राष्ट्रिय सभाले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि मस्यौदा समिति गठन गरेको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय सभा नियमावली २०७५ संशोधन गर्नका लागि १२ सदस्यीय मस्यौदा समिति गठन गरेको हो । समिति सदस्यहरूमा अनिता देवकोटा, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, तुल प्रसाद विश्वकर्मा र दिलकुमारी रावल थापा पार्वती रहेका छन् । त्यसै गरी भैरवसुन्दर श्रेष्ठ, मदनकुमारी शाह गरिमा, महेशकुमार महरा र मोहम्मद खालिद पनि सदस्य रहेका छन्। त्यस्तै डा. विमला राई पौड्याल, शेखरकुमार सिंह र सुरेशकुमार आले मगर पनि मस्यौदा समितिमा रहेका छन् ।
मस्यौदा समितिले राष्ट्रिय सभा र समितिमा सुव्यवस्थित रूपमा सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली २०७५ मा रहेका सभा तथा समिति सञ्चालनका सन्दर्भमा देखा परेको कठिनाइहरू पहिचान गरी नियमावलीमा संशोधन मस्यौदा तयार गरी सभामा पेस गरिने जनाइएको छ । समितिले सदस्यहरू मध्येबाट एक जना सभापति चयन गर्ने तथा समिति आफैँले कार्यविधि बनाउने बताइएको छ । सो मस्यौदा समितिलाई पुस १४ गते सम्मको कार्यविधि दिइएको छ ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापा पार्वतीले राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन २०७९/८० पेस गरेकी थिइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।