\


कांग्रेस सस्थापनइतर समूहको निष्कर्ष : सरकारको प्रभावकारिता कमजोर
कांग्रेसको वार्षिक कार्यतालिका कार्यान्वयनमा जोड दिने
फरकधार / २ असोज, २०८०
यो सामग्री सेयर गर्नुहोस्

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाली कांग्रेसको संस्थापनइतर समूहले महामन्त्री गगन थापाले केन्द्रीय समितिमा प्रस्तुत गरेको वार्षिक कार्यतालिका कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

मंगलबार डा. शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बसेको इतर समूहको बैठकले कांग्रेसको साझा एजेण्डाको रूपमा प्रस्तुत गरिएको वार्षिक कार्यतालिकाले पार्टी चलायमान भएको निष्कर्ष निकाल्दै त्यसलाई समीक्षा गर्नुपर्ने निष्कर्षमा पुगेको नेता दिलेन्द्र बडूले बताए । 

बैठकको निर्णय सुनाउँदै केन्द्रीय सदस्य बडुले भने, ‘कार्ययोजना र कार्यतालिकासहित पार्टी अघि बढेको छ । केन्द्रीय समितिले पास गरेको कार्यातालिका पछिल्लो समय बीचमा वर्षात्को कारणले केही दिन रोकियो । त्योभन्दा पहिले एक चरणको कार्यक्रम पूरा भइसकेको छ । यसको एउटा समीक्षा गर्नुपर्छ । र, त्यो कार्यतालिका र कार्ययोजनालाई निरन्तरता दिनुपर्छ, त्यसले नै पार्टीलाई चलायमान बनाउँछ ।’ 
 
महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले केन्द्रीय समितिमा पेस गरेको वार्षिक कार्यतालिकालाई १० साउनमा पार्टीले पारित गरेको थियो । त्यसलाई नीति अधिवेशनमा पनि साझा एजेण्डाको रूपमा निरन्तरता दिनुपर्ने कुरामा आजको बैठकमा छलफल भएको नेता बडूको भनाइ छ । 

त्योबाहेक असोज ४ गतेदेखि बस्ने केन्द्रीय समितिका बैठकका एजेण्डा के–के हुन सक्छन् भन्ने विषयमा पनि बैठकमा छलफल भएको बडूले जानकारी दिए । 



फरक प्रसंगमा नेता बडूले संसदभित्रको विषय र वर्तमान सरकारको कामप्रति सन्तोष गर्नसक्ने स्थिति नभएको र सरकारको प्रभावकारिता कमजोर बनेकोप्रति कुरा उठेको बताए । बैठकमा कांग्रेस एक्लै आगामी चुनाव लडेर बहुमत ल्याउने गरी तयारीमा लाग्नुपर्ने विषयमा समेत कुरा भएको उनले बताए । 

‘अहिलेको सन्दर्भमा मन्त्रालय र सरकारको समग्र विषयको समीक्षा होला, उहाँहरुलाई अझै राम्रो काम गर्नुपर्ने भएको छ । अहिले सन्तोष भइहाल्ने स्थिति छैन,’ उनले थपे, ‘आगामी हामीले गर्नुपर्ने कार्यक्रमलाई व्यवस्थित रूपले अगाडि बढाउनुपर्यो । हामी पार्टीलाई थप चलायमान गर्नुपर्छ, पार्टी अझ सशक्त गर्नुपर्छ र पार्टीलाई भोलि एक्लै चुनाव लडेर पनि बहुमतसहितको सरकार बनाउने तयारीमा हामी जानुपर्छ । यो सबैले स्विकारेको कुरा हो, त्यसको तयारीमा हामी लाग्नुपर्ला नि र यसको तयारीमा स्वाभाविक रुपले हामी लाग्छौँ,’ उनले भने । 



  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार १९:०:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया