राष्ट्रपति रामचन्द्र पौडेलको यही असोज ८ गतेका लागि तय भएको जनकपुरधाम भ्रमण तथा नागरिक अभिनन्दन कार्यक्रमलाई भव्य र सभ्य बनाउन सबै दल सहमत भएका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाको सभाकक्षमा आज भएको सर्वदलीय सर्वपक्षीय बैठकले राष्ट्रपतिका रूपमा पहिलोपटक जनकपुरधाम आउन लागेका पौडेलको भ्रमणलाई व्यवस्थित बनाउनुका साथै नागरिक अभिनन्दनलाई भव्य रूपमा सफल पार्न सबै दल सहमत भएको उपमहानगर प्रमुख मनोजकुमार साहले जानकारी दिए ।
सबै प्रतिनिधिसभा सांसद र प्रदेशसभा सदस्यसहितको मूल समिति र अन्य उपसमिति बनाएर राष्ट्रपतिको जानकी मन्दिरको पूजापाठदेखि नागरिक अभिनन्दनको तयारी गर्ने निर्णयसमेत गरिएको उनले बताए ।
‘जनकपुरधाम विमानस्थलबाट जानकी मन्दिर र मन्दिरदेखि कार्यक्रमस्थलसम्म सडकको दुवै छेउमा राष्ट्रिय झण्डासहित उभिएर नागरिक अभिन्दन गर्न सबै दलले आ–आफ्नो कार्यकर्ता र स्थानीय समाजलाई परिचालन गरिने निर्णय भएको छ,’ नगरप्रमुख साहले भने ।
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले नागरिकताविहीन लाखौँ युवाको समस्या समाधान गरी जनकपुरधाम आउन लागेका राष्ट्रपति पौडेललाई मधेसवासीले भव्य स्वागत गर्नुपर्ने प्रस्तावमा सबै दलले सहमति जनाएको बताए ।
बैठकमा प्रतिनिधिसभा सांसद निधि, जुलीकुमारी महतो (एमाले), सांसद रामकृष्ण यादवसहित जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललगायत राजनीतिक दलका प्रदेश तथा स्थानीय तहका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।