\
दिवंगवत नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुबाका सपना पूरा गर्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् । गृहजिल्ला इलाममा नेकपा एमाले कोशी प्रदेश कमिटीको आयोजनामा मंगबार आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बुबाका अधुरा सपना पूरा गर्न सक्रिय हुने बताएका हुन् ।
बुबाको निधनले इलाम मात्र नभई सिंगो देश नै शोकमा परेको बताउँदै उनले इलामेली जनताको मायाका कारण संसदमा पुगेर जनताको आवाज बोलेका कारण सधैँ इलामेलीको मन मस्तिष्कमा रहिरहने बताए ।
पछिल्लो राजनीतिक घटनाक्रमसँगै बुबा चिन्तित हुने गरेको उल्लेख गर्दै उनले निष्ठावान् राजनीति गरेको स्मरण गरे । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका स्वर्गीय नेम्वाङले धेरै सपना बोकेको भए पनि कति सपना पूरा हुन नसकेको बताउँदै उनले बाँकी सपना पूरा गर्ने बताए ।
नेम्वाङको निधनपछि इलाम क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने भएको छ । सुहाङलाई आगामी उपनिर्वाचनमा उक्त क्षेत्रमा उम्मेदवार बनाइने चर्चा चलेको छ ।
श्रद्धाञ्जली सभामा बोल्दै नेकपा एमालेका नेताहरु रामबहादुर थापा बादल, रघुवीर महासेठ, डा. शिवमाया तुम्बहाम्फे, एमाले इलामका अध्यक्ष महेश बस्नेत, नेपाली कांग्रेस इलामका पूर्वअध्यक्ष हिमालय कर्माचार्यले नेम्वाङको योगदानको चर्चा गरेका थिए ।
यसैगरी, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष भक्त केशी, माओवादी केन्द्रका कान्छा लावती, इलाम नगरपालिकाकी उपमेयर विष्णुकुमारी दाहाललगायतले पनि नेम्वाङको योगदानको प्रशंसा गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।