खुमलटारमा अमेरिकी राजदूतसँगको त्यो भेट जसले प्रचण्डलाई अमेरिका यात्राको बाटो खोलिदियो

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज साँझ पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जाँदै छन् । यसअघि उनी २ वर्षअघि अमेरिका गएका थिए । २०७३ सालमा । त्यो उनको दोस्रो अमेरिकी भ्रमण थियो । त्यसअघि उनी २०६८ सालमा तत्कालीन माओवादी केन्द्रको अध्यक्ष हुँदा पनि प्रचण्डले अमेरिकाको भ्रमण गरेका थिए । 

यसअघि उनी २०७३ सालमा संयुक्त राष्ट्रसंघको ७३ औँ महासभालाई सम्बोधन गर्न अमेरिका गएका थिए । त्यति बेला पनि उनको अमेरिका भ्रमणबारे विभिन्न चर्चा चलेका थिए । २०६८ सालमा प्रचण्ड लुम्बिनीको विकास र पुनःस्थापना प्याकेजका लागि आर्थिक सहयोग जुटाउनु भ्रमण गर्दा पनि सबैको चासोको विषय बनेको थियो । 

त्यो भ्रमणमा प्रचण्डले नेपालको शान्ति प्रक्रियालाई चुस्त बनाउन सबैको सहयोग चाहिने र अमेरिकाले पनि सहयोग गर्नु पर्ने भन्दै उनी अमेरिका पुगे । 

अमेरिका प्रस्थानअघि उनले भनेका थिए, ‘ऐतिहासिक सहमति कार्यान्वयनका लागि विदेशीको पनि सहयोग चाहिन्छ । लुम्बिनीको विकासका लागि मात्र नभएर म पुनस्र्थापना प्याकजेका लागि पनि आर्थिक सहयोग जुटाउन अमेरिका जान लागेको हुँ ।’  

तत्कालिन नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी बनेपछि चाहिँ प्रचण्ड धेरै विदेश गएनन् । गएका दुई चारवटा विदेश भ्रमण पनि पत्नी सीताको उपचारमा केन्द्रित थिए । 

आज विहानै प्रचण्डको सचिवालयले उनी साँझ अमेरिका जाने कार्यक्रम सार्वजनिक गरेपछि यस विषयलाई निकै चासोपूर्वक हेरिएको छ । पत्नी सीताको उपचार यसअघि प्रचण्डले सिंगापुरको माउन्ट एलिजावेथ अस्पतालमा उपचार गराएका थिए । सीता मधुमेह र उच्च रक्तचापबाट पीडित छन्, साथै उनलाई पार्किन्सन्सको समस्या पनि छ । 



प्रचण्ड यसअघि नै सीताको उपचारका लागि अमेरिका जान चाहन्थेँ । तर, निकै परको देश भेनेजुएलामा अहिले भइरहेको राजनीतिक विवादले प्रचण्डको तत्कालीन अमेरिका भ्रमण योजना तुहाइदियो । 

११ माघमा प्रचण्डले भेनेजुएलाको आन्तरिक राजनीतिक विवादको उत्कर्षलाई मध्यनजर गर्दै त्यहाँ अमेरिकाले हस्तक्षेप गर्न नहुने भन्दै वक्तव्य निकाले । 



त्यति बेला प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली डाभोस पुगेका थिए । अर्का अध्यक्ष नभएको समयमा आएको प्रचण्डको उक्त वक्तव्यलाई लिएर नेपालको राजनीति दुई भागमा बाँडियो । कतिसम्म भने प्रचण्डको अभिव्यक्तिप्रति ओलीले समेत असन्तुष्टि जनाए । यसले ओली र प्रचण्डबीच मत बाझियो । ओलीले भेनेजुएला प्रसङ्गमा प्रचण्डले छलफल नगरी वक्तव्य जारी गरेको आरोप लगाए । 

प्रचण्डले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘आन्तरिक मामिलामाथिको यो हस्तक्षेप र साम्राज्यवादी कुको प्रयास अस्वीकार्य छ ।’ 

