहदानी, भीसालगायतका समस्या सम्बोधन गर्न मन्त्रालयको साङ्गठानिक संरचनामा केही सुधारको पहल भइरहेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।