logo-img

गृहमन्त्रीको जवाफ माग्दै सांसद पौडेलले प्रश्न गरिन्- के आधारमा हत्यारालाई आममाफी दिइयो ?

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

 पूर्व परराष्ट्र मन्त्री तथा राष्ट्रिय सभा सदस्य विमला राई पौडेलले नेपालगन्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिई हत्या गर्ने रिगल भनिने योगराज ढकाललाई सरकारले आममाफी दिएको प्रति आक्रोश पोख्दै गृहमन्त्रीको जवाफ मागेकी छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा सांसद पौडेलले चेतनको हत्यारालाई सरकारले कानुन संविधान मिचेर के आधारमा आममाफी दिन सिफारिस गरेको हो भन्नेबारे गृहमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग गरिन् । उनले रिगललाई आममाफी दिएकोप्रति गृहमन्त्री र राष्ट्रपतिमाथि प्रश्न समेत गरिन् ।

उनले भनिन, ‘मान्छे मार्ने नाइकेलाई गृहमन्त्री र मन्त्रिपरिषद्ले कुन आधारमा कुन मापदण्ड र कुनचाहिँ आधारमा बसेर आममाफीको सिफारिस गर्नुभयो ? आममाफीको मापदण्ड के हो ? यो निर्णय कसको आधारमा कसको दबाबमा के तरिकाले गरिएको हो त्यसको जवाफ गृहमन्त्रीले यहाँ उभिएर दिनुपर्छ यो मेरो माग हो ।’

उनले जन्मकैदको सजाय पाएका हत्यारालाई आममाफी दिँदा पीडित परिवारसँग छलफल गर्नुपर्नेमा जोड दिँदै थपिन्, ‘आम माफी दिने निर्णय गर्दा पीडितहरूसँग छलफल हुन्छ कि हुँदैन ? पीडितको चित्त बुझाउनुपर्छ कि पर्दैन ? पीडितलाई नसोधी उनीहरूको अनुमति बेगर दिनदाहाडै मान्छेको हत्या गरेको हत्यारालाई छोड्न मिल्छ ?’

उनले प्रधानमन्त्री र गृहमन्त्री सशस्त्र द्वन्द्व गरेर आएको तर, राष्ट्रपति प्रजातान्त्रिक आन्दोलनबाट आएको व्यक्ति भएको भन्दै व्यङ्ग्य गर्दै भनिन्, ‘दुःखका साथ भन्नुपर्छ प्रधानमन्त्री र गृहमन्त्री हत्या हिंसाकै सशस्त्र द्वन्द्वको ब्याकग्राउण्डबाट आउनुभएको हो । यो भएर निदाउन सक्नुहुन्छ होला राष्ट्रपतिले कसरी सक्नुभयो ? यस्तो जघन्य अपराध गरेको मान्छेलाई आममाफी दिने कुरामा हस्ताक्षर गर्दा राष्ट्रपतिको हात काँप्यो कि कापेन ?’





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया