भारतबाट फर्किएकामा कालाजार, सचेत रहन चिकित्सकको आग्रह

दार्चुला– भारतमा झन्डै १५ वर्ष काम गरी फर्किएका मालिकार्जुन गाउँपालिका–२ का ३० वर्षीय धनसिंह धामीको स्वास्थ्य परीक्षण गर्दा कालाजार भेटिएको दार्चुला जिल्ला अस्पतालले जनाएको छ । 

भारतको हिमाञ्चल प्रदेशको होटलमा काम गर्दै आएका धामी गत साउन महिनामा घर फर्किएका थिए । सुरुमा कमलपित्तको लक्षण देखिएकाले घरमै बसेर वैद्यको सहयोगमा उपचार गराउँदै आएका उनको सो रोग निको नभएपछि जिल्ला अस्पतालमा उपचार गराउन आउँदा कालाजार भएको पाइएको चिकित्सक अनिल बडालले जानकारी दिए  । 

रगत परीक्षण गर्दा कालाजार भएको प्रमाणित भएकाले उनलाई जिल्ला अस्पतालले औषधि दिएर थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी जान भनेको जनाइएको थियो । गतवर्ष कालाजारका बढी बिरामी भेटिएका कारण क्षेत्रीय स्वास्थ्य निर्देशनालयले आवश्यक सामग्री उपलब्ध गराएको थियो । यो वर्ष अहिलेसम्म औषधिलगायत किट्स नपाइएको प्रयोगशालाका दीपक विष्टले बताए । 

गतवर्ष महाकाली नगरपालिकाकै चारजनामा यो रोग देखा परेकामा एकजनाको ज्यान गएको थियो । कालाजार भेटिएपछि गतवर्ष क्षेत्रीय स्वास्थ्य निर्देशनालयको टोलीले जिल्लाका शंकास्पद व्यक्तिमा जाँच गरेको थियो । यो रोग लागेपछि दुब्लाउँदै जाने, कमजोर हुने, खोकी लाग्ने, महिनौँसम्म ज्वरो आउने, जिउको रङ कालो हुँदै जाने, छाला खस्रो हुने, रक्तअल्पता, राति पसिना आउने, पेट फुल्ने, कलेजोको आकार बढ्ने, रगत बग्नेजस्ता लक्षण देखापर्ने गर्छ । 

यो रोग लिस्मेनिया नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा सर्ने गरेको चिकित्सक बडालले बताए । प्रायः गर्मीयाममा साँझपख र राति भुसुना बढी सक्रिय हुन्छन् । पछिल्लो सयम जिल्लामा फोहर बढ्दै जानु, नाली नहर सफाइ नहुनुले पनि भुसुना बढेको बताइन्छ 

भुसुनाको टोकाइबाट बच्न लामा बाहुला भएको कमिज, लामो पेन्ट, र मोजा लगाउन र भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाब छ । साँझको वेला भुसुना बढी सक्रिय हुने भएकाले कारण घरबाहिर नघुम्ने, राति सुत्दा झुल हाल्ने गरे पनि बच्न सकिने स्वास्थ्यकर्मीको सुझाब छ । कालाजार उपचारबाट निको हुने रोग भएकोले समयमै स्वास्थ्य संस्थामा आएर जाँच गराउन पनि स्वास्थ्यकर्मीको आग्रह छ । 



पछिल्लो समय सडकको पहुँच पुगेसँगै तराई क्षेत्रमा पाइने भुसुना लामखुट्टे गाडीसँगै पहाड उक्लिएका हुन् । अहिले चिसो हुने गाउँमा पनि लामखुट्टे देखिन थालेकाले स्वास्थ्यकर्मीले संक्रमण भएको थाहा पाउनेबित्तिकै स्वास्थ्य संस्थामा जाँच गराउन आग्रह गर्दै आएका छन् । 
 



  • प्रकाशित मिति : चैत १, २०७५ शुक्रबार १५:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया