नेकपा माओवादी केन्द्रले एकताको आह्वान गर्दै नेपाल समाजवादी पार्टी (नेसपा)लाई पत्राचार गरेको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले संयुक्त रूपमा हस्ताक्षर गरेर नेसपाका अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्राचार गरेका हुन् ।
अध्यक्ष प्रचण्डले पठाएको पत्रमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमित्र रहेको माओवादी केन्द्रबारे आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी आवश्यक निर्णय लिने उल्लेख गरिएको छ ।
पार्टी एकता गर्ने भन्दै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दुवै पक्षका उम्मेदवारहरूले गोलाकार भित्रको हँसिया हथौडा लिएर निर्वाचनमा सहकार्य गरेका थिए ।
माओवादी केन्द्रको भदौ २५ गते बसेको पदाधिकारी बैठकले आगामी महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गर्ने निर्णय गरेको थियो । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकताको बारेमा वार्ता गर्ने समिति पनि बनाएको छ ।
सो बैठकले अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि ‘माओवादी केन्द्र’को नाम परिवर्तन गर्ने र त्यसको निर्णय आगामी महाधिवेशनले गर्ने निर्णय गरेको थियो ।
माओवादीले सोबारे तल्ला कमिटीमा सर्कुलर पठाएको छ । त्यसको २ नम्बर बुँदामा यस विषयमा स्पष्ट उल्लेख गरिएको छ । सर्कुलरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरेका छन् ।
जारी सर्कुलरमा माओवादी केन्द्रले भनेको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिनेछ ।’
माओवादीले आगामी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । गत १७ देखि २१ साउनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय भएको हो ।
प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुअघि बैठकबाट सो निर्णय गराएका हुन् । नेपाल समाजवादी पार्टीलाई पठाएको पत्रमा पनि २०८० भदौ ३० को मिति उल्लेख छ । माओवादीले नेपाल समाजवादीलाई पठाएको पत्रमा अर्का अध्यक्ष बाबुराम भट्टराईको नाम उल्लेख छैन । भट्टराईले माओवादीसँगको पार्टी एकताका लागि ‘कम्युनिष्ट पार्टी’ हटाउनुपर्ने सर्त राखेका थिए ।
माओवादीले भने नेकपा यथावत् राखेर कोष्ठकभित्रको (माओवादी केन्द्र)चाहिँ परिवर्तन गर्न सकिने उल्लेख गरेको छ । सोहीकारण एकताले मूर्त रूप लिनेमा आशंका जन्माएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।