‘अमेरिकाले गत दशकदेखि आर्थिक नाकाबन्दी लगाई सैनिक हस्तक्षेपको डर देखाएर भेनेजुएलामा अस्तव्यस्तता ल्याउन प्रयास गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमाथि गम्भीर चुनौती हो ।’

यसले विवाद निम्त्यायो । तर, विवाद भइरहँदा पनि प्रचण्डले भेनेजुएलाका विषयमा आफूले जारी गरेको विज्ञप्तिमा अडिग रहेको बताए । प्रचण्डले त्यो वक्तव्य एउटा राजनीतिक वक्तव्य भएको स्पष्ट पारे । उनले भने, ‘एउटा स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न राष्ट्रको राजनीतिक घटनाक्रममा बाहिर कतैबाट हस्तक्षेप नहोस् भन्ने उद्देश्यले विज्ञप्ति जारी गरिएको हो । परराष्ट्र मन्त्रालयबाट जो स्टेटमेन्ट जारी भयो त्यो पनि मूलतः त्यही स्प्रिटमा नै आयो ।’

अमेरिकी राजदूत र्यान्डी बेरीले प्रचण्डको वक्तव्यलाई लिएर नेकपाप्रति कडा आपत्ति जनाएकी थिइन् । अमेरिकाले नेपाललाई निरन्तर रूपमा गर्दे आएको सहयोग रोक्ने सम्मको चेतावनी दिँदा नेकपाले सचिवालय वैठक बसेर प्रचण्डको वक्तव्यको बचाउ गरेको थियो । 

अर्का अध्यक्ष ओलीले ’जनतासँग प्रधानमन्त्री’ कार्यक्रम मार्फत् बेरीलाई जवाफ दिए–वक्तव्यको प्रसंगबाट यति धेरै तरंग आएको छ वा ल्याइएको छ, यो त्यस्तो जरूरी छैन; अलिकति ‘चिप्लिएको’ मात्र हो । 

यो तरङ्गले कतिसम्म अर्थ लियो भने अमेरिकाले प्रचण्डलाई भिसा दिनसमेत आनाकानी गरेको थियो । स्रोतका अनुसार अमेरिकाले भिसा दिएको भए प्रचण्ड फागुनमा नै अमेरिका उड्ने थिए ।

यहीबीच यो विवाद निम्तिएपछि अध्यक्ष प्रचण्ड र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच एक घन्टा प्रचण्ड निवास खुमलटारमा कुराकानी भयो । राजनीतिक–कूटनीतिक विषयमा कुराकानी भएर राजदूत बेरीले प्रचण्डको अमेरिका भ्रमण योजना स्वीकृत गरिन् । 

कतिपयले अमेरिकाको असन्तुष्टिका कारण प्रचण्डको भ्रमण अन्योलमा परेको ठानेका थिए । प्रचण्ड–बेरी भेटपछि अमेरिका र सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डबीचको ‘असमझदारी’ अब हल भएको छ भन्ने मानिएको छ । खुमलटारमा भएको भेटपछि दुवै पक्ष आगामी दिनमा ‘सम्बन्धलाई थप मजबुत बनाउन’ सहमत भए । भेनेजुएलाका विषयमा नेपाल र अमेरिकाबीच चर्किएको कूटनीतिक असमझदारी अन्त्य भएको र त्यो विषय अब थप नचर्किने प्रचण्ड निकट स्रोतले दाबी गरेको छ । 

खुमलटारमा अमेरिकी राजदूत र प्रचण्डबीच एक घन्टा भेट नभएको भए सायद आज प्रचण्ड अमेरिका उड्ने थिएनन् । 

प्रचण्डको यो अमेरिका भ्रमण राजनीतिक रुपमा चाहिँ हेर्न नहुने पूर्वराजदूत तथा राजनीतिशास्त्री विजयकान्त अर्यालले बताए । प्रचण्डकै एक सहयोगीले पनि यस विषयलाई राजनीतिसँग कुनै अर्थमा पनि जोड्न नमिल्ने फरक धारसँगको कुराकानीमा बताएका थिए । 

  • प्रकाशित मिति : चैत ३, २०७५ आइतबार १५:१७:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